5
हे याहवेह, हामीमाथि के आइपरेको छ, त्यो सम्झनुहोस्;
हेर्नुहोस्, हामी कति अपमानित भएका छौँ।
हाम्रो उत्तराधिकार अपरिचितहरूलाई
र हाम्रा घर विदेशीहरूलाई सुम्पिइएको छ।
हामी बुबाविहीन भएका छौँ;
हाम्रा आमाहरू विधवाहरूजस्ता भएका छन्।
आफ्नै पिउने पानी पनि हामीले दाम तिरेर पिउनुपर्छ;
हाम्रो आफ्नै दाउरा पनि दाम तिरेर किन्‍नुपर्छ।
हामीलाई खेद्नेहरू हाम्रा पाइलाहरूमै छन्;
हामी थाकेका छौँ र विश्राम पाएका छैनौँ।
हाम्रो पेट भर्नका लागि हामीले आफैँलाई
इजिप्ट र अश्शूरका अधीनमा सुम्पिदियौँ।
हाम्रा पितापुर्खाले पाप गरे, र मरेर गए;
तर हामीले तिनीहरूका पापको दण्ड भोगिरहेका छौँ।
दासहरूले हामीमाथि शासन गर्दछन्;
अनि तिनीहरूका हातबाट हामीलाई छुटकारा दिने कोही पनि छैन।
मरुभूमिमा तरवार भिरेका शत्रुहरू भएकोले
हामीले आफ्नो जीवनको खतरा मोलेर रोटी जुटाउँछौँ,
10 हामीलाई भोकले गर्दा ज्वरो आएको छ,
र हाम्रो छाला चुल्होझैँ रन्केको छ।
11 सियोनमा स्त्रीहरू र
यहूदाका सहरहरूमा कुमारीहरू बलात्कारको शिकार भएका छन्।
12 शासकहरूको हात बाँधेर तिनीहरूलाई झुण्ड्याइएको छ;
अगुवाहरूलाई अलिकति पनि इज्जत दिइएको छैन।
13 जवान मानिसहरू जाँतो पिँध्न बाध्य छन्;
अनि जवान केटाहरू दाउराका भारीले थिचिएर लड्बडाउँदै हिँड्छन्।
14 अगुवाहरू सहरका मूलढोकामा भेला हुन छोडेका छन्;
जवान केटाहरूले आफ्ना सङ्गीत छोडिदिएका छन्।
15 हाम्रा हृदयबाट आनन्द गइसक्यो;
हाम्रो नाच शोकमा बदली भइसक्यो।
16 हाम्रा शिरबाट मुकुट खसेको छ।
हामीलाई धिक्‍कार छ; किनभने हामीले पाप गरेका छौँ!
17 यसले गर्दा हाम्रा हृदय मूर्छित भएका छन्;
यी कुराहरूले गर्दा हाम्रा आँखा धमिला भएका छन्;
18 किनकि सियोन पर्वत उजाड भएको छ;
अनि त्यहाँ स्यालहरू शिकार खोज्दै यताउति घुमिहिँड्छन्।
 
19 हे याहवेह, तपाईं अनन्तकालसम्म राज्य गर्नुहुन्छ;
तपाईंको सिंहासन पुस्तौँ-पुस्तासम्म रहिरहन्छ।
20 तपाईंले हामीलाई किन सधैँ बिर्सनुहुन्छ?
तपाईंले हामीलाई किन यति लामो समयसम्म त्याग्नुहुन्छ?
21 यदि तपाईंले हामीलाई पूर्णतया इन्कार गर्नुभएको छैन
र तपाईं हामीसित औधी रिसाउनुभएको छैन भने,
22 हे याहवेह, हामीलाई तपाईंमा पुनर्स्थापित गर्नुहोस्,
र हामी तपाईंकहाँ फर्कन सकौँ;
हाम्रा दिनहरू पहिलेको जस्तै नयाँ बनाइदिनुहोस्।