23
दुई व्यभिचारिणी दिदीबहिनीहरू
याहवेहको वचन मकहाँ आयो: “हे मानिसको छोरा, दुई स्त्रीहरू थिए, जो एउटै आमाका छोरीहरू थिए। तिनीहरू इजिप्टमा वेश्या भए। तिनीहरूको युवावस्थादेखि नै वेश्यावृत्तिमा लागे। त्यस देशमा तिनीहरूका स्तन माडिए र तिनीहरूका कुमारी अवस्थाका स्तन मुसारिए। जेठीको नाम ओहोला राखिएको थियो, र त्यसकी बहिनीको नाम ओहोलीबा थियो। तिनीहरू मेरा थिए र तिनीहरूले छोराछोरीहरू जन्माए। ओहोला सामरिया र ओहोलीबा यरूशलेम हो।
“ओहोला मेरी पत्नी भए तापनि वेश्यावृत्तिको काम गरी; अनि त्यो आफ्ना प्रेमीहरूको कामुकतामा वेश्यावृत्ति गरिरही—अश्शूरका वीर योद्धाहरूको मोहमा परी। निलो रङ्गका वस्त्र पहिरेका राज्यपालहरू, सेनापतिहरू, सबै सुन्दर-सुन्दर जवान केटाहरू र घोडामा सवारहरू थिए। त्यसले आफूलाई अश्शूरका सबै विशिष्‍ट छानिएका सेनाहरूकहाँ वेश्याको रूपमा दिई र आफू मोहित भएका सबै मानिसहरूका सबै मूर्तिहरूसित आफूलाई अशुद्ध पारी। न त त्यसले इजिप्टबाट सुरु गरेकी वेश्यावृत्तिलाई छोडी। त्यसको युवावस्थामा मानिसहरू त्यससँग सुते; तिनीहरूले त्यसको कुमारी स्तन माडेका थिए र तिनीहरूका कामुकता त्यसमाथि पोखाएका थिए।
“यसकारण मैले त्यसलाई त्यसका प्रेमीहरू, अर्थात् अश्शूरहरूकहाँ सुम्पिदिएँ, जसप्रति त्यो कामुकताले मोहित भएकी थिई। 10 तिनीहरूले ओहोलालाई पूर्ण रूपमा नाङ्गो पारिदिए, र त्यसका छोराछोरीहरूलाई कब्जा गरे; अनि त्यसलाई चाहिँ तरवारले मारे। त्यो स्त्रीहरूको बीचमा गिल्‍लाको पात्र भई, र त्यसलाई दण्ड दिइयो।
11 “त्यसकी बहिनी ओहोलीबाले त्यो कुरा देखी, तब आफ्नो कामुकता र वेश्यावृत्तिमा त्यो आफ्नी दिदी सामरियाभन्दा अझ भ्रष्‍ट भई। 12 त्यो पनि अश्शूरहरूको मोहमा परी, जो पूरा सैनिक पोशाक लगाएका योद्धाहरू, अश्शूरका राज्यपालहरू, सेनापतिहरू, घोडसवारहरू र सबै आकर्षक जवान मानिसहरू थिए। 13 तब मैले देखेँ, त्यसले पनि आफूलाई अपवित्र पारी; ती दुवै दिदीबहिनी एउटै चालमा हिँडे।
14 “तर ओहोलीबाले झन्-झन् आफ्नो वेश्यावृत्तिको कामलाई बढाई। त्यसले भित्तामा अङ्कित गरिएका मानिसहरू, रातो रङ्गमा बेबिलोनीहरूका*अथवा कल्दीहरू चित्र रङ्गिएका देखी, 15 जसका कम्मरका वरिपरि पेटी बाँधिएका र तिनीहरूका शिरमा बाँधिएका फेटाहरू, जो सबै बेबिलोनी रथका अधिकारीहरूजस्ता देखिन्थे; ती कल्दी देशवासीहरू थिए। 16 ओहोलीबाले तिनीहरूलाई देख्नेबित्तिकै त्यो तिनीहरूको मोहमा परी र त्यसले कल्दीमा तिनीहरूकहाँ दूतहरू पठाई। 17 तब बेबिलोनीहरू त्यसकहाँ आए, र तिनीहरू प्रेमको ओछ्यानमा सहवासको लागि आए; अनि तिनीहरूका कामुकतामा तिनीहरूले त्यसलाई अशुद्ध पारे। अनि तिनीहरूद्वारा अशुद्ध पारिएपछि त्यसको मन तिनीहरूबाट टाढियो। 18 जब त्यसले खुल्‍लमखुल्‍ला वेश्याकर्म गरी र आफ्नो नग्न शरीर देखाई, तब म घृणाले त्यसदेखि अलग भएँ, जसरी म त्यसकी दिदीबाट अलग भएको थिएँ। 19 तर त्यसले आफ्नो युवावस्थाका दिनहरू सम्झना गरेर, जुन दिनहरूमा त्यसले इजिप्टमा वेश्याको काम गरेकी थिई, त्यसले आफ्ना वेश्याकर्महरू झन्-झन् बढाई। 20 त्यहाँ त्यो आफ्ना प्रेमीहरूप्रति मोहित भई, जसको लिङ्ग गधाहरूको लिङ्गजस्तो र जसको वीर्य घोडाहरूको वीर्यजस्तो थियो। 21 यसरी तैँले तेरो युवावस्थाको कामुकताको तिर्सना गरिस्, जब इजिप्टमा तेरा स्तनहरू माडिएका र तेरा कलिला स्तनहरू मुसारिएका थिए।
