13
झूटा अगमवक्ताहरूलाई दण्ड
1 याहवेहको वचन मकहाँ आयो: 2 “हे मानिसको छोरा, अहिले अगमवाणी गरिरहेका इस्राएलका अगमवक्ताहरूको विरुद्धमा अगमवाणी गर्। आफ्नै कल्पनाबाट अगमवाणी गर्नेहरूलाई भन्: ‘याहवेहको वचन सुन!’ 3 प्रभु याहवेह यसो भन्नुहुन्छ: धिक्कार ती मूर्ख*अथवा दुष्ट अगमवक्ताहरूलाई, जसले आफ्नै आत्माका कुराहरू गर्छन् र केही पनि देखेका छैनन्!” 4 हे इस्राएल, तिमीहरूका अगमवक्ताहरू भत्केका ठाउँहरूमा बस्ने स्यालहरूजस्ता छन्। 5 तिमीहरू इस्राएलका मानिसहरूका भत्केका पर्खाल मर्मत गर्न धाँदोहरूमा गएनौ, न त याहवेहको दिनको लडाइँमा खडा रहन सकियोस् भनी बार बनायौ। 6 तिनीहरूका दर्शनहरू झूटा र तिनीहरूका जोखनाहरू छल हुन्। यद्यपि याहवेहले तिनीहरूलाई पठाउनुभएकै होइन, तर पनि तिनीहरू भन्छन्, “याहवेह घोषणा गर्नुहुन्छ;” अनि तिनीहरूका वचन उहाँले पूरा गर्नुभएको होस् भनी तिनीहरू आशा गर्दछन्। 7 मैले नबोले तापनि “याहवेह घोषणा गर्नुहुन्छ,” भनेर तिमीहरूले भन्दछौ, तब के तिमीहरूले झूटो दर्शन देखेका र झूटो जोखना उच्चारण गरेका होइनौ र?
8 “ ‘यसकारण प्रभु याहवेह यसो भन्नुहुन्छ: तिमीहरूका झूटा वचनहरू र झूटा दर्शनहरूको कारण म तिमीहरूको विरुद्धमा छु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। 9 मेरो हात झूटो दर्शन देख्ने र झूटो जोखना बताउने अगमवक्ताहरूको विरुद्धमा हुनेछ। तिनीहरू मेरा मानिसहरूको सभामा सहभागी हुनेछैनन्, न त इस्राएलको घरानाको नामावलीमा लेखिनेछन्, न त तिनीहरू इस्राएल देशमा प्रवेश गर्नेछन्। तब तिमीहरूले म नै प्रभु याहवेह हुँ भनी जान्नेछौ।
10 “ ‘किनकि तिनीहरूले मेरा मानिसहरूलाई शान्ति नै नहुँदासमेत, “तिमीहरूलाई शान्ति हुनेछ” भनेर बहकाएका छन्; अनि तिनीहरूले एउटा अति कमजोर पर्खाल बनाउँछन्, र त्यसलाई सेतो चून पोतेर छोप्छन्; 11 यसकारण त्यो सेतो चून पोत्नेहरूलाई त्यो पर्खाल ढल्न लागेको छ भनी भनिदे; पानीको बाढी आउनेछ र म प्रचण्ड रूपले असिना पठाइदिनेछु; अनि प्रचण्ड आँधी चल्नेछ। 12 जब त्यो पर्खाल ढल्नेछ, तब के मानिसहरूले तिमीहरूलाई यसो भनेर सोध्नेछैनन्, ‘तिमीहरूले पर्खालमा पोतेको सेतो चून कहाँ छ?”
13 “ ‘यसकारण प्रभु याहवेह यसो भन्नुहुन्छ: मेरो क्रोधमा म प्रचण्ड बतास छोडिदिनेछु; अनि मेरो रिसमा असिना र विनाशकारी पानी बाढीझैँ पर्खालमाथि खस्नेछन्। 14 म तिमीहरूले सेतो चूनले पोतेको पर्खाललाई भताभुङ्ग पारिदिनेछु; अनि त्यसलाई जमिनमै मिलाइदिनेछु, ताकि त्यसको जगसमेत देखा परोस्। जब त्यो सहर ढल्नेछ, र तिमीहरू त्यसैमा नष्ट हुनेछौ; अनि म नै याहवेह हुँ भनी तिमीहरूले जान्नेछौ। 15 यसरी म आफ्नो क्रोध त्यस पर्खालको विरुद्धमा र पर्खालमा त्यो चूनले पोत्नेहरूका विरुद्धमा पोखाउनेछु। म तिमीहरूलाई भन्नेछु, “त्यो पर्खाल अब छैन, र त्यसलाई सेतो चूनले पोत्नेहरू पनि छैनन्; 16 इस्राएलका ती अगमवक्ताहरू, जसले यरूशलेमको निम्ति अगमवाणी गरे, र त्यस सहरको निम्ति शान्तिको दर्शन देखे; तर त्यहाँ शान्ति नै थिएन, प्रभु याहवेह भन्नुहुन्छ।” ’
17 “अब हे मानिसको छोरा, तेरो अनुहार तिनीहरूका आफ्नै कल्पनाको आधारमा अगमवाणी गर्ने तेरा मानिसहरूका छोरीहरूतिर तिनीहरूको विरुद्धमा फर्का, र तिनीहरूको विरुद्धमा अगमवाणी गर्; 18 अनि तिनीहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: धिक्कार ती स्त्रीहरूलाई, जसले तिनीहरू सबैका नाडीहरूमा जादुका बुटी बाँधिदिन्छन्; अनि मानिसहरूलाई पासोमा पार्न तिनीहरूका शिरमा लगाउने विभिन्न प्रकारका लामा-लामा घुम्टाहरू बनाउँछन्। के तिमीहरू मेरा मानिसहरूको जीवनलाई पासोमा पारेर आफ्ना जीवनलाई जोगाइराख्छौ?” 19 तिमीहरूले एक मुट्ठी जौ र रोटीका टुक्राहरूको निम्ति मलाई मेरा मानिसहरूका बीचमा अनादर गरेका छौ। झूटो सुन्न मन पराउने मेरा मानिसहरूलाई झूटो बोलेर तिमीहरूले ती मर्नुनपर्ने मानिसहरूलाई मारेका छौ, र मर्नुपर्नेहरूलाई चाहिँ जीवित छोडेका छौ।
20 “ ‘यसकारण प्रभु याहवेह यसो भन्नुहुन्छ: म तिमीहरूका जादुका बुटीहरूको विरुद्धमा छु, जसको कारण तिमीहरूले मानिसहरूलाई चराहरूलाई झैँ पासोमा पार्छौ, र म ती बुटीहरू तिमीहरूका नाडीबाट चुँडाइदिनेछु; तिमीहरूले चराहरूलाई झैँ पासोमा पारेका मानिसहरूलाई म छुटकारा दिनेछु। 21 म तिमीहरूका घुम्टाहरू च्यातिदिनेछु, र मेरा मानिसहरूलाई तिमीहरूका हातबाट छुटाउनेछु; अनि तिनीहरू फेरि कहिल्यै पनि तिमीहरूको शक्तिको शिकार हुनेछैनन्। तब म नै याहवेह हुँ भनी तिमीहरूले जान्नेछौ। 22 किनकि मैले तिनीहरूमाथि शोक नल्याए तापनि तिमीहरूले धर्मी मानिसहरूलाई निराश पारिदिएका छौ; किनकि तिमीहरूले दुष्टहरूलाई आफ्ना दुष्ट चालहरूबाट नफर्कोस् भनेर उत्साह दिन्छौ र तिनीहरूका प्राण बचाउँछौ। 23 यसकारण अब फेरि तिमीहरूले कहिल्यै पनि झूटो दर्शन देख्नेछैनौ, न त जोखना हेर्नेछौ। म आफ्ना मानिसहरूलाई तिमीहरूका हातबाट छुटाउनेछु। तब म नै याहवेह हुँ भनी तिमीहरूले जान्नेछौ।’ ”