5
मण्डलीका प्रधानहरू र परमेश्वरका जनहरूलाई केही अर्तीहरू
1 तिमीहरूमध्येका मण्डलीका प्रधानहरूलाई, म एक सङ्गी प्रधानको नाताले, जो ख्रीष्टको दुःखको साक्षी र प्रकट हुन लागेको महिमामा सहभागीको हैसियतले, तिमीहरूलाई अनुरोध गर्दछु: 2 तिमीहरूको हेरचाहमा भएको परमेश्वरको बगालहरूको रखवालाको रूपमा गोठालो बनिदेओ। तिमीहरूले गर्नैपर्छ भनेर होइन, तर परमेश्वरले चाहनुभएझैँ तिमीहरूको इच्छापूर्वक; पैसाको लोभले होइन, तर तिमीहरूको उत्कट इच्छाले सेवा गर। 3 तिमीहरूको जिम्मामा रहेकाहरूमाथि प्रभुत्व जमाएर होइन, तर बगालको निम्ति नमुनाहरू भएर गर! 4 अनि जब प्रधान गोठालो देखा पर्नुहुनेछ, तब तिमीहरूले कहिल्यै नओइलाउने महिमाको मुकुट पाउनेछौ।
5 हे जवानहरू हो, यसरी नै मण्डलीका प्रधानहरूको अधीनमा बस! नम्रताको वस्त्र लगाएर एक-अर्काको सेवा गर; किनकि,
“परमेश्वरले घमण्डीहरूको विरोध गर्नुहुन्छ,
तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ।”*हितो 3:34
6 यसकारण परमेश्वरको शक्तिशाली हातमुनि आफूलाई नम्र बनाओ, ताकि उहाँले उचित समयमा तिमीहरूलाई उच्च पार्नुहुनेछ। 7 तिमीहरूका सबै चिन्ता उहाँमाथि राख; किनकि उहाँले तिमीहरूको फिक्री गर्नुहुन्छ।
8 संयमी र चनाखो होओ। तिमीहरूको शत्रु शैतान कसलाई भेट्टाऊँ र खाइहालूँ भनी गर्जने सिंहझैँ यताउति घुमिहिँड्छ। 9 विश्वासमा स्थिर भएर त्यसको प्रतिरोध गर; किनकि तिमीहरू जान्दछौ संसारभरि नै तिमीहरूका दाजुभाइहरूले त्यस्तै किसिमको कष्ट भोगिरहेका छन्।
10 सबै अनुग्रहका परमेश्वर, जसले तिमीहरूलाई ख्रीष्टमा आफ्नो अनन्त महिमामा बोलाउनुभएको छ; तिमीहरूले केही समयसम्म कष्ट भोगेपछि उहाँले नै तिमीहरूलाई पुनर्स्थापन गर्नुहुनेछ र तिमीहरूलाई बलिया, स्थिर र शक्तिशाली बनाउनुहुनेछ। 11 उहाँलाई नै पराक्रम सदासर्वदा भइरहोस्! आमेन।
अन्तिम अभिवादन
12 सिलासको†अथवा, सिलभानस सहायताले, जसलाई म एक विश्वासयोग्य भाइ ठान्दछु, मैले तिमीहरूलाई उत्साह दिँदै र यही नै परमेश्वरको सत्य अनुग्रह भनी छोटकरीमा लेखेको छु। यसमा अटल रहो।
13 तिमीहरूसँगै छानिएकी बेबिलोनमा तिमीहरूकी बहिनीले‡बहिनी शब्दले यहाँ मण्डलीलाई बुझाउँछ। तिमीहरूलाई अभिवादन पठाएकी छिन्, साथै मेरा छोरा मर्कूसले पनि।
14 एक-अर्कालाई ख्रीष्टिय प्रेमले§मूल भाषामा प्रेमको चुम्बनले अभिवादन गर।
ख्रीष्टमा भएका तिमीहरू सबैलाई शान्ति!