49
याहवेहको सेवक
हे टापुहरू हो, मेरो कुरा सुन;
हे टाढाका जातिहरू हो, यो सुन;
म जन्मनुभन्दा अगि याहवेहले मलाई बोलाउनुभयो;
म आमाको गर्भमा हुँदादेखि नै
उहाँले मलाई नाम दिनुभयो।
उहाँले मेरो मुख उध्याएको तरवारझैँ बनाउनुभयो;
उहाँले मलाई आफ्नो हातको छायामा लुकाउनुभयो;
उहाँले मलाई टल्काइएको तीरझैँ बनाउनुभयो,
र मलाई उहाँको ठोक्रोमा लुकाउनुभयो।
उहाँले मलाई भन्‍नुभयो, “तँ मेरो सेवक इस्राएल होस्,
जसमा म आफ्नो महिमा प्रकट गर्छु।”
तर मैले भनेँ, “मैले व्यर्थैमा परिश्रम गरेछु;
मैले आफ्नो बल सबै व्यर्थमा खर्च गरेछु।
तर पनि मैले पाउनुपर्ने जे छ, त्यो याहवेहकै हातमा छ;
अनि मेरो पुरस्कार मेरा परमेश्‍वरसित छ।”
 
यसैले अब याहवेह भन्‍नुहुन्छ—
उहाँ जसले याकोबलाई उहाँकहाँ फर्काएर ल्याउन,
र इस्राएललाई आफूकहाँ भेला गराउन,
मलाई उहाँको सेवक हुन भनी गर्भैमा रच्नुभयो;
किनकि म याहवेहको दृष्‍टिमा सम्मानित भएको छु,
र मेरा परमेश्‍वर नै मेरो बल हुनुभएको छ।
उहाँ भन्‍नुहुन्छ:
“याकोबका कुलहरूलाई पुनर्स्थापित गर्न
र मैले जोगाइराखेको इस्राएललाई फर्काएर ल्याउनको निम्ति
तँ मेरो सेवक हुने कुरा तेरो निम्ति अति सानो कुरा हो।
मेरो उद्धार पृथ्वीको छेउसम्म फैलियोस् भनेर
म तँलाई गैरयहूदीहरूका निम्ति एउटा ज्योति पनि बनाउनेछु।”
 
जसलाई जाति-जातिहरूले तुच्छ ठाने र घृणा गरे—
उद्धारकर्ता र इस्राएलका पवित्र परमेश्‍वर—
त्यो शासकहरूका सेवकलाई,
याहवेह पवित्र परमेश्‍वर भन्‍नुहुन्छ:
“राजाहरूले तँलाई देख्नेछन् र खडा हुनेछन्;
अनि राजकुमारहरूले देख्नेछन् र तेरो अगि घोप्टो पर्नेछन्;
किनभने विश्‍वासयोग्य याहवेह,
इस्राएलका पवित्र परमेश्‍वरले तँलाई चुन्‍नुभएको छ।”
इस्राएलको पुनर्स्थापन
याहवेह यसो भन्‍नुहुन्छ:
“मेरो निगाहको समयमा म तँलाई जवाफ दिनेछु,
र उद्धारको दिन म तँलाई सहायता गर्नेछु;
म तँलाई सम्हाल्नेछु र तँलाई बनाउनेछु;
मानिसहरूका निम्ति एउटा करार बनाउन,
देशलाई पुनर्स्थापन गर्न,
र त्यसका उजाड उत्तराधिकारहरू फेरि दिलाउन,
कैदीहरूलाई ‘बाहिर आओ’
र अन्धकारमा भएकाहरूलाई ‘स्वतन्त्र होओ’ भन्‍न।
 
“तिनीहरू बाटोका किनारमा खानेछन्
र प्रत्येक बाँझो डाँडामा खर्क भेट्टाउनेछन्।
10 तिनीहरू न त भोकाउनेछन्, न त तिर्खाउनेछन्,
न त मरुभूमिको गर्मी र घामले तिनीहरूलाई पोल्नेछ।
तिनीहरूमाथि दया गर्नुहुनेले तिनीहरूलाई अगुवाइ गर्नुहुनेछ,
र तिनीहरूलाई पानीका खोलाहरूका छेउमा डोर्‍याउनुहुनेछ।
11 म आफ्ना पर्वतहरूलाई बाटोमा परिणत गर्नेछु,
र मेरा राजमार्गहरू उच्‍च पारिनेछन्।
12 हेर, तिनीहरू धेरै टाढाबाट आउनेछन्—
कोही उत्तरबाट, कोही पश्‍चिमबाट,
र कोही सीनीम देशबाट आउनेछन्।”
 
13 हे आकाश, आनन्दले करा;
हे पृथ्वी, हर्ष मना;
हे पर्वतहरू हो, चर्को सोरले गा!
किनकि याहवेहले आफ्ना मानिसहरूलाई सान्त्वना दिनुहुन्छ;
अनि कष्‍ट पाएका आफ्नाहरूलाई दया देखाउनुहुन्छ।
 
14 तर सियोनले भन्यो, “याहवेहले मलाई त्याग्नुभएको छ,
प्रभुले मलाई भुल्नुभएको छ।”
 
15 “के कुनै आमाले आफ्नो दुधे-बालकलाई बिर्सन सक्छे,
र आफूले जन्माएको बालकमाथि दया नदेखाउली र?
त्यसले भुल्न पनि सक्छे,
तर म तँलाई कहिल्यै पनि भुल्नेछैनँ!
16 हेर्, मैले तँलाई आफ्नो हत्केलामा खोपेको छु;
तेरा पर्खालहरू सधैँ मेरो सामु छन्।
17 तेरा छोराहरू चाँडो गरी फर्कँदैछन्,
र तँलाई उजाड पार्नेहरू तँबाट गइहाल्छन्।
18 तेरा आँखाहरू उचालेर चारैतिर हेर्;
तेरा सबै छोराहरू भेला भएर तँकहाँ आउँछन्।
म जीवित भएझैँ,” याहवेह घोषणा गर्नुहुन्छ,
“तँ गहनाले सिङ्गारिएझैँ यी सबैले सिङ्गारिनेछस्;
अनि दुलहीले झैँ तैँले यी सबै लगाउनेछस्।
 
 
19 “यद्यपि तँ नष्‍ट र उजाड पारिएको थिइस्
र तेरो देश रुखो पारिएको थियो;
अब तँ आफ्ना मानिसहरूका निम्ति अति सानो हुनेछस्,
र तँलाई निलिहाल्नेहरू टाढै हुनेछन्।
20 तेरो शोकको समयमा जन्मेका बालबच्‍चाहरूले
तैँले सुन्‍ने गरी
‘यो ठाउँ हामीलाई साह्रै सानो भयो;
हामीलाई अझ धेरै बस्‍ने ठाउँ देओ’ भन्‍नेछन्।
21 तब तैँले आफ्ना हृदयमा भन्‍नेछस्,
‘कसले मेरा निम्ति यिनीहरूलाई जन्माए?
म त शोकित र बाँझी थिएँ;
म देशबाट निकालिएकी र त्यागिएकी थिएँ।
यिनीहरूलाई कसले हुर्काए?
म एकलै छोडिएकी थिएँ,
तर यिनीहरू कहाँबाट आए?’ ”
22 प्रभु याहवेह यसो भन्‍नुहुन्छ:
“हेर, म गैरयहूदीहरूतिर इशारा गर्छु;
म जातिहरूतिर आफ्नो झण्डा उचाल्नेछु;
तिनीहरूले तेरा छोराहरूलाई आफ्ना हातमा ल्याउनेछन्,
र तेरा छोरीहरूलाई आफ्ना काँधमा बोक्नेछन्।
23 राजाहरू तेरा स्याहार गर्ने बुबा
र रानीहरू तेरा स्याहार गर्ने आमा हुनेछन्।
तिनीहरू तेरा सामु आफ्ना अनुहार भुइँतिर निहुर्‍याएर दण्डवत् गर्नेछन्;
तिनीहरूले तेरा खुट्टाको धुलो चाट्नेछन्।
तब तैँले म नै याहवेह हुँ, भनी जान्‍नेछस्;
ममाथि आशा राख्नेहरू निराश हुनेछैनन्।”
 
24 के योद्धाहरूबाट लुटको माल खोसिन सकिन्छ,
अथवा निर्दयीको हातबाट कैदीहरू खोसिन सकिन्छ?
25 तर याहवेह यसो भन्‍नुहुन्छ:
“हो, योद्धाहरूबाट कैदीहरू खोसिनेछन्,
र लुटको माल निर्दयीहरूबाट फिर्ता लिइनेछ;
तँसित झगडा गर्नेहरूसित म झगडा गर्नेछु;
अनि तेरा बालबच्‍चाहरूलाई म बचाउनेछु।
26 तेरा अत्याचारीहरूलाई म तिनीहरूका आफ्नै मासु खान लाउनेछु;
मद्यले मात्तिएझैँ तिनीहरू आफ्नै रगत पिएर मात्नेछन्।
तब सबै मानव जातिले जान्‍नेछन्, कि
म याहवेह नै तेरा उद्धारकर्ता तँलाई मोल तिरेर छुटाउने,
याकोबको सर्वशक्तिमान् परमेश्‍वर हुँ।”