33
मोशाले बाह्र कुललाई आशिष् दिएका
1 परमेश्वरका जन मोशाले आफ्नो मृत्युभन्दा अगि इस्राएलीहरूलाई दिएका आशीर्वाद यही हो। 2 तिनले भने:
“याहवेह सीनै पर्वतबाट आउनुभयो,
र तिनीहरूमाथि सेइरमा झुल्कनुभयो;
उहाँ पारान पर्वतबाट चम्कनुभयो।
उहाँको पर्वतको ओरालो,
दक्षिणबाट दशौँ हजार पवित्र जनहरूसँग उहाँ आउनुभयो।
3 निश्चय नै तपाईं, जसले मानिसहरूलाई प्रेम गर्नुहुन्छ;
सबै पवित्र जनहरू तपाईंका हातमा छन्।
तिनीहरू सबै तपाईंको पाउमा दण्डवत् गर्नेछन्;
र तपाईंबाट नै अर्तीहरू प्राप्त गर्दछन्।
4 याकोबका मानिसहरूका सम्पत्ति भनेको नै
मोशाले हामीलाई दिएका व्यवस्थाहरू हुन्।
5 उहाँ यशूरूनमाथि*यसको अर्थ धर्मी हुन्छ र यसले इस्राएललाई जनाउँदछ; हेर्नुहोस् 26 मा पनि। राजा हुनुहुन्थ्यो,
जब इस्राएलका कुलहरूको साथमा
मानिसहरूका अगुवाहरू भेला भएका थिए।
6 “रूबेन बाँचिरहून्, र कहिल्यै नमरून्;
न त त्यसका मानिसहरू थोरै होऊन्।”
7 अनि यहूदाको बारेमा तिनले यो भने:
“हे याहवेह यहूदाको पुकार सुन्नुहोस्;
त्यसलाई आफ्ना मानिसहरूकहाँ ल्याउनुहोस्;
त्यसले आफ्नै हातले आफ्नो रक्षा गर्छ।
हे प्रभु, त्यसका शत्रुहरूको विरुद्धमा त्यसको सहायक हुनुहोस्!”
8 लेवीको बारेमा तिनले भने:
“तपाईंको तुम्मीम र ऊरीम
तपाईंको विश्वासयोग्य सेवकका हुन्।
तपाईंले त्यसलाई मस्साहमा जाँच्नुभयो;
तपाईंले त्यससँग मेरीबाको पानीमा लड्नुभयो।
9 त्यसले आफ्नो बुबा र आमालाई भन्यो,
‘म तिनीहरूको कुनै वास्ता गर्दिनँ।’
त्यसले आफ्ना दाजुभाइहरूलाई चिनेन,
र आफ्नै छोराछोरीहरूलाई स्वीकार गरेन;
तर त्यसले तपाईंको वचनमा ध्यान दियो,
र तपाईंको करारको रक्षा गर्यो।
10 त्यसले याकोबलाई तपाईंको विधि
र इस्राएललाई तपाईंको व्यवस्था सिकाउँछ।
त्यसले तपाईंको सामु धूप
र तपाईंको वेदीमा सम्पूर्ण होमबलि चढाउँछ।
11 हे याहवेह, त्यसका सबै धनसम्पत्तिहरूमा आशिष् दिनुहोस्,
र त्यसका हातका परिश्रमहरूमा प्रसन्न हुनुहोस्।
त्यसको विरुद्धमा उठ्ने शत्रुहरूलाई प्रहार गर्नुहोस्,
र त्यसका शत्रुहरू फेरि कहिल्यै उठ्न नसकून्!”
12 बेन्यामीनको बारेमा तिनले भने:
“याहवेहको प्रिय उहाँमा सुरक्षित रहून्;
किनकि त्यसको दिनभरिको ढाल उहाँ हुनुहुन्छ।
अनि याहवेहले प्रेम गर्नुहुनेचाहिँ उहाँका काँधमा विश्राम लिन्छन्।”
13 योसेफको बारेमा तिनले भने:
“याहवेहले त्यसको भूमिलाई
माथि आकाशका बहुमूल्य शीत
र तल रहेको गहिरो पानीले आशिष् दिनुहुन्छ;
14 सूर्यले ल्याउने उत्तम कुराहरूले,
र चन्द्रमाबाट प्राप्त हुने अति असल कुराहरूले;
15 प्राचीन पहाडहरूका मूल्यवान् उपहारहरूले,
अनि अनन्तका पर्वतहरूको फलदायक परिपूर्णताले;
16 पृथ्वीका सर्वोत्तम उपहारहरू र त्यसको प्रसस्ताले,
अनि जल्दैगरेको पोथ्रामा बास गर्नुहुनेको कृपाले।
यी सबै योसेफको शिरमाथि,
तिनका दाजुभाइहरूमध्येका राजकुमारको निधारमा रहून्।
17 वैभवमा त्यो पहिले जन्मेको साँढेजस्तै छ;
त्यसका सिङहरू जङ्गली गोरुका सिङहरूझैँ छन्।
ती सिङहरूद्वारा त्यसले जातिहरूलाई हान्नेछ;
पृथ्वीका अन्तिम भागसम्म रहेकाहरूलाई पनि,
ती सिङहरू एफ्राइमका दश हजारजस्तै छन्;
मनश्शेका हजारौँ-हजारझैँ छन्।”
18 जबूलूनको बारेमा तिनले भने:
“जबूलून, तँ बाहिर जाँदा आनन्द गर्,
अनि इस्साखार, तँ आफ्नो पालभित्र आनन्द गर्।
19 तिनीहरूले मानिसहरूलाई पर्वतमा बोलाउनेछन्।
र त्यहाँ धार्मिकताका बलिदानहरू चढाउनेछन्।
तिनीहरूले समुद्रका प्रचुरतामा
र बालुवामा लुकेका गुप्त धनमा भोज गर्नेछन्।”
20 गादको बारेमा तिनले भने:
“गादको राज्य विस्तार गर्ने जन धन्यको हो!
गादचाहिँ पाखुरा वा शिर चिथोर्ने
सिंहझैँ बस्छ।
21 त्यसले आफ्ना निम्ति सबैभन्दा असल ठाउँ छान्यो;
अगुवाको भाग त्यसका निम्ति राखिएको थियो।
जब मानिसहरूका मुख्य व्यक्तिहरू भेला भए,
तब त्यसले याहवेहका धार्मिक इच्छा
र इस्राएल सम्बन्धी उहाँका नीति-नियमहरू कार्यान्वयन गरायो।”
22 दानको बारेमा तिनले भने:
“दान बाशानबाट उफ्रँदै आउने
सिंहको डमरुजस्तै हो।”
23 नप्तालीको बारेमा तिनले भने:
“नप्ताली याहवेहको कृपाको प्रशस्ततामा छ,
र त्यो उहाँको आशिष्ले भरिपूर्ण छ।
त्यसले गालील तालको दक्षिणतिरको भाग अधिकार गर्नेछ।”
24 आश्शेरको बारेमा तिनले भने:
छोराहरूमध्ये सबैभन्दा आशिषित चाहिँ आशेर हो;
त्यसका दाजुभाइहरूले त्यसमाथि कृपा देखाऊन्;
र त्यसले आफ्ना पाउ जैतुनको तेलमा चोपोस्।
25 तेरा मूलढोकाका आग्लाहरू फलाम र काँसो होऊन्।
अनि तेरो बलचाहिँ तेरा दिनहरू बराबर होस्।
26 यशूरूनका परमेश्वरसमान अरू कोही छैन;
जो तँलाई सहायता गर्नलाई आकाशबाट आउनुहुन्छ।
अनि आफ्नो महिमाको बादलमा सवार गर्नुहुन्छ।
27 अनन्तका परमेश्वर तेरो शरणस्थान हुनुहुन्छ,
र तलतिर चाहिँ अनन्तका बाहुलीहरू तेरो सहारा छन्।
उहाँले तेरा शत्रुहरूलाई तेरो सामुबाट धपाउनुहुनेछ।
उहाँले भन्नुहुन्छ, “तिनीहरूलाई नष्ट पार्!”
28 यसकारण इस्राएल सुरक्षित रहनेछ;
याकोबको मूल सुरक्षित रहनेछ;
अन्न र नयाँ दाखमद्यको देशमा,
आकाशबाट शीत झर्ने ठाउँमा।
29 हे इस्राएल, तँ धन्यको छस्!
याहवेहद्वारा बचाइएको,
तँजस्तो अरू जाति को छ र?
“उहाँ तेरो ढाल र सहायक,
अनि तेरा महिमित तरवार हुनुहुन्छ।
तेरा शत्रुहरू तेरो सामु डराउनेछन्;
अनि तैँले तिनीहरूका अल्गा स्थानहरू टेक्नेछस्।”