3
हेर, पिताले हामीलाई कति महान् प्रेम प्रदान गर्नुभएको छ: हामी परमेश्‍वरका सन्तान कहलिएका छौँ; अनि हामी त्यही हौँ पनि! संसारले उहाँलाई नचिनेको कारण यसले हामीलाई पनि चिन्दैन। प्रिय मित्रहरू हो, अहिले हामी परमेश्‍वरका सन्तान हौँ, र हामी के हुनेछौँ, त्यो अहिलेसम्म प्रकट गरिएको छैन; तर हामी यो जान्दछौँ, ख्रीष्‍ट प्रकट हुनुहुँदा हामी उहाँजस्तै हुनेछौँ; किनकि उहाँजस्तो हुनुहुन्छ हामी उहाँलाई त्यस्तै नै देख्नेछौँ। यो आशा उहाँमाथि राख्ने सबैले आफूलाई उहाँजस्तै शुद्ध राख्छन्, जस्तो कि उहाँ शुद्ध हुनुहुन्छ।
पाप गर्ने हरेकले व्यवस्था भङ्ग गर्दछ; वास्तवमा पाप नै अधर्म हो। तर तिमीहरू जान्दछौ, हाम्रा पाप हरण गर्नलाई नै उहाँ प्रकट हुनुभएको हो, र उहाँमा कुनै पाप छँदैछैन। उहाँमा रहने कसैले पनि पाप गरिरहँदैन। पाप गरिरहने कसैले पनि उहाँलाई न देखेको हुन्छ, न त चिनेको नै हुन्छ।
हे प्यारा साना नानीहरू हो, कुनै पनि मानिसले तिमीहरूलाई बहकाउन नपाओस्। जसले ठिक काम गर्छ, त्यो धार्मिक हो; जस्तो उहाँ धार्मिक हुनुहुन्छ। जसले पापमय काम गर्दछ, त्यो शैतानको हो; किनकि शैतानले सुरुदेखि नै पाप गर्दै आइरहेको छ। परमेश्‍वरका पुत्र प्रकट हुनुभएको कारण नै शैतानका कामहरू नष्‍ट पार्नलाई हो। परमेश्‍वरबाट जन्मेको कसैले पनि पाप गरिरहँदैन; किनकि परमेश्‍वरको बिउ*बिउ यसको अर्थ वचन हो। त्यसमा रहन्छ, त्यसले पाप गरिरहन सक्दैन; किनकि ऊ परमेश्‍वरबाट जन्मिएको हो। 10 परमेश्‍वरको सन्तान को हो र, शैतानको सन्तान को हो भन्‍ने कुरा हामीले यसैबाट जान्दछौँ: जे ठिक छ, त्यो काम नगर्ने कुनै पनि व्यक्ति र आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई प्रेम नगर्ने व्यक्ति परमेश्‍वरको सन्तान होइन।
एक-अर्कामा प्रेम
11 तिमीहरूले सुरुदेखि नै सुनेको सन्देश यही हो; हामीले एक-अर्कालाई प्रेम गर्नुपर्छ। 12 कयिनजस्तो नहोओ, जो दुष्‍टको थियो र त्यसले आफ्नै भाइको हत्या गर्‍यो। त्यसले आफ्नो भाइको किन हत्या गर्‍यो? किनकि त्यसका आफ्ना कामहरू दुष्‍ट थिए, तर त्यसको भाइका कामहरूचाहिँ धार्मिक थिए। 13 त्यसैले हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, यदि संसारले तिमीहरूलाई घृणा गर्छ भने अचम्म नमान। 14 हामी जान्दछौँ, हामी त मृत्युबाट जीवनमा सरिसकेका छौँ; किनकि हामी आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई प्रेम गर्छौँ। जसले प्रेम गर्दैन, त्यो मृत्युमा रहिरहन्छ। 15 हरेक जसले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई घृणा गर्छ, त्यो हत्यारा हो; अनि कुनै पनि हत्यारासँग अनन्त जीवन हुँदैन भन्‍ने तिमीहरू जान्दछौ।
16 प्रेम के हो भन्‍ने कुरा हामी यसैबाट थाहा पाउँछौँ; येशू ख्रीष्‍टले हाम्रा निम्ति आफ्नो प्राण अर्पण गर्नुभयो। यसैले हामीले पनि आफ्ना दाजुभाइ-दिदीबहिनीहरूका निम्ति आफ्नो प्राण अर्पण गर्नुपर्छ। 17 यदि कसैसँग भौतिक धनसम्पत्ति छ, र आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई खाँचोमा परेको देख्छ; तर पनि त्यसप्रति दया देखाउँदैन भने त्यसले कसरी परमेश्‍वरको प्रेम त्यससँग रहेको दाबी गर्न सक्छ र? 18 प्यारा साना नानीहरू हो, हामीले वचन र जिब्रोले मात्र होइन, तर कामद्वारा र सत्यतामा प्रेम गरौँ।
19 त्यसकारण यसैबाट नै हामी सत्यका हौँ भनी जान्दछौँ, र यसरी हामी उहाँको उपस्थितिमा निर्धक्‍क भएर खडा हुन सक्छौँ। 20 जब हाम्रो हृदयले हामीलाई दोष दिन्छ भने याद राख, परमेश्‍वर हाम्रो हृदयभन्दा महान् हुनुहुन्छ, र उहाँले सबै कुरा जान्‍नुहुन्छ। 21 प्रिय मित्रहरू हो, यदि हाम्रो हृदयले हामीलाई दोष दिँदैन भने परमेश्‍वरको सामु हामीलाई साहस हुन्छ; 22 अनि हामीले जे माग्छौँ, सो उहाँबाट पाउँछौँ; किनकि हामी उहाँका आज्ञाहरू पालन गर्दछौँ; अनि जुन कुराले उहाँलाई प्रसन्‍न तुल्याउँछ, त्यही गर्दछौँ। 23 अनि उहाँको आज्ञा यही हो—उहाँका पुत्र येशू ख्रीष्‍टको नाममा विश्‍वास गर्नुपर्छ र उहाँले हामीलाई आज्ञा दिनुभएअनुसार एक-अर्कालाई प्रेम गर्नुपर्छ। 24 जसले उहाँका आज्ञाहरू पालन गर्छन्, तिनीहरू उहाँमा रहन्छन्, र उहाँ तिनीहरूमा। उहाँ हामीमा रहनुहुन्छ भन्‍ने कुरा उहाँले हामीलाई दिनुभएको पवित्र आत्माद्वारा हामी जान्दछौँ।

*3:9 बिउ यसको अर्थ वचन हो।