3
आफ्नी पत्नीसित होशेको पुनर्मिलन
याहवेहले मलाई भन्‍नुभयो, “गएर तेरी पत्नी गोमेरलाई फेरि प्रेमभाव देखा; त्यसलाई अर्को मानिसले प्रेम गरेको भए तापनि वा त्यो व्यभिचारिणी भए तापनि त्यसलाई प्रेम गर्। जसरी तिनीहरू अरू देवताहरूतिर फर्किए, र तिनीहरूलाई चढाएको किसमिसको खानेकुरा मन पराए, तर पनि याहवेहले इस्राएलीहरूलाई प्रेम गर्नुभयो, त्यसरी नै तैँले त्यसलाई प्रेम गर्।”
यसकारण मैले गोमेरलाई पन्ध्र शेकेल*लगभग 170 ग्राम चाँदी, एक र आधा होमेरलगभग 195 किलो जौ दिएर किनेँ। तब मैले त्यसलाई भनेँ, “तिमी मसँग धेरै दिनसम्म बस्‍नुपर्नेछ; तिमीले वेश्यावृत्ति नगर्नू, र अरू मानिसहरूसँग घनिष्‍ठ सम्बन्ध नराख्नू; तब म पनि तिमीसँग त्यस्तै व्यवहार गर्नेछु।”
किनकि इस्राएलीहरू धेरै दिनसम्म राजा वा शासक, बलिदान वा पवित्र ढुङ्गा, एपोद वा घर देवताविना रहनेछन्। त्यसपछि इस्राएलका मानिसहरू फर्कनेछन्; अनि याहवेह तिनीहरूका परमेश्‍वरलाई र दावीद तिनीहरूका राजालाई खोज्नेछन्। त्यसपछि तिनीहरूले याहवेहको भय मान्‍नेछन् र अन्त्यका दिनहरूमा उहाँबाट आशिष् पाउन आउनेछन्।

*3:2 लगभग 170 ग्राम

3:2 लगभग 195 किलो