47
बेबिलोनको पतन
“हे बेबिलोनकी कन्ये छोरी,
तल गएर धुलोमा बस्;
बेबिलोनीहरूकी छोरी,
सिंहासनविना नै भुइँमा बस्।
अब उसो तँ कलिलो र कोमल भनिनेछैनस्।
जाँतो लिएर पिठो पिँध्;
आफ्नो घुम्टो निकाल्।
तेरो फरिया माथि सार्,
नाङ्गो जाँघ नछोपी खोलाहरू तर्।
तेरो नग्नता उघारिनेछ,
र तेरो लाज प्रकट हुनेछ।
म बदला लिनेछु;
एउटैलाई पनि म बाँकी छोड्नेछैनँ।”
 
हाम्रा उद्धारकको नाम सेनाहरूका याहवेह हो।
उहाँ इस्राएलका पवित्र परमेश्‍वर हुनुहुन्छ।
 
“बेबिलोनीहरूकी छोरी,
चुपचाप बस्, अन्धकारभित्र जा;
अब उसो तँलाई
राज्यहरूकी रानी भनिनेछैन।
म आफ्ना मानिसहरूसित रिसाएको थिएँ,
र मैले आफ्नो उत्तराधिकारलाई अशुद्ध तुल्याएँ;
मैले तिनीहरूलाई तेरो हातमा दिएँ,
तर तैँले तिनीहरूलाई दया देखाइनस्;
वृद्धहरूमाथि पनि तैँले
गह्रौँ जुवा लादिदिइस्।
तैँले, ‘म सदाको निम्ति
अनन्तकी रानी भइरहनेछु’ भनिस्;
तर तैँले यी कुराहरू विचार गरिनस्,
अथवा के होला भनी ध्यान दिइनस्।
 
“आफ्नो सुरक्षामा आराम गरिरहने
र आफूलाई, ‘म नै हुँ,
मबाहेक अरू कोही पनि छैन।
म कहिल्यै विधवा हुनेछैनँ,
न त छोराछोरी नै गुमाउनेछु’ भनी ठान्‍ने
हे विलासी, अब सुन्।
यी दुवै कुराहरू, छोराछोरीको वियोग
र विधवापन एकै दिनमा तँमाथि आइपर्नेछ।
तेरा धेरै तन्त्रमन्त्रहरू
र सबै शक्तिशाली टुनामुनाहरू हुँदा-हुँदै पनि
ती तँमाथि पूर्ण रूपले आइपर्नेछन्।
10 तैँले आफ्नो दुष्‍टतामाथि भरोसा राखेकी छेस्,
र ‘मलाई कसैले देख्नेछैन’ भनेकी छेस्।
तैँले आफूलाई, ‘म नै हुँ,
र मबाहेक अरू कोही पनि छैन’ भनेकी छेस्;
तेरो बुद्धि र ज्ञानले तँलाई कुबाटोमा लगेको छ।
11 विपत्ति तँमाथि आइपर्नेछ;
त्यसलाई तैँले हटाउन जान्‍नेछैनस्।
प्रकोप तँमाथि आउनेछ,
जसलाई तैँले मोल तिरेर पनि भगाउन सक्दिनस्;
तैँले पहिलेबाटै देख्न नसकेको प्रलय
तँमाथि अचानक आइपर्नेछ।
 
12 “तैँले बाल्यकालदेखि
परिश्रम गर्दैआएको टुनामुना
र तेरा धेरै तन्त्रमन्त्रमा नै लागिबस्।
सायद तँ सफल हुनेछेस्,
सायद तैँले आतङ्कित पार्न सक्छेस् कि!
13 तैँले सुनेका सबै सल्‍लाहहरूले तँलाई खिन्‍न मात्र पारेको छ!
तेरा ज्योतिषीहरू अगि आऊन्;
ती तारा हेर्नेहरू, जसले महिनैपिच्छे भविष्यका कुरा भन्छन्,
तिनीहरूले तँमाथि आउन लागेको कुराहरूबाट तँलाई बचाऊन्।
14 तिनीहरू निश्‍चय नै ठुटाझैँ हुन्;
आगोले तिनीहरूलाई जलाइदिनेछ।
तिनीहरूले आफूलाई
ज्वालाको शक्तिबाट बचाउनसमेत सक्दैनन्।
यो कसैलाई न्यानो पार्ने कोइला होइन;
न त नजिक बस्‍ने आगो नै हो।
15 तिनीहरूले तँलाई गर्न सक्ने यति नै हो—
तिनीहरू जोसित तैँले परिश्रम गरिस्
र तेरो बाल्यकालदेखि नै कारोबार गरिस्।
तिनीहरू हरेक आफ्नै गल्तीमा लागि बस्छन्;
तँलाई बचाउन सक्ने कोही पनि हुनेछैन।