11
अतल्याह र योआश
1 जब अहज्याहकी आमा अतल्याहले आफ्नो छोरा मरेको देखिन्, तब उनी सम्पूर्ण राजकीय परिवारलाई नाश गर्न गइन्। 2 तर राजा यहोरामकी छोरी अहज्याहकी बहिनी यहोशेबाले अहज्याहका छोरा योआशलाई मारिन लागेका राजकुमारहरूका बीचबाट सुटुक्क भगाएर लगिन्। उनले तिनलाई र तिनकी धाईलाई अतल्याहबाट लुकाउनलाई एउटा सुत्ने कोठामा राखिन्; यसरी तिनी मारिएनन्। 3 अतल्याहले छ वर्ष देशमा शासन गरिन। उनको शासनभरि योआश आफ्नो धाईसित याहवेहको भवनमा लुकेर बसे।
4 सातौँ वर्षमा यहोयादाले सय-सयका दलका सेनापतिहरू, करीहरू र राजकीय अङ्गरक्षकहरू बोलाइपठाए; अनि तिनीहरूलाई याहवेहको भवनमा ल्याए। तिनले उनीहरूसित करार बाँधे, र तिनीहरूलाई याहवेहको भवनमा शपथ खान लगाए। त्यसपछि तिनले उनीहरूलाई राजाका छोरा देखाइदिए। 5 तिनले उनीहरूलाई यसो भनेर हुकुम गरे, “तिमीहरूले यसो गर्नुपर्छ: तिमीहरू, जो शब्बाथमा काममा खटिएका छौ; तिमीहरूको एक तिहाइले राजकीय महलको रक्षा गर्नू: 6 एक तिहाइले सूर ढोकामा, र अर्को एक तिहाइले पालैपालो गरी याहवेको भवनको रक्षा गर्ने पहरेदारहरूको पछिल्तिरको ढोकामा। 7 अनि तिमीहरूका दुई दल, जो शब्बाथमा फुर्सद हुन्छौ; तिमीहरू सबैले राजाका निम्ति याहवेहको भवनको रक्षा गर्नू। 8 प्रत्येक मानिसले आ-आफ्ना हातमा हतियार राखेर राजाको चारैतिर खडा रहनू। तिमीहरूको नजिक आउने जोसुकै पनि मारिनुपर्छ। राजा जहाँ गए तापनि तिनको छेवैमा रहनू।”
9 पुजारी यहोयादाले हुकुम गरेझैँ सय-सय दलका कप्तानहरूले गरे। प्रत्येकले आ-आफ्ना मानिसलाई लिए; शब्बाथमा काममा खटिएका र काममा नखटिएकालाई लिए, र तिनीहरू पुजारी यहोयादाकहाँ आए। 10 तब तिनले ती सेनापतिहरूलाई याहवेहका भवनमा भएका राजा दावीदका भालाहरू र ढालहरू दिए। 11 ती पहरेदारहरू प्रत्येकले आ-आफ्ना हातमा हतियार लिए। अनि तिनीहरू राजाको चारैतिर वेदी र भवनको छेउमा मन्दिरको दक्षिण भागदेखि उत्तर भागसम्म बसे।
12 यहोयादाले राजाका छोरालाई ल्याए, र तिनको शिरमा मुकुट लगाइदिए। तिनले उनलाई करारको एउटा प्रतिलिपी दिए; र तिनलाई राजा घोषणा गरे। तिनीहरूले उनलाई अभिषेक गरे। अनि मानिसहरूले ताली बजाए, र यसो भनी कराए, “राजा अमर रहून्!”
13 अतल्याहले पहरेदारहरू र मानिसहरूले गरेका हल्ला सुनेपछि तिनी याहवेहको भवनमा मानिसहरूकहाँ गइन्। 14 तिनले हेरिन्, र राजालाई दस्तुरअनुसार स्तम्भको छेउमा उभिरहेका देखिन्। अधिकृतहरू र तुरही फुक्नेहरू राजाका छेउमा थिए; र देशका सबै मानिसहरू आनन्द मनाउँदै तुरही फुक्दै थिए। तब अतल्याहले आफ्ना वस्त्रहरू च्यातेर “राजविद्रोह! राजविद्रोह!” भन्दै कराइन्।
15 यहोयादाले सय-सय दलमाथिका सेनापतिहरूलाई हुकुम गरे, “तिनलाई सबैको बीचमा बाहिर ल्याओ, र तिनको पछि लाग्ने हरेकलाई तरवारले मारिदेओ।” किनकि पुजारीले भनेका थिए, “तिनलाई याहवेहको मन्दिरमा नमार्नू।” 16 यसकारण अतल्याह राजमहलको आँगनभित्र घोडाहरू पस्ने ठाउँमा पुगेको बेला तिनीहरूले तिनलाई समाते, र त्यहीँ नै तिनी मारिइन्।
17 तब यहोयादाले याहवेह, राजा र मानिसहरूका बीचमा तिनीहरू याहवेहका मानिसहरू हुनेछन् भनी करार बाँधे। तिनले राजा र मानिसहरूका बीचमा पनि करार बाँधे। 18 देशभरिका मानिसहरू बालको मन्दिरमा गए; अनि त्यसलाई भत्काइदिए। तिनीहरूले वेदीहरू र मूर्तिहरूलाई टुक्रा-टुक्रा बनाइदिए; र बालको पुजारी मत्तानलाई वेदीको सामु मारे।
त्यसपछि पुजारी यहोयादाले याहवेहको मन्दिरमा पहरेदारहरू खटाइदिए। 19 तिनले आफूसित सय-सयमाथिका सेनापतिहरू, करीहरू, अङ्गरक्षकहरू र देशका सबै मानिसहरूलाई लिए; र तिनीहरू मिलेर राजालाई याहवेहको भवनबाट तल ल्याए। अनि पहरेदारहरूका मूलढोकाबाट भएर राजमहलभित्र पसे। तब राजा आफ्नो राजकीय आसनमाथि बसे। 20 अनि देशका सबै मानिसहरूले हर्ष मनाए। सहरचाहिँ शान्त थियो; किनकि अतल्याह राजमहलमा तरवारले मारिएकी थिइन्।
21 शासन सुरु गर्दा येहोआश सात वर्षका थिए।