41
प्रमुख संगीतकारलाई। दाऊदको भजन। 
  1 एकजना मानिस जसले गरीब मानिसहरूलाई सफल हुनमा सघाउँछ,  
त्यसैले धेरै आशीर्वादहरू पाउनेछ।  
जब सकंट आँउछ परमप्रभुले त्यस मानिसलाई बचाउनु हुन्छ।   
 2 परमप्रभुले त्यस मानिसलाई रक्षा गर्नुहुनेछ र उसको जीवन बचाउनु हुनेछ।  
त्यो मानिस पृथ्वीमा धन्य हुनेछ।  
परमेश्वरले त्यस मानिसका शत्रुहरूद्वारा ध्वंश हुन दिनु हुनेछैन।   
 3 जब त्यो मानिस रोगी हुन्छ र ओछ्यानमा पर्छ, परमप्रभुले उसलाई बल दिनु हुनेछ।  
त्यो मानिस बिमार हुन सक्छ, तर परमप्रभुले उसलाई निको पार्नु हुनेछ।   
 4 मैले भने, “हे परमप्रभु, मप्रति अनुग्रह गर्नु होस्।  
मैले तपाईंको विरूद्ध पाप गरें, तर मलाई क्षमा दिनुहोस् र निको पार्नु होस्।”   
 5 मेरा शत्रुहरूले मेरो विषयमा अप्रिय कुराहरू गरे।  
तिनीहरूले भनिरहेका छन्, “ऊ कहिले मर्नेछ र विस्मृत हुनेछ?”   
 6 मानिसहरू मलाई हेर्न आउँछन्।  
तर तिनीहरूले वास्तवमा के सोचिरहेछन् तिनीहरू भन्दैनन्।  
तिनीहरू खाली मबाट केही समाचारहरू मात्र लिन आउँछन्,  
अनि तिनीहरू जान्छन् र मेरो विषयमा उडन्ते कुराहरू फिंजाउँछन्।   
 7 मेरो विषयमा शत्रुहरूले परस्परमा कानेखुसी गर्छन्।  
तिनीहरूले मेरो विरूद्ध षड्यन्त्रहरू गरिरहेछन्।   
 8 तिनीहरू भन्छन्, “उसले केही भूल काम गर्यो  
त्यसैले गर्दा ऊ बिमारी भयो।  
हामी आशा गर्छौं तिनी कहिल्यौ निको हुनेछैनन्।”   
 9 मेरो प्रिय साथीले मसँगै खायो। म उसलाई भरोसा गर्थे।  
तर अहिले, ऊ मेरो विरूद्धमा बागी भएकोछ।   
 10 यसैले, हे परमप्रभु, दया गरेर मप्रति कृपा गर्नु होस्।  
मलाई उठाउनु होस् अनि म तिनीहरूको ऋण चुक्ता गर्नेछु।   
 11 हे परमप्रभु, शत्रुहरूलाई ममाथि आघात गर्न नदिनुहोस्।  
तब म जान्ने छु तपाईंले तिनीहरूलाई ममाथि आघात गर्न पठाउनु भएन।   
 12 म निर्दोष थिएँ र तपाईंले मलाई सघाउनु भयो।  
तपाईं मलाई उठ्न दिनुहोस र सदा तपाईंको सेवा गर्नपाऊँ।   
 13 परमप्रभु, इस्राएल का परमेश्वर धन्य हुनु हुन्छ!  
उहाँ सधैं हुनुहुन्थ्यो, अनि उहाँ सधैं हुनुहुनेछ।  
आमेन, आमेन।