20
प्रमुख संगीतकारलाई: दाऊदको भजन। 
  1 सङ्कष्ट परेको बेलामा परमप्रभुले तिम्रो गुहारलाई सुन्नु भएको होस्।  
याकूबका परमेश्वरले तिम्रो रक्षा गर्नु भएको होस्।   
 2 उहाँको पवित्र स्थानबाट परमप्रभुले तिमीलाई सहायतामा पठानु भएको होस्।  
उहाँले सियोनबाट तिमीलाई मद्दत दिऊन्।   
 3 तिमीले अर्पण गरेका सम्पूर्ण उपहारहरू परमेश्वरले सम्झना गरून्।  
उहाँले तिम्रा सबै बलिहरू स्वीकार गरून्।   
 4 तिमीले खास जे चाहन्छौ परमेश्वरले त्यही दिऊन्।  
उहाँले तिम्रा सबै योजनाहरू सफल पारी दिऊन्।   
 5 जब परमप्रभु परमेश्वरले तिमीलाई सहयोग गर्नु हुन्छ हामीहरू खुशी हुनेछौं।  
परमेश्वरको नाउँको स्तुति गरौं।  
तिमीले मागेको प्रत्येक कुरा परमप्रभुले दिऊन्!   
 6 अब म जान्दछु आफूले रोजेका राजालाई परमप्रभुले सहयोग गर्नुहुन्छ!  
परमेश्वर आफ्नो पवित्र स्वर्गमा हुनुहुन्छ अनि आफूले रोजेका राजालाई जवाफ दिनुहुन्छ।  
परमेश्वरले बचाउन आफ्नो महान् शक्ति चलाउनु हुन्छ।   
 7 कतिपय मानिसहरूले आफ्ना रथहरूमाथि भरोसा गर्दछन् कतिपय मानिसहरूले आफ्ना सिपाहीहरू माथि भरोसा गर्दछन्।  
तर हामी ता परमप्रभु हाम्रा परमेश्वरकै नाउँमा भरोसा गर्छौं।   
 8 ती अन्य मानिसहरू पराजित भए, तिनीहरू युद्धमा मारिए।  
तर हामीले जित्यौं! हामी विजेता हौं।   
 9 परमप्रभुले आफूले रोजेका राजालाई बचाउनु हुन्छ!  
परमेश्वरले रोजेका राजाले गुहार मागे अनि परमेश्वरले त्यसको जवाफ दिनुभयो!