27
इस्राएलको छुटकारा
त्यस दिन
याहवेहले आफ्नो कठोर,
उहाँको डरलाग्दो, महान् र शक्तिशाली तरवारले
त्यस घस्रेर हिँड्ने सर्प लिव्यातनलाई
दण्ड दिनुहुनेछ;
त्यो समुद्रमा गुँडुलेर बस्‍ने लिव्यातनलाई मार्नुहुनेछ।
त्यस दिन,
“फलवन्त दाखबारीको विषयमा गीत गाओ:
म, याहवेहले त्यसको हेरचाह गर्छु;
म त्यसमा निरन्तर पानी हाल्छु।
त्यसलाई कसैले हानि नगरोस् भनेर
म त्यसलाई दिनरात पहरा दिन्छु।
म रिसाएको छैनँ।
यदि त्यहाँ सिउँडी र काँडाहरू मलाई रोक्न उम्रेका भए त!
म तिनीहरूका विरुद्ध लडाइँ गर्न जाइलाग्नेथिएँ;
म तिनीहरूलाई जलाउनेथिएँ।
त्यसैले तिनीहरू शरणका निम्ति मकहाँ आऊन्;
तिनीहरूले मसित मिलाप गरून्,
हो, तिनीहरूले मसित मिलाप गरून्।”
 
आउँदा दिनहरूमा याकोबले जरा हाल्नेछ,
इस्राएल पलाउनेछ, र त्यो फुल्नेछ;
अनि सारा संसार त्यसको फलद्वारा भरिइनेछन्।
 
के त्यसलाई हिर्काउनेहरूलाई याहवेहले हिर्काउनुभएझैँ,
उहाँले त्यसलाई हिर्काउनुभएको छ?
के त्यसलाई मार्नेहरू मारिएझैँ,
त्यो मारिएको छ?
युद्ध र निर्वासनद्वारा तपाईं त्यससित युद्ध गर्नुहुन्छ,
पूर्वीय बतास चलेको दिनझैँ,
आफ्नो प्रचण्ड सासद्वारा उहाँले तिनीहरूलाई हटाइदिनुहुन्छ।
तब यसद्वारा याकोबको अपराधको प्रायश्‍चित हुनेछ;
अनि यसरी त्यसको पाप हटाएको सम्पूर्ण परिणाम यही हुनेछ:
जब उहाँले वेदीका ढुङ्गाहरूलाई
खरी ढुङ्गाझैँ धुलोपिठो पार्नुहुन्छ;
त्यहाँ कुनै अशेरा देवीको खम्बा
अथवा धूपको वेदी खडा हुनेछैन।
10 सुरक्षित सहर निर्जन भयो,
निर्जन र त्यागिएका वासस्थान उजाड भूमिझैँ भयो;
त्यहाँ बाछाहरू चर्छन्,
त्यहाँ तिनीहरू विश्राम गर्छन्;
तिनीहरूले त्यसका हाँगाहरू लुछेर नाङ्गा पारिदिन्छन्।
11 त्यसका हाँगाहरू सुक्छन् र ती भाँचिन्छन्;
अनि स्त्रीहरूले आएर ती आगो सल्काउने काममा प्रयोग गर्छन्।
किनकि यो एउटा निर्बुद्धि जाति हो;
यसकारण तिनीहरूलाई बनाउनुहुनेको केही दया तिनीहरूप्रति छैन;
तिनीहरूका सृष्‍टिकर्ताले तिनीहरूमाथि निगाह राख्नुहुन्‍न।
12 त्यस दिन याहवेहले बग्दै गरेको यूफ्रेटिसदेखि इजिप्टको नदीसम्म झाँट्नुहुनेछ; अनि हे इस्राएलीहरू हो, तिमीहरू एक-एक गरी भेला गरिनेछौ। 13 त्यस दिन ठूलो तुरही बज्नेछ। अश्शूरमा नष्‍ट हुनेहरू र इजिप्टमा निर्वासित भएकाहरू आएर यरूशलेममा पवित्र पर्वतमाथि याहवेहलाई आराधना गर्नेछन्।