96
 1 परमप्रभुले गर्नु भएको नयाँ कुराहरूका बारेमा नयाँ गीत गाऊ,  
सारा संसारले परमप्रभु प्रति गीत गाउन्।   
 2 परमप्रभु प्रति गाऊ, उहाँको नाउँको प्रशंसा गर!  
सुसमाचार भन, प्रत्येक दिन उहाँको मुक्तिको विषयमा कुरा गर।   
 3 परमप्रभु साँच्चि नै अद्भूत हुनुहुन्छ, भनेर मानिसहरूलाई भन, परमेश्वरले गर्नु हुने आश्चर्यचकित चीजहरूका विषयमा राष्ट्रहरू माझ भन।  
सृजना गर्नु हुने अचम्मका कामहरूको बारेमा मानिसहरूलाई भन।   
 4 परमप्रभु महान् हुनुहुन्छ र प्रशंसाको योग्य हुनुहुन्छ।  
उहाँ अन्य सबै “देवताहरू”को भन्दा अझ उहाँकै डर राख्नु पर्छ।   
 5 अन्य जातिहरूका सबै “देवताहरू” खाली मूर्तिहरू मात्र हुन्।  
तर परमेश्वरले स्वर्ग बनाउनुभयो।   
 6 उहाँको समक्षमा आदर र महिमा चम्किरहेको छ।  
परमेश्वरको पवित्र मन्दिरमा शक्ति र सौन्दर्य छ।   
 7 परिवारहरू, जातिहरू परमप्रभुको प्रशंसा  
र महिमाको गीत गाऔं।   
 8 परमप्रभुको नाउँको प्रशंसा गर  
आफ्ना बलिहरू ल्याऊ र मन्दिर तर्फ जाऊ।   
 9 पवित्रताको सौन्दर्यसित परमप्रभुको उपासना गर।  
पृथ्वीमा प्रत्येक मानिसले परमप्रभुको उपासना गर।   
 10 जाति-जातिहरूलाई घोषणा गर, परमप्रभु नै राजा हुन्,  
ताकि संसार नष्ट नहोस्।  
परमप्रभुले निष्पक्ष रूपमा संसारमा राज गर्नुहुनेछ।   
 11 हे आकाश, खुशी हो! हे पृथ्वी, आनन्दित बन!  
यसमा भएका समुद्र र प्रत्येक थोक खुशीले कराऊ, चिच्याऊ।   
 12 खेतहरू र त्यसमा उब्जने प्रत्येक चीज, खुशी बन।  
जङ्गलका रूखहरू, गाऊ र खुशी बन!   
 13 जव तिनीहरूले परमप्रभु आईरहेको देख्नेछन्,  
परमप्रभु संसारमा राजगर्न आउँदै हुनुहुन्छ,  
परमप्रभुले संसारमा भएका राज्यहरूमा  
पक्षपात नगरी न्याय र राज्य गर्नुहुनेछ।