9
मूर्तिपूजकहरूको न्याय
1 तब मैले परमेश्वरले चर्को सोरले बोलाइरहनुभएको सुनेँ, “सहरमा न्याय गर्न नियुक्त भएकाहरूलाई उनीहरूका हातमा हतियारसहित यहाँ नजिक ल्याओ।” 2 तब मैले छ जना मानिसहरूलाई माथिल्लो मूलढोका उत्तर दिशातिर फर्केकाबाट हरेकले आफ्ना हातमा घातक हतियार बोकेर आइरहेका देखेँ। तिनीहरूसित सुती कपडा लगाएको र कम्मरमा मसीदानी भिरेको एक जना मानिस थिए। तिनीहरू मन्दिरको भित्री भागमा आए, र काँसाको वेदीको छेउमा उभिए।
3 तब इस्राएलका परमेश्वरको महिमा भएको ठाउँ करूबहरूदेखि माथि उठ्यो र मन्दिरको सँघारमा पुग्यो। त्यसपछि याहवेहले सुती कपडा लगाउने र कम्मरमा लेख्ने सामग्रीको थैलो बोकेका मानिसलाई आफ्नो नजिक बोलाउनुभयो, 4 र तिनलाई भन्नुभयो, “यरूशलेम सहरको चारैतिर जा, र त्यसमा गरिएका घिनलाग्दा कामहरूका निम्ति दुःखी हुने र विलाप गर्ने सबैको निधारमा एउटा चिन्ह लगाइदे।”
5 मैले सुनिरहेको बेला उहाँले छ जना मानिसहरूलाई भन्नुभयो, “सुती कपडा लगाउने त्यस मानिसको पछि-पछि सहरमा जाओ, र निधारमा चिन्ह नभएका मानिसहरूलाई कुनै दयामाया नदेखाई मार्नू। 6 वृद्धहरू, युवक-युवतीहरू, स्त्रीहरू र बालबालिकाहरूलाई मार्नू। तर निधारमा त्यो चिन्ह हुने कसैलाई पनि नछोओ। मेरै पवित्रस्थानबाट नै सुरु गर।” यसकारण तिनीहरूले मन्दिरको सामु भएका वृद्धहरूबाट नै सुरु गरे।
7 तब उहाँले तिनीहरूलाई भन्नुभयो, “जाओ, मन्दिरलाई अशुद्ध पार, र चोकहरूलाई मरेका लासहरूले भरिदेओ!” यसकारण ती छ जना मानिसहरू निस्केर गए, र सहरका चारैतिर मानिसहरूलाई मार्न थाले। 8 तिनीहरूले मानिसहरूलाई मारिरहँदा म एकलै छोडिएको थिएँ, तब मैले जमिनमा घोप्टो परी रुँदै भनेँ, “हे, प्रभु याहवेह! तपाईंको क्रोध यरूशलेममाथि पोखाउनुहुँदा के तपाईं इस्राएलका बाँकी रहेका सबै मानिसहरूलाई नाश गर्नुहुनेछ?”
9 उहाँले मलाई भन्नुभयो, “इस्राएल र यहूदाका मानिसहरूका पाप अत्यन्तै धेरै छन्; देश रक्तपातले र सहर अन्यायले भरिएको छ। तिनीहरू भन्छन्, ‘याहवेहले देशलाई त्याग्नुभएको छ; याहवेहले देख्नुहुन्न।’ 10 यसकारण म तिनीहरूलाई दयाको नजरले हेर्नेछैनँ, अथवा तिनीहरूलाई छोड्नेछैनँ; तर म तिनीहरूले गरेका कामको बदला तिनीहरूकै शिरमाथि खन्याइदिनेछु।”
11 तब त्यो सुती कपडा लगाएको र कम्मरमा मसीदानी भिरेको मानिस फर्किआएर यसो भने, “तपाईंले मलाई आज्ञा गर्नुभएझैँ मैले गरेको छु।”