22 “यसकारण हे ओहोलीबा, प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म तेरा प्रेमीहरूलाई तेरो विरुद्धमा सुर्‍याउनेछु; तेरा प्रेमीहरू जसबाट तँ घृणाले अलग भइस्; म तिनीहरूलाई तेरो विरुद्धमा चारैतिरबाट ल्याउनेछु; 23 अनि बेबिलोनीहरू र सबै कल्दीहरू, पेकोदका मानिसहरू, शोअ र कोअका मानिसहरू, तिनीहरूसित भएका सबै अश्शूरीहरू, आकर्षक जवान मानिसहरू, राज्यपालहरू र सेनापतिहरू, रथका अधिकारीहरू र उच्‍च पदाधिकारीहरू, सबै घोडसवार गर्नेहरू सबैलाई ल्याउनेछु। 24 तिनीहरू तेरो विरुद्धमा हतियारहरू, रथहरू, गाडाहरू र मानिसहरूको भीड लिएर आउनेछन्; तिनीहरू ठूला र साना ढालहरू र टोप लगाएर तेरो चारैतिर तेरो विरुद्धमा तिनीहरूका स्थान लिएर खडा हुनेछन्। म तँलाई दण्डको निम्ति तिनीहरूका हातमा सुम्पिदिनेछु; अनि तिनीहरूले तँलाई तिनीहरूकै नापअनुसारको दण्ड दिनेछन्। 25 म मेरो डाहको रिस तेरो विरुद्धमा ल्याउनेछु; अनि तिनीहरूले तँसँग रिसको आगोमा व्यवहार गर्नेछन्। तिनीहरूले तेरा नाक र कान काटिदिनेछन्; अनि तेरा बाँकी छोडिएकाहरू तरवारद्वारा मर्नेछन्। तिनीहरूले तेरा छोराछोरीहरूलाई कब्जा गरेर लैजानेछन्; अनि तेरा बाँकी रहेकाहरू आगोले भस्म हुनेछन्। 26 तिनीहरूले तेरा वस्त्रहरू खोलेर नाङ्गै पार्नेछन् र तेरा सुन्दर-सुन्दर गहनाहरू लैजानेछन्। 27 यसरी म तैँले इजिप्टमा सुरु गरेको तेरो कामुकता र वेश्यावृत्ति रोक्नेछु। तैँले यी कुराहरूका चाहना गर्नेछैनस्, अथवा इजिप्टलाई कहिल्यै याद गर्नेछैनस्।
28 “किनकि प्रभु याहवेह यसो भन्‍नुहुन्छ: मैले तँलाई तिनीहरूकहाँ सुम्पन लागेको छु, जसलाई तँ घृणा गर्छेस्, जससँग तँ घृणामा अलग भएकी थिइस्। 29 तिनीहरूले तँसित घृणाको व्यवहार गर्नेछन् र तैँले जुन कुराको निम्ति मेहनत गरेकी थिइस्, त्यो सबै कुरा तिनीहरूले लैजानेछन्। तिनीहरूले तँलाई नाङ्गै छोड्नेछन्; अनि तेरो वेश्यावृत्तिको नाङ्गोपना प्रकट हुनेछ। तेरो कामुकता र वेश्यावृत्तिको कारणले गर्दा, 30 यो तँमाथि ल्याइएका हुन्; किनकि तैँले जाति-जातिहरूका निम्ति उत्कट इच्छा गरिस् र आफूलाई तिनीहरूका मूर्तिहरूसित अपवित्र पारिस्। 31 तँ आफ्नी दिदी ओहोलाको बाटोमा हिडेकी छस्; यसैकारण म त्यसको दण्डको कचौरा तेरो हातमा दिनेछु।
32 “प्रभु याहवेह यसो भन्‍नुहुन्छ:
“तैँले तेरो दिदीको दण्डको कचौरा पिउनेछेस्,
ठूलो र गहिरो दण्डको कचौरा;
यसले गिल्‍ला र अपमान ल्याउनेछ;
किनकि कचौरामा धेरै मात्रामा अटाउँछ।
33 तँ दण्डको कचौराले मात्तिनेछेस् र दुःख-कष्‍टले भरिनेछेस्,
तेरी दिदी सामरियाको दण्डको कचौरा,
डरलाग्दो सर्वनाश र उजाड अवस्थाको कचौरा हो।
34 तैँले कचौराबाट रित्तो नभएसम्म पिउनेछेस्,
र तैँले त्यो कचौरालाई टुक्रा-टुक्रा पार्नेछेस्;
