24
“किन सर्वशक्तिमान्‌ले न्यायको निम्ति समयहरू तोक्नुभएको छैन?
किन भक्तजनहरूले व्यर्थमा यस्ता दिनहरूको प्रतीक्षा गर्नैपर्छ?
जमिनका सिमानाका ढुङ्गाहरू हटाउने मानिसहरू पनि त्यहाँ छन्;
तिनीहरूले चोरेका भेडाबाख्राका बगालहरू चराउँछन्।
तिनीहरूले टुहुरा-टुहुरीहरूको गधा लैजान्छन्,
र विधवाको गोरु बन्धकमा लैजान्छन्,
तिनीहरूले खाँचोमा परेकोलाई बाटोबाट घचेटिदिन्छन्;
र देशका सबै गरिबहरूलाई लुक्न बाध्य बनाउँछन्।
मरुभूमिमा भएका जङ्गली गधाहरूजस्तै,
गरिबहरू आफ्नो भोजन खोज्न भौँतारिन्छन्;
तिनीहरूका छोराछोरीहरूका निम्ति रुखो भूमिले भोजन जुटाइदिन्छ।
तिनीहरूले अरूको खेतबाट घाँस बटुल्छन्,
र दुष्‍ट मानिसहरूका दाखबारीबाट सिलाबाला बटुल्छन्।
लुगाफाटाको अभावमा तिनीहरूले नाङ्गै रात बिताउँछन्;
जाडोमा आफूलाई ढाक्नको निम्ति तिनीहरूसँग केही हुँदैन।
तिनीहरू पहाडहरूका झरीले निथ्रुक्‍क भिज्छन्,
र आश्रय नहुँदा तिनीहरूले चट्टानलाई अँगाल्छन्।
अनाथ बालकलाई स्तनपानबाट खोसेर लगिन्छ;
गरिब घरको शिशुलाई ऋणको निम्ति बन्धकी बनाइन्छ।
10 लुगाफाटाको अभावमा तिनीहरू नाङ्गै डुलिहिँड्छन्;
तिनीहरूले अरूको निम्ति अन्‍नका बोरा बोक्छन्, तर आफू भने भोकै हुन्छन्।
11 तिनीहरूले खेतका गराहरूमा*मूल भाषामा यसको अर्थ अनिश्‍चित छ। जैतुनको तेल पेल्छन्;
तिनीहरूले कोलमा दाखरस पेल्छन्, तर आफू भने तिर्खाले छटपटाउछन्।
12 मर्दै गरेकाहरूको चीत्कार सहरबाट माथि उठ्छ,
र घाइतेहरूको प्राण सहायताका निम्ति कराउँछ;
तापनि परमेश्‍वरले तिनीहरूको चीत्कारको बेवास्ता गर्नुहुन्छ।
 
13 “ज्योतिको विरुद्धमा विरोध गर्नेहरू पनि छन्,
जसले ज्योतिका मार्गहरू जान्दैनन्,
अथवा ज्योतिको मार्गमा रहँदैनन्।
14 जब दिनको उज्यालो जान्छ, हत्याराहरू उठ्छन्;
तब गरिबहरू र खाँचोमा परेकाहरूलाई मार्दछन्,
र तिनीहरू रातमा चोरले जस्तै चोर्दछन्।
15 व्यभिचारीको आँखाले साँझपखलाई पर्खिबस्छ;
त्यसले सोच्छ, ‘मलाई कुनै पनि आँखाले देख्नेछैन,’
र त्यसले आफ्नो अनुहार लुकाउँछ।
16 रातमा चोरहरूले घरहरू फोर्छन्,
तर दिनमा चाहिँ तिनीहरू भित्रै लुकेर बस्छन्;
तिनीहरू दिनको उज्यालोमा केही गर्न चाहँदैनन्।
17 तिनीहरू सबैका लागि मध्यरात तिनीहरूको बिहानी हो;
तिनीहरूले अन्धकारका त्रासहरूसँग मित्रता राख्छन्।
 
18 “तापनि तिनीहरू पानीको सतहमा भएका फिँजजस्तै हुन्;
तिनीहरूको जमिनको भाग श्रापित छ;
त्यसकारण तिनीहरू दाखबारीहरूमा काम गर्न जाँदैनन्।
19 गर्मी र खडेरीले पग्लेको हिउँलाई लगेझैँ,
चिहानले पाप गर्नेहरूलाई तानेर लैजान्छ।
20 गर्भले तिनीहरूलाई भूलिहाल्छ;
किराले तिनीहरूमाथि भोज गर्छन्;
दुष्‍ट मानिसहरूको सम्झना रहँदैन,
र तिनीहरू रूखजस्तै भाँचिएर जान्छन्।
21 तिनीहरूले बाँझी र निःसन्तान स्त्रीलाई शिकार बनाउँछन्,
र विधवालाई कुनै दया देखाउँदैनन्।
22 तर परमेश्‍वरले शक्तिशालीहरूलाई आफ्नो शक्तिले खिँच्नुहुन्छ;
तिनीहरू स्थापित भए तापनि तिनीहरूको जीवनको निश्‍चयता हुँदैन।
23 उहाँले तिनीहरूलाई सुरक्षाको भावनामा जिउन दिनुहुन्छ होला,
तर उहाँका आँखाहरू तिनीहरूका मार्गहरूमाथि लागिरहन्छन्।
24 केही क्षणको निम्ति तिनीहरू उच्‍च पारिनेछन्, र त्यसपछि तिनीहरू रहनेछैनन्;
तिनीहरूलाई होच्याइनेछ, र अरू सबैलाई जस्तै जम्मा गरिनेछ;
तिनीहरू अन्‍नका बालाहरू काटिएजस्तै काटिनेछन्।
 
25 “यदि यसो होइन भने कसले मलाई झूटो ठहराउन सक्छ,
र अर्थविना कसले मेरा शब्दहरू घटाउन सक्छ?”

*24:11 मूल भाषामा यसको अर्थ अनिश्‍चित छ।