11
जेठाहरूमाथि विपत्ति
फेरि याहवेहले मोशालाई भन्‍नुभयो, “म फारो र इजिप्टमाथि अझै एउटा विपत्ति ल्याउनेछु। त्यसपछि त्यसले तिमीहरूलाई जान दिनेछ; जब त्यसले जान दिनेछ, त्यसले तिमीहरूलाई पूर्ण रूपले निकालिदिनेछ। मानिसहरूलाई भन्, कि पुरुष र स्त्री दुवैले आफ्ना छिमेकीहरूसँग चाँदी र सुनका चीजहरू मागून्।” (याहवेहले इजिप्टियनहरूलाई यी मानिसहरूप्रति दयालु बनाउनुभयो; मोशा आफूले पनि फारो र तिनका अधिकारीहरू र मानिसहरूद्वारा अति मान-सम्मान पाएका थिए।)
यसकारण मोशाले भने, “याहवेह यसो भन्‍नुहुन्छ: ‘मध्यराततिर म इजिप्टको बीचबाट भएर जानेछु। इजिप्टमा भएका प्रत्येक जेठो छोरा मर्नेछ। सिंहासनमा बस्‍ने फारोको जेठा छोरादेखि लिएर, जाँतो पिँध्ने दासीको जेठा छोरासम्म, र पशुहरूको पनि पहिले जन्मिएका प्रत्येक सबै मर्नेछन्। इजिप्टभरि चर्को विलाप हुनेछ—जुन पहिले कहिल्यै भएको थिएन, न त फेरि पछि यस्तो विलाप कहिल्यै हुनेछ; तर इस्राएलीहरूका बीचमा भने कुनै मानिसलाई अथवा पशुलाई एउटा कुकुरले पनि भुक्नेछैन।’ तब तिमीहरूले जान्‍नेछौ कि याहवेहले इजिप्ट र इस्राएलको बीचमा भिन्‍नता राख्नुहुन्छ। तेरा यी सबै अधिकारीहरू मकहाँ आएर मलाई दण्डवत् गर्दै यसो भन्दै आउनेछन्, ‘तपाईं र तपाईंका पछि लाग्ने मानिसहरू जानुहोस्!’ त्यसपछि म निस्किजानेछु।” तब अत्यन्त क्रोधित भएर मोशा फारोकहाँबाट गइहाले।
याहवेहले मोशालाई भन्‍नुभएको थियो, “इजिप्टमा मेरा अद्‌भुत कार्यहरू बढ्दै जाऊन् भनेर फारोले तेरो कुरा सुन्‍न इन्कार गर्नेछ।” 10 मोशा र हारूनले फारोको अगि यी सबै अद्‌भुत कार्यहरू गरे, तर याहवेहले फारोको हृदय कठोर पारिदिनुभयो, र तिनले इस्राएलीहरूलाई आफ्नो देशबाट जान दिएनन्।