अनि आफ्ना स्तनहरू लुछ्नेछेस्।
मैले भनेको हुँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
 
35 “यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: तैँले मलाई बिर्सेको कारण र मलाई आफ्नो पीठ फर्काएको कारण, तैँले आफ्नो कामुकता र वेश्यावृत्तिको प्रतिफल भोग्नैपर्छ।”
36 याहवेहले मलाई भन्‍नुभयो: “हे मानिसको छोरा, के तैँले ओहोला र ओहोलीबाको न्याय गर्नेछस्? त्यसकारण तिनीहरूले गरेका तिनीहरूका घिनलाग्दा कामहरू बताइदे; 37 किनकि तिनीहरूले व्यभिचार गरेका छन्, र तिनीहरूको हातमा रगत छ। तिनीहरूले आफ्ना मूर्तिहरूसँग व्यभिचार गरेका छन्; तिनीहरूले मेरा निम्ति जन्माएका आफ्ना सन्तानलाई समेत ती मूर्तिहरूको भोजनको रूपमा बलिदान गरेका छन्। 38 तिनीहरूले मसँग यस्तो पनि गरेका छन्: तिनीहरूले त्यही दिन मेरो पवित्रस्थानलाई अशुद्ध पारेका छन् र मेरो शब्बाथहरूलाई अपवित्र पारेका छन्। 39 तिनीहरूले आफ्ना सन्तानलाई तिनीहरूका मूर्तिहरूका निम्ति बलिदान गरे; त्यही दिनमा मेरो पवित्रस्थानभित्र पसेर तिनीहरूले त्यसलाई अशुद्ध पारेका छन्। तिनीहरूले मेरो भवनभित्र यसो गरेका छन्।
40 “तिनीहरूले टाढाबाट आएका मानिसहरूका निम्ति दूतहरूसमेत पठाए, र तिनीहरू आइपुगेपछि तैँले तिनीहरूका निम्ति नुहाइधुवाइ गरिस्; आफ्ना आँखामा गाजल लगाइस् र गरगहना लगाएर आफूलाई सिँगारिस्। 41 तँ एउटा टेबुलको सामु राखिएको सुन्दर सोफामा बसिस्, जुन टेबुलमाथि तैँले मेरो धूप र जैतुनको तेल राखिस्।
42 “त्यस टेबुलको चारैतिर मोजमस्ती गर्ने मानिसहरूको भीड थियो; मतवाला मानिसहरूसित अरू धेरै साधारण मानिसहरू पनि मरुभूमिबाट ल्याइएका थिए; अनि तिनीहरूले त्यस स्त्रीको र त्यसकी बहिनीका पाखुरामा बालाहरू र तिनीहरूका शिरमा सुन्दर-सुन्दर मुकुटहरू लगाइदिए। 43 तब मैले व्यभिचारद्वारा गलिसकेकी एउटी स्त्रीको बारेमा यसो भनेँ, ‘अब तिनीहरूले त्यसलाई वेश्याको रूपमा प्रयोग गरून्; किनकि त्यो वेश्या नै हो।’ 44 अनि तिनीहरू त्यससित सुते। जसरी मानिसहरू वेश्याहरूसँग सुत्छन्, त्यसरी नै तिनीहरू ती कामुक स्त्रीहरू, ओहोला र ओहोलीबासित सुते। 45 तर धर्मी न्यायकर्ताहरूले तिनीहरूलाई व्यभिचारी र रक्तपात गर्ने स्त्रीहरूले पाउने दण्ड दिनेछन्; किनकि तिनीहरू व्यभिचारिणी स्त्रीहरू हुन् र रगत तिनीहरूका हातमा छ।
46 “प्रभु याहवेह यसो भन्‍नुहुन्छ: तिनीहरूको विरुद्धमा एउटा भीड ल्याओ; अनि तिनीहरूलाई लुट र आतङ्कको निम्ति सुम्पिदेओ। 47 भीडले तिनीहरूलाई ढुङ्गाले हान्‍नेछन्, र तिनीहरूका तरवारले तिनीहरूलाई काटेर ढालिदिनेछन्; सेनाहरूले ओहोला र ओहोलीबाहरूका सन्तानलाई मार्नेछन्; अनि तिनीहरूका घरहरू जलाइदिनेछन्।
48 “यसरी म देशमा भएको कामुकताको अन्त्य गरिदिनेछु, र तेरो कामुकताको अनुकरण नगर्नू भन्‍ने चेतावनी सबै स्त्रीहरूले पाऊन्। 49 तैँले आफ्नो कामुकताको दण्ड पाउनेछेस्, र तेरो मूर्तिपूजाका पापको परिणाम भोग्नेछेस्। तब तैँले म नै प्रभु याहवेह हुँ भनी जान्‍नेछस्।”

*23:14 अथवा कल्दीहरू