2
ख्रीष्टमा जीवित पारिएका
1 तिमीहरू आफ्ना अपराधहरू र पापहरूमा मरेका थियौ, 2 जुन पापहरूमा तिमीहरू जिउने गर्दथ्यौ; जब तिमीहरू यस संसारको मार्गअनुसार र आकाशको राज्यको शासकअनुसार पछ्याउँथ्यौ, अहिले त्यो आत्माले अनाज्ञाकारीहरूका जीवनमा काम गरिरहेको छ। 3 हामीहरू सबै पनि एक समयमा तिनीहरूजस्तै हाम्रा शारीरिक लालसाहरू पूरा गर्दै यसका अभिलाषाहरू र विचारहरूलाई पछ्याउँदै तिनीहरूका बीचमा जिउने गर्दथ्यौँ; अनि बाँकी मानिसहरूजस्तै हामीहरू पनि स्वभावैले क्रोधका सन्तान थियौँ। 4 तर कृपाका धनी परमेश्वरले हामीप्रतिको उहाँको महान् प्रेमका कारण, 5 हामी अपराधमा मरेका अवस्थाबाट हामीहरूलाई ख्रीष्टसँग जीवित पार्नुभयो—परमेश्वरको अनुग्रहबाट नै तिमीहरूले मुक्ति पाएका छौ। 6 अनि परमेश्वरले हामीलाई ख्रीष्टसँगै जीवित पार्नुभयो र ख्रीष्ट येशूसँगै स्वर्गीय स्थानहरूमा बसाल्नुभयो, 7 ताकि आउँदा युगहरूमा उहाँको अनुग्रहको अतुलनीय सम्पत्ति ख्रीष्ट येशूमा हामीलाई गर्नुभएको दयामा देखाउन सक्नुभएको होस्। 8 किनकि तिमीहरूले विश्वासद्वारा अनुग्रहले मुक्ति पाएका छौ; अनि यो मुक्ति तिमीहरू आफैँबाट आएको होइन, तर यो परमेश्वरको वरदान हो। 9 यो कर्महरूबाट होइन, नत्रता मानिसले घमण्ड गर्नेछ। 10 किनकि हामी परमेश्वरद्वारा अगिबाटै असल काम गर्नका लागि ख्रीष्ट येशूमा सृजना गरिएका हौँ, जुन परमेश्वरले अगिबाटै हामीद्वारा गरिनका लागि तयार गर्नुभएको थियो।
ख्रीष्टमा एकता
11 यसकारण याद राख, अगिबाटै तिमीहरू, जो जन्मँदै गैरयहूदीहरू हौ, जसलाई आफ्नो “खतना” (जुन शरीरमा मानिसका हातहरूद्वारा गरिन्छन्) भएकाहरूले “बेखतनाका” भनिन्थ्यो। 12 सम्झना राख, त्यस बेला तिमीहरू ख्रीष्टदेखि अलग, इस्राएलका नागरिक हकबाट वञ्चित थियौ; अनि प्रतिज्ञाका करारहरूबाट बिरानो, आशा नभएका र यस संसारमा परमेश्वररहित थियौ। 13 तर तिमीहरू, जो ख्रीष्ट येशूमा बितेको एक समयमा टाढा थियौ, अहिले ख्रीष्टको रगतद्वारा*ख्रीष्टको रगत ले उहाँको क्रूसमा भएको मृत्यु लाई जनाउँदछ। नजिक पारिएका छौ।
14 किनकि उहाँ स्वयम् हाम्रो शान्ति हुनुहुन्छ, जसले यहूदी र गैरयहूदी बीचको विभाजन ल्याउने शत्रुताको पर्खाललाई भत्काइदिनुभएको छ; अनि दुवैलाई एउटै बनाउनुभएको छ। 15 उहाँले आफ्नै शरीरमा व्यवस्थाका आज्ञा र विधिहरू खारेज गर्नुभयो। उहाँ आफैँमा यी दुई समूहबाट एउटा नयाँ मानिस सृष्टि गर्ने र यसरी नै शान्ति स्थापित गर्ने उहाँको उद्देश्य थियो। 16 अनि यही एउटा शरीरमा क्रूसद्वारा दुवै समूहलाई परमेश्वरमा मिलाप गराएर उहाँले तिनीहरूका शत्रुतालाई अन्त्य गर्नुभयो। 17 उहाँले आएर तिमी टाढा भएका र नजिक भएकाहरूलाई शान्तिको सन्देश प्रचार गर्नुभयो। 18 किनकि ख्रीष्टद्वारा हामी दुवैले एउटै आत्मामा पिताकहाँ पुग्न पाएका छौँ।
19 फलस्वरूप तिमीहरू अब विदेशी र अपरिचित होइनौ, तर परमेश्वरका जनहरूसँग सङ्गी नागरिक र उहाँको घरानाका सदस्यहरू भएका छौ। 20 त्यो घराना प्रेरितहरू र अगमवक्ताहरूका जगमाथि बसालिएको छ; अनि जसको मुख्य ढुङ्गो ख्रीष्ट येशू आफैँ हुनुहुन्छ। 21 उहाँमा नै पूरै भवन ठिकसँग जोडिएको हुन्छ र प्रभुमा एक पवित्र मन्दिर बन्नलाई बढ्दैजान्छ। 22 अनि उहाँमा तिमीहरू पनि आत्माद्वारा वासस्थान बन्नलाई एकसाथ निर्माण भइरहेका छौ, जसमा परमेश्वर आफ्नो आत्माद्वारा बास गर्नुहुन्छ।