54
सियोनको भावी महिमा
“हे बाँझी स्त्री, गीत गा!
तँ, जसले कहिल्यै बच्‍चा जन्माएकी छैनस्;
आनन्दसाथ र चर्को सोरमा करा;
तँ, जो प्रसव-वेदनामा कहिल्यै परेकी छैनस्;
किनकि त्यागिएकी स्त्रीका सन्तानचाहिँ
पति भएकी स्त्रीको भन्दा धेरै छन्,”
याहवेह भन्‍नुहुन्छ।
“तेरो पालको ठाउँ बढा,
आफ्नो पालको पर्दाहरू तन्का,
बाँकी नराख्;
तेरा डोरीहरू लामो पार्,
तेरा किलाहरू बलियो पार्।
किनकि तँ दाहिने र देब्रेतिर फैलिनेछस्;
तेरा सन्तानहरूले राष्ट्रहरूलाई अधिकार गर्नेछन्;
अनि तिनीहरूका त्यागिएका सहरहरूमा बसोबास गर्नेछन्।
 
“नडरा, तँ शर्ममा पर्नेछैनस्।
अपमानसित नडरा, तँ होच्याइनेछैनस्।
तैँले आफ्नो जवानीको शर्म भुल्नेछस्;
अनि तेरो विधवापनको निन्दा फेरि सम्झनेछैनस्।
किनकि तेरो सृष्‍टिकर्ता तेरो पति हुनुहुन्छ;
उहाँको नाम सेनाहरूका याहवेह हो;
इस्राएलका पवित्र परमेश्‍वर तेरा उद्धारकर्ता हुनुहुन्छ;
उहाँ सारा पृथ्वीका परमेश्‍वर कहलाइनुहुन्छ।
तेरा परमेश्‍वर भन्‍नुहुन्छ,
त्यागिएकी र आत्मामा दुःखित स्त्रीलाई झैँ
र जवानीमा विवाह भएर त्यागिएकी पत्नीलाई झैँ
याहवेहले तँलाई फेरि बोलाउनुहुनेछ।
केही समयको लागि मैले तँलाई त्यागेको थिएँ,
तर ठूलो कृपासाथ म तँलाई फेरि फर्काइल्याउनेछु।
रिसको झोँकमा मैले आफ्नो अनुहार
केही समयको निम्ति तँदेखि लुकाएँ;
तर अनन्तको करूणासहित
म तँमाथि कृपा देखाउनेछु”
याहवेह तेरा उद्धारकर्ता भन्‍नुहुन्छ।
 
“यो मेरो निम्ति नोआको समयजस्तै हो;
किनभने नोआका समयमा पानीजस्तै फेरि
पृथ्वीमा जलप्रलय कहिल्यै हुनेछैन भनी मैले शपथ खाएको छु।
यसकारण तँसित कहिल्यै रिसाउनेछैनँ;
तँलाई फेरि हप्काउनेछैनँ भनी मैले अहिले शपथ खाएको छु।
10 पहाडहरू हल्‍लाइए
र डाँडाहरू हटाइए तापनि
तँप्रतिको मेरो अचुक प्रेम कहिल्यै हटाइनेछैन,
न त शान्तिको मेरो करार हटाइनेछ”
तँलाई कृपा गर्नुहुने याहवेह भन्‍नुहुन्छ।
 
11 “हे दुःखमा परेकी, आँधीबेहरीले पछारिएकी र सान्त्वना नपाएकी सहर,
म तँलाई बहुमूल्य पत्थरहरूले निर्माण गर्नेछु;
तेरा जगहरू नीलमणिले निर्माण गर्नेछु।
12 म तेरा सुरक्षा पर्खालहरू लालमणिले,
तेरा मूलढोकाहरू जगमगाउने रत्नहरूले,
र तेरा पर्खालहरू बहुमूल्य पत्थरहरूले बनाउनेछु।
13 तेरा सबै छोराहरू याहवेहद्वारा सिकाइनेछन्;
अनि तेरा छोराछोरीहरूलाई ठूलो शान्ति मिल्नेछ।
14 तँ धार्मिकतामा स्थापित गरिनेछस्:
अत्याचार तँबाट टाढा रहनेछ;
तँ कुनै कुरामा डराउनुपर्नेछैन।
आतङ्क टाढा हटाइनेछ,
र त्यो तेरो छेउ पर्नेछैन।
15 यदि कसैले तँमाथि आक्रमण गर्‍यो भने त्यो मेरो काम हुनेछैन;
तँलाई जसले आक्रमण गरे तापनि त्यसले तेरो सामु आत्मसमर्पण गर्नेछ।
 
16 “हेर्, लोहारलाई सृष्‍टि गर्ने म नै हुँ,
जसले कोइला फुकेर ज्वाला बनाउँछ,
र काम गर्ने ठिक हतियार बनाउँछ।
उत्पात गरेर नष्‍ट पार्नेलाई मैले नै सृष्‍टि गरेको हुँ;
17 तेरो विरुद्धमा बनाइएको हतियार पनि काम लाग्नेछैन;
अनि तँलाई दोष लगाउने हरेक जिब्रोलाई तैँले चुप लगाउनेछस्।
याहवेहका सेवकहरूका पैतृक सम्पत्ति यही हो,
र तिनीहरूप्रति मेरो धार्मिकताको प्रमाण यही हो”
याहवेह घोषणा गर्नुहुन्छ।