थेसलोनिकीका मण्डलीलाई पावलको दोस्रो पत्र
1
1 पावल, सिलास*सिलास मूल भाषामा सिलभानस भनिन्छ। र तिमोथीबाट,
हाम्रा परमेश्वर पिता र प्रभु येशू ख्रीष्टमा थेसलोनिकीहरूको मण्डलीलाई:
2 परमेश्वर पिता र प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति!
धन्यवाद ज्ञापन र प्रार्थना
3 हे दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूको विश्वास लगातार बढ्दै गएको र तिमीहरूको एक-आपसको प्रेम बढ्दै गएको कारण तिमीहरूका लागि हामीले परमेश्वरलाई सधैँ धन्यवाद दिनैपर्छ। 4 यसकारण तिमीहरूका सबै सतावट र तिमीहरूले सहिरहेका परीक्षाहरूका बीचमा तिमीहरूका धैर्य धारण र विश्वासको निम्ति परमेश्वरका मण्डलीहरूका माझमा हामी गर्व गर्दछौँ।
5 यो सबै परमेश्वरको साँचो न्यायको प्रमाण हो जसको परिणाम स्वरूप तिमीहरू परमेश्वरको राज्यको योग्य ठहराइनेछौ, जसको निम्ति तिमीहरूले कष्ट भोगिरहेका छौ। 6 परमेश्वर न्यायी हुनुहुन्छ। तिमीहरूलाई दुःख दिनेहरूलाई उहाँले दुःख दिनुहुन्छ। 7 अनि तिमी दुःख पाइरहेकाहरूलाई र हामीलाई पनि त्यसबाट छुटकारा दिनुहुनेछ। योचाहिँ तब हुनेछ, जब प्रभु येशू आफ्ना शक्तिशाली स्वर्गदूतहरूसित दन्किरहेको आगोमा स्वर्गबाट प्रकट हुनुहुनेछ। 8 उहाँले परमेश्वरलाई नचिन्नेहरू र हाम्रा प्रभु येशूको सुसमाचार नमान्नेहरूलाई सजाय दिनुहुनेछ। 9 तिनीहरूले अनन्तको विनाश सजाय पाउनेछन्; अनि तिनीहरू प्रभुको उपस्थिति र उहाँको शक्तिको महिमाबाट अलग गरिनेछन्। 10 यो त्यस दिन हुनेछ, जब उहाँ आफ्ना पवित्र जनहरूका बीचमा महिमित हुन र उहाँमाथि विश्वास गरेका सबैलाई चकित पार्न आउनुहुनेछ। यसमा तिमीहरू पनि सामेल छौ; किनकि तिमीहरूले हाम्रा गवाहीलाई विश्वास गर्यो।
11 यसलाई मनमा राखेर हामी निरन्तर तिमीहरूको लागि प्रार्थना गर्दर्छौँ, कि हाम्रा परमेश्वरले तिमीहरूलाई उहाँको बोलावटको योग्य बनाऊन्; अनि आफ्नो शक्तिद्वारा तिमीहरूका असल कामको हरेक चाहनालाई र विश्वासद्वारा गरिएका हरेक कामलाई पूरा गरून्। 12 हामी प्रार्थना गर्दर्छौँ, ताकि हाम्रा परमेश्वर र प्रभु येशू ख्रीष्टको अनुग्रहअनुसार तिमीहरूमा हाम्रा प्रभु येशूको नाम महिमित होस्, र उहाँमा तिमीहरूको महिमा होस्।