52
हे सियोन, जाग्, जाग्,
तेरो बल धारण गर्।
हे पवित्र सहर यरूशलेम,
तेरो महिमाको पोशाक लगा;
खतना नभएकाहरू र अशुद्धहरू
तँभित्र फेरि पस्‍नेछैनन्।
हे यरूशलेम, तेरो धुलो टक्टक्या;
उठ्, र सिंहासनमा बस्।
हे सियोनकी कैदी छोरी
तेरो घाँटीका बन्धनका साङ्लाहरूबाट आफूलाई मुक्त पार्।
किनकि याहवेह यसो भन्‍नुहुन्छ:
“तँ सित्तैँमा बेचिएकी थिइस्,
र तँ रकमविना नै छुटाइनेछस्।”
किनकि प्रभु याहवेह यसो भन्‍नुहुन्छ:
“सुरुमा मेरा मानिसहरू बसोबास गर्न भनी इजिप्टमा गए;
अनि पछि अश्शूरले तिनीहरूमाथि अत्याचार गर्‍यो।
“अब यहाँ मेरो के छ र?” याहवेह घोषणा गर्नुहुन्छ।
“किनकि मेरा मानिसहरू विनाकारण लगिएका छन्;
अनि शासन गर्नेहरूले तिनीहरूलाई ठट्टा गर्छन्,”
याहवेह घोषणा गर्नुहुन्छ।
“अनि दिनभरि नै
मेरो नामको निन्दा लगातार भइरहन्छ।
यसकारण मेरा मानिसहरूले मेरो नाम जान्‍नेछन्;
यसकारण यो पहिलेबाटै बताउने म नै हुँ भनी
त्यस दिन तिनीहरूले जान्‍नेछन्।
हो, त्यो म नै हुँ।”
 
सुसमाचार ल्याउनेहरू,
शान्ति घोषणा गर्नेहरू,
उद्धार घोषणा गर्नेहरू,
सियोनलाई “तेरा परमेश्‍वरले राज्य गर्नुहुन्छ!”
सुसमाचार ल्याउनेहरूका पाउ
पहाडहरूहुँदो कति सुन्दर!
सुन्! तेरा पहरेदारहरू आफ्ना सोर उचाल्छन्;
तिनीहरू आनन्दले एकसाथ चिच्याउँछन्।
जब याहवेह सियोनमा फर्केर आउनुहुन्छ,
तब तिनीहरूले त्यो आफ्नै आँखाले छर्लङ्गै देख्नेछन्।
हे यरूशलेमका भग्नावशेषहरू हो,
आनन्दका गीतहरू जोडसित एकसाथ गाओ;
किनकि याहवेहले उहाँका मानिसहरूलाई सान्त्वना दिनुभएको छ;
उहाँले यरूशलेमलाई मोल तिरेर छुटाउनुभएको छ।
10 सबै जातिहरूले देख्ने गरी
याहवेहले आफ्ना पवित्र बाहुली देखाउनुभएको छ;
पृथ्वीको पल्‍लो छेउका मानिसहरूले
हाम्रा परमेश्‍वरको उद्धार देख्नेछन्।
 
11 गइहाल! गइहाल! त्यहाँबाट निस्केर गइहाल!
कुनै अशुद्ध थोक नछोओ!
तिमीहरू जो याहवेहका पात्र बोक्छौ,
त्यसबाट निस्केर आओ र शुद्ध होओ!
12 तर तिमीहरू हतार-हतार गरी जानेछैनौ;
अनि न त भागेर जानेछौ;
किनकि याहवेह तिमीहरूका अगि-अगि जानुहुनेछ,
र इस्राएलका परमेश्‍वर तिमीहरूका पछिल्तिर रक्षक बन्‍नुहुनेछ।
सेवकको कष्‍ट र गौरव
13 हेर, मेरो सेवकले बुद्धिमानीसाथ काम गर्नेछ;
ऊ उठाइनेछ र उच्‍च पारिनेछ, र ऊ अति सम्मानित पारिनेछ।
14 जसरी उसदेखि धेरै जना चकित थिए—
उसको अनुहार चिन्‍नै नसकिने गरी
र उसको रूप मानिसको भन्दा पनि कुरूप बनाइएको थियो—
15 त्यसरी नै उसले धेरै जातिहरूलाई पवित्र पार्नेछ;
उसको कारण राजाहरूले आफ्ना मुख बन्द गर्नेछन्।
किनकि तिनीहरूलाई नभनिएको कुराहरू तिनीहरूले देख्नेछन्;
तिनीहरूले नसुनेका कुराहरू तिनीहरूले नै बुझ्नेछन्।