60
सियोनको महिमा
“प्रकाशमान् हो, उठ्; किनकि तेरो ज्योति आएको छ,
र याहवेहको महिमा तँमाथि उदाएको छ।
हेर्, अन्धकारले पृथ्वीलाई ढाक्छ,
र मानिसहरूमाथि बाक्लो अन्धकार छ,
तर याहवेह तँमाथि उदाउनुहुनेछ;
अनि उहाँको महिमा तँमाथि देखा पर्नेछ।
जातिहरू तेरो प्रकाशमा आउनेछन्,
र राजाहरू तेरो प्रभातको उज्यालोमा आउनेछन्।
 
“तेरा आँखा उठाएर चारैतिर हेर्:
सबै भेला भएर तँकहाँ आउँछन्;
तेरा छोराहरू टाढाबाट आउनेछन्,
र तेरा छोरीहरूलाई हात समाएर ल्याइनेछन्।
तब तैँले हेर्नेछस् र चम्कनेछस्;
तेरो हृदय उल्‍लासित हुनेछ र आनन्दले फुल्नेछ;
समुद्रको सम्पत्ति तँकहाँ ल्याइनेछ;
जातिहरूका धन तँकहाँ आउनेछ।
ऊँटहरूका बथान, मिद्यान र एपाका
साना-साना सवारी ऊँटहरूले तेरो देश ढाकिनेछ।
शेबाबाट सबै मानिसहरू
याहवेहको प्रशंसाको घोषणा गर्दै
सुन र धूप बोकेर आउनेछन्।
केदारका सबै बगालहरू तँकहाँ भेला गराइनेछन्;
नबायोतका भेडाहरूले तेरो सेवा गर्नेछन्;
मेरो वेदीमा ती भेटीस्वरूप ग्रहण गरिनेछन्,
र म आफ्नो महिमित मन्दिरलाई सिँगार्नेछु।
 
“बादलझैँ उड्ने,
र आफ्ना गुँडतिर उड्ने ढुकुरहरूजस्ता यी को हुन्?
निश्‍चय नै टापुहरूले मलाई हेर्नेछन्;
टाढाबाट तेरा बालबच्‍चाहरूलाई ल्याउँछन्,
तिनीहरूका सुन र चाँदी लिएका
तर्शीशका जहाजहरू अगि-अगि छन्;
ती सबै याहवेह तेरा परमेश्‍वर,
इस्राएलका पवित्र परमेश्‍वरलाई सम्मान दिनका निम्ति हो;
किनकि उहाँले तँलाई गौरवले सम्मानित तुल्याउनुभएको छ।
 
 
10 “विदेशीहरूले तेरा पर्खालहरू पुनर्निर्माण गर्नेछन्,
र तिनीहरूका राजाहरूले तेरो सेवा गर्नेछन्।
मैले रिसमा तँलाई प्रहार गरे तापनि
मेरो निगाहमा म तँलाई दया देखाउनेछु।
11 तेरा सहरका मूलढोकाहरू सधैँ खुला रहनेछन्;
ती मुलढोकाहरू दिन र रात कहिल्यै बन्द हुनेछैनन्,
ताकि मानिसहरूले तँकहाँ जातिहरूका धनसम्पत्ति ल्याउन सकून्,
अर्थात् तिनीहरूका राजाहरू विजयी जुलूसको साथ पस्‍न सकून्।
12 किनकि तेरो सेवा नगर्ने जाति र राज्य सर्वनाश हुनेछन्;
त्यो पूर्ण रूपमा सर्वनाश पारिनेछ।
 
13 “लेबनानको गौरव तँकहाँ आउनेछ,
सल्‍ला, धूपी र सिसौका रूखहरूसमेत,
मेरो पवित्रस्थानलाई सिँगार्न ल्याइनेछन्;
अनि म आफ्ना पवित्रस्थानलाई महिमित तुल्याउनेछु।
14 तँलाई अत्याचार गर्नेहरूका छोराछोरीहरू तेरो सामु निहुरेर आउनेछन्;
तँलाई घृणा गर्ने सबै तेरो पाउमा झुक्नेछन्,
र तँलाई याहवेहको सहर,
इस्राएलका पवित्र परमेश्‍वरको सियोन भन्‍नेछन्।
 
15 “तँ त्यागिएकी र घृणित भएकी,
तँबाट भएर यात्रा गर्ने कोही नगए तापनि
म तँलाई अनन्तको निम्ति महान्
र पुस्तौँ-पुस्ताहरूका निम्ति आनन्द बनाउनेछु।
16 तैँले जातिहरूको दूध पिउनेछस्,
र राजकीय स्तन चुस्‍नेछस्।
तब तैँले जान्‍नेछस्, कि म याहवेह नै तेरो मुक्तिदाता,
तेरो उद्धारकर्ता, याकोबका सर्वशक्तिमान् परमेश्‍वर हुँ।
17 म तँलाई काँसाको सट्टामा सुन
र फलामको सट्टामा चाँदी ल्याइदिनेछु।
म तँलाई काठको सट्टामा काँसा
र ढुङ्गाको सट्टामा फलाम ल्याइदिनेछु।
म शान्तिलाई तेरा राज्यपाल
र धार्मिकतालाई तेरा शासक तुल्याइदिनेछु।
18 तेरो देशमा फेरि हिंसा सुनिनेछैन,
न त तेरा सिमानाहरूमा विध्वंश र सर्वनाश सुनिनेछ,
तर तैँले आफ्ना पर्खालहरूलाई मुक्ति भन्‍नेछस्
र तेरा मूलढोकाहरूलाई प्रशंसा नाम राख्नेछस्।
19 अब उसो दिनमा तेरो निम्ति सूर्यले ज्योति दिनेछैन,
न त चन्द्रमाको उज्यालो तँमाथि चम्कनेछ;
किनकि याहवेह नै तेरो निम्ति अनन्तको ज्योति हुनुहुनेछ;
अनि तेरा परमेश्‍वर तेरो महिमा हुनुहुनेछ।
20 तेरो सूर्य फेरि कहिल्यै अस्ताउछैन,
र तेरो चन्द्रमा फेरि धमिलो हुनेछैन;
याहवेह नै तेरो अनन्तको ज्योति हुनुहुनेछ;
अनि तेरा दुःखका दिनहरू समाप्‍त हुनेछन्।
21 तब तेरा सबै मानिसहरू धार्मिक हुनेछन्;
अनि तिनीहरूले सदाको निम्ति देशमाथि अधिकार गर्नेछन्।
मेरो महानता देखाउनको निम्ति,
मैले रोपेका बिरुवाहरू,
मेरा हातका कामहरू तिनीहरू नै हुन्।
22 तिमीहरूमध्ये सबैभन्दा थोरैचाहिँ हजार हुनेछ;
अनि सबैभन्दा सानोचाहिँ एउटा शक्तिशाली जाति हुनेछ।
म नै याहवेह हुँ;
म यी प्रतिज्ञाहरू त्यसको समयमा र चाँडै पूरा गर्नेछु।”