20
सोपरको संवाद
तब सोपर नमातीले जवाफ दिए:
“मेरा पीडित विचारहरूले मलाई जवाफ दिन उक्साउँछ;
किनकि म धेरै विचलित भएको छु।
जब म मेरो अपमान हुने गालीहरू सुन्छु,
मेरो समझशक्तिले मलाई जवाफ दिन उत्प्रेरित गर्छ।
 
“निश्‍चय नै तपाईंले जान्‍नुहुन्छ, कि यो उहिलेदेखि नै हुँदैआएको छ,
मानव-जातिलाई*अथवा आदम यो पृथ्वीमा राखिएको समयदेखि नै यो हुँदैआएको छ,
कि दुष्‍ट मानिसहरूको खुशी एकछिनको लागि,
र ईश्‍वरहीनहरूको आनन्द क्षणभरको लागि मात्र रहन्छ।
यद्यपि ईश्‍वरहीन मानिसको घमण्ड आकाशसम्मै पुग्ला
र त्यसको टाउकोले बादलहरूलाई नै छुइएला,
तर त्यो आफ्नो मलजस्तै, सदाको निम्ति नाश भएर जानेछ;
त्यसलाई देखेकाहरूले भन्‍नेछन्, ‘खोइ, त्यो कहाँ छ?’
कहिल्यै पाउन नसकिने सपनाजस्तै त्यो उडेर जान्छ,
रातको दर्शनजस्तै लोप भएर जान्छ।
त्यसलाई देखेका आँखाहरूले त्यसलाई फेरि देख्नेछैनन्;
त्यसको ठाउँले त्यसलाई फेरि चिन्‍नेछैन।
10 त्यसका छोराछोरीहरूले गरिबहरूसँग भीख माग्नैपर्छ;
त्यसका आफ्नै हातहरूले आफ्नो धन फर्काइदिनैपर्छ।
11 त्यसका हड्डीहरूमा भरिएका यौवन
त्यसको मृत्युसँग धुलोमा सुतिजानेछ।
 
12 “दुष्‍टता त्यसको मुखमा मिठो भए तापनि
र यसलाई त्यसले आफ्नो जिब्रोमुनि लुकाउँछ,
13 तथापि त्यसले त्यो छोड्न सक्दैन,
त्यसको मुखमै रहिरहे तापनि
14 त्यसको भोजन त्यसको पेटमा अमिलो बन्‍नेछ;
र त्यो सर्पको विषजस्तै त्यसभित्र परिवर्तन हुनेछ।
15 त्यसले निलेको धनसम्पत्ति त्यसले फेरि ओकलेर बाहिर निकाल्नेछ;
परमेश्‍वरले त्यसको पेटलाई त्यो सबै ओकल्न लगाउनुहुनेछ।
16 त्यसले सर्पको विष चुस्‍नेछ;
विषालु सर्पको लामो दाँतले त्यसलाई मार्नेछ।
17 त्यसले खोलाहरू अर्थात् मह र नौनी बहने
नदीहरूमा आनन्द लिन पाउनेछैन।
18 त्यसले परिश्रम गरेका कुराहरूको उपभोग नगरी फिर्ता दिनुपर्छ;
त्यसले आफ्नो व्यापारका नाफाहरूमा आनन्द मनाउन पाउनेछैन।
19 किनकि त्यसले गरिबलाई अत्याचार गरेको छ, र तिनीहरूलाई त्यागेको छ;
र त्यसले आफूले नबनाएको घर कब्जा गरेको छ।
 
20 “निश्‍चय नै त्यसले आफ्नो लालसाबाट विश्राम पाउनेछैन;
त्यसले आफ्नो धनसम्पत्तिद्वारा आफूलाई बचाउन सक्दैन।
21 त्यसको निम्ति खानलाई केही पनि बाँकी रहेको छैन;
त्यसको समृद्धि धेरै दिनसम्म रहँदैन।
22 त्यसको प्रशस्तताको समयमा, त्यसमाथि विपत्ति आइपर्नेछ;
जोडले कष्‍टको बोझ त्यसमाथि आइपर्नेछ।
23 त्यसले आफ्नो पेट भरेको बेला,
परमेश्‍वरले आफ्नो बल्दो रिस त्यसको विरुद्ध खन्याउनुहुनेछ,
र त्यसमाथि आफ्नो मुक्‍का बर्साउनुहुनेछ।
24 त्यो फलामको हतियारबाट बाँचे तापनि
काँसोको टुप्पो भएको काँडले त्यसलाई छेड्नेछ।
25 त्यसले त्यो आफ्नो पिठिउँबाट थुतेर निकाल्छ,
र चम्किरहेको काँडको टुप्पोले त्यसको कलेजो छेड्नेछ।
अनि त्रास त्यसमाथि आइपर्नेछ।
26 त्यसको धनसम्पत्तिलाई घोर अन्धकारले ढुकेर बस्छ;
नफुकेको आगोले त्यसलाई भस्म पार्नेछ;
र त्यसको घरमा बाँकी भएका कुराहरूलाई स्वाहा पार्नेछ।
27 आकाशले त्यसको दोष उदाङ्गो पारिदिनेछ;
पृथ्वी त्यसको विरुद्धमा उठ्नेछ।
28 त्यसको घरलाई बाढीले,
र परमेश्‍वरको क्रोधको दिनको उर्लंदो भलले बगाएर लैजानेछ।
29 परमेश्‍वरले दुष्‍ट मानिसको दशा यसरी नै तोकिदिनुभएको छ,
परमेश्‍वरले तिनीहरूको निम्ति यस्तै प्रतिफल तोकिदिनुभएको छ।”

*20:4 अथवा आदम