20
पापको निम्ति दण्ड
1 याहवेहले मोशालाई भन्नुभयो, 2 “इस्राएलीहरूलाई भन्: ‘आफ्ना छोराछोरीहरू मोलेखलाई चढाउने कुनै इस्राएली अथवा इस्राएलमा बस्ने कुनै पनि परदेशी मारिनुपर्छ। समुदायका मानिसहरूले त्यसलाई ढुङ्गाले हानून्। 3 म आफ्नो अनुहार त्यस मानिसको विरुद्धमा पार्नेछु। अनि म त्यसलाई त्यसका मानिसहरूबाट बहिष्कार गर्नेछु; किनकि त्यसले आफ्ना छोराछोरीहरू मोलेखलाई दिएर मेरो पवित्रस्थान बिटुलो पारेको छ। अनि मेरो पवित्र नामलाई अपवित्र तुल्याएको छ। 4 यदि समुदायका मानिसहरूले कुनै मानिसले आफ्ना छोराछोरीहरू मोलेख देवतालाई बलि चढाउँदा नदेखेझैँ गरे, र त्यसलाई मारेनन् भने, 5 म आफ्नो अनुहार त्यस मानिस र त्यसको परिवारको विरुद्धमा पार्नेछु। अनि म त्यसलाई र आफैँलाई मोलेखसित व्यभिचार गर्न त्यसको पछि-पछि लाग्ने सबैलाई तिनीहरूका मानिसदेखि बहिष्कार गर्नेछु।
6 “ ‘जो व्यक्ति जोखना हेर्नेहरू र तन्त्रमन्त्र गर्नेहरूका पछि लागेर आफैँलाई वेश्यावृत्तिमा लगाउँछ, त्यसदेखि म आफ्नो अनुहार लुकाउनेछु। अनि म त्यसलाई त्यसका मानिसहरूको बीचबाट बहिष्कार गर्नेछु।
7 “ ‘यसकारण आफैँलाई अर्पण गरेर पवित्र होओ। किनकि म याहवेह नै तिमीहरूका परमेश्वर हुँ। 8 मेरा उर्दीहरू पालन गर्नू; अनि तिनैलाई अनुसरण गर्नू। तिमीहरूलाई पवित्र पार्ने याहवेह म नै हुँ।
9 “ ‘यदि कसैले आफ्ना बुबालाई अथवा आमालाई सराप्छ भने त्यो मारियोस्। किनकि त्यसले आफ्नो बुबा वा आमालाई सरापेको छ; अनि त्यसको रगत त्यसकै शिरमाथि परोस्।
10 “ ‘यदि कुनै मानिसले आफ्नो छिमेकीको पत्नीसित व्यभिचार गर्छ भने त्यो व्यभिचारी र व्यभिचारिणी दुवै मारियोस्।
11 “ ‘यदि कुनै मानिसले आफ्नो बुबाको पत्नीसित सहवास गर्यो भने त्यसले आफ्नो बुबाको अपमान गरेको छ। त्यो मानिस र स्त्री दुवै मारियोस्। तिनीहरूका रगत तिनीहरूकै आफ्नै शिरमाथि परोस्।
12 “ ‘यदि कुनै मानिसले आफ्नी बुहारीसित सहवास गर्यो भने ती दुवै मारिऊन्। तिनीहरूले जे गरेका छन्, त्यो अभद्र व्यवहार हो। तिनीहरूका रगत तिनीहरूकै शिरमाथि परोस्।
13 “ ‘यदि कुनै मानिसले स्त्रीसँग सहवास गरेझैँ कुनै पुरुषसित सहवास गर्यो भने त्यो घृणित काम हो; तिनीहरू मारिनैपर्छ। तिनीहरूको अपराध तिनीहरूकै शिरमाथि परोस्।
14 “ ‘यदि कुनै मानिसले आमा र छोरी दुवैलाई विवाह गर्छ भने त्यो दुष्टता हो। त्यसलाई ती दुवैसँग आगोमा जलाइनुपर्छ, ताकि तिमीहरूका बीचमा कुनै दुष्टता नरहोस्।
15 “ ‘यदि कुनै मानिसले पशुसित सहवास गरेको छ भने त्यो मारियोस्। अनि तिमीहरूले त्यस पशुलाई पनि मार्नैपर्छ।
16 “ ‘यदि कुनै स्त्री सहवासको निम्ति कुनै पशुकहाँ जान्छे भने त्यो स्त्री र पशु दुवै मारिनैपर्छ। निश्चय नै तिनीहरू मारिनैपर्छ। तिनीहरूका रगत तिनीहरूकै शिरमाथि परोस्।
17 “ ‘यदि कुनै मानिसले आफ्नी बहिनी अर्थात् आफ्नो बुबा वा आमाकी छोरीलाई विवाह गर्छ र त्यससित सहवास गर्छ भने त्यो अपराध हो। त्यो आफ्ना मानिसहरूका दृष्टिमा बहिष्कृत हुनैपर्छ। त्यसले आफ्नी बहिनीको अपमान गरेको छ, र त्यो जिम्मेवार ठहराइनेछ।
18 “ ‘यदि कुनै मानिसले स्त्रीसित त्यसको रजस्वलाको समयमा सहवास गर्यो भने त्यसले उसको रक्तस्रावको मूललाई उदाङ्गो बनाएको छ। अनि त्यसले पनि त्यो खोलिदिएकी छे। ती दुवै आफ्ना मानिसहरूबाट बहिष्कृत हुनुपर्छ।
19 “ ‘आफ्नी आमाकी अथवा बुबाकी दिदीबहिनीसित सहवास नगर्नू। किनकि त्यसद्वारा आफ्नो नजिकको नातेदारको अपमान हुनेछ। तिमीहरू दुवै त्यसको जिम्मेवार हुनेछौ।
20 “ ‘यदि कुनै मानिसले आफ्नी काकी अथवा ठूली आमासित सहवास गर्यो भने त्यसले काका अथवा ठूलो बुबाको अपमान गर्छ। तिनीहरू त्यस पापको जिम्मेवार हुनेछन्; र तिनीहरू निःसन्तान भई मर्नेछन्।
21 “ ‘यदि कुनै मानिसले आफ्नो दाजु वा भाइकी पत्नीलाई विवाह गर्यो भने त्यो अशुद्ध काम हो। त्यसले आफ्ना दाजुभाइको अपमान गरेको छ। तिनीहरू निःसन्तान हुनेछन्।
22 “ ‘मेरा सबै उर्दीहरू र नियमहरू पालन गरेर त्यसको अनुसरण गर्नू, ताकि मैले तिमीहरूलