6
आत्मसन्तुष्ट भएकाहरूलाई धिक्कार
1 धिक्कार तिमीहरूलाई, जो सियोनमा निर्धक्कसाथ बसेका छौ;
अनि धिक्कार तिमीहरूलाई, जो सामरियाको पर्वतमाथि आफूलाई सुरक्षित ठान्छौ;
धिक्कार तिमीहरू प्रमुख राष्ट्रका प्रसिद्ध मानिसहरू,
जसकहाँ इस्राएलका मानिसहरू आउँछन्!
2 कल्नेह सहरमा जाओ र त्यसलाई हेर;
त्यहाँबाट हमात सहरमा जाओ;
अनि तल पलिश्तीको गातमा जाओ।
के तिमीहरूका दुई राज्यहरूभन्दा ती असल छन् र?
के तिनीहरूको देश तिमीहरूको भन्दा ठूलो छ र?
3 तिमीहरूले विपत्तिको दिनलाई टाढा पन्छाउँछौ,
र एउटा आतङ्कको शासन नजिक ल्याउँछौ।
4 तिमीहरू हस्तीदन्तले जडेको पलङमा सुत्छौ,
र सोफाहरूमा ढल्कन्छौ।
तिमीहरू असल भेडाहरू
र मोटा बाछाहरू खान्छौ।
5 तिमीहरू दावीदले झैँ वीणा बजाउँछौ,
र सङ्गीतका बाजाहरूमा तत्कालै धुन रच्दछौ।
6 तिमीहरू कचौरा भरेर दाखमद्य पिउँछौ,
र उत्तम सुगन्धित तेलहरू प्रयोग गर्छौ,
तर योसेफको विनाशमाथि शोक गर्दैनौ।
7 यसकारण तिमीहरू नै पहिले निर्वासनमा जानेछौ;
तिमीहरूका भोज र मोजमज्जाहरूको अन्त्य हुनेछ।
याहवेहले इस्राएलको घमण्डलाई घृणा गर्नुहुन्छ
8 प्रभु याहवेहले आफ्नै नाममा शपथ खानुभएको छ—याहवेह सेनाहरूका परमेश्वर घोषणा गर्नुहुन्छ:
“म याकोबको घमण्डलाई घृणा गर्छु,
र त्यसका किल्लाहरूलाई घृणा गर्छु;
म यस सहर र यसमा भएका सबैलाई
शत्रुको हातमा सुम्पिदिनेछु।”
9 यदि एउटा घरमा दश जना मानिसहरू मात्रै बाँकी रहे तापनि तिनीहरू मर्नेछन्। 10 यदि लासहरू घरबाट बाहिर निकालेर जलाउन भनी आफन्त आएर त्यहाँ लुकेकाहरूलाई, “तिमीसित अझै कोही छ?” भनी सोध्छ र उसले भन्छ, “अहँ, कोही पनि छैन,” तब त्यसले भन्नेछ, “चुप लाग! हामीले याहवेहको नाम लिनुहुँदैन।”
11 किनकि याहवेहले आज्ञा दिनुभएको छ;
अनि उहाँले विशाल भवनहरूलाई चकनाचुर
र साना घरहरूलाई तहसनहस पार्नुहुनेछ।
12 के घोडाहरू चट्टानहरूमाथि दौडन्छन् र?
के कसैले समुद्रमा गोरुहरूले जोत्छ र?
तर तिमीहरूले त न्यायलाई विषमा
र धार्मिकताका फलचाहिँ तितोमा परिणत गरिदिएका छौ,
13 अर्थात् तिमीहरू लो-देबार*जसको अर्थ हो व्यर्थ सहरलाई जितेकोमा आनन्द मनाउँछौ,
र भन्छौ, “के हामीले आफ्नै बलले कार्नैम†कार्नैम जसको अर्थ हो सिङ; शक्तिको प्रतिक। सहरलाई कब्जा गरेका होइनौँ र?”
14 किनकि याहवेह सेनाहरूका परमेश्वर घोषणा गर्नुहुन्छ,
“हे इस्राएल, म एउटा देशलाई तिमीहरूका विरुद्धमा उचाल्नेछु;
त्यसले लेबो-हमातदेखि अराबाको बेँसीसम्मै
तिमीहरूमाथि अत्याचार गर्नेछ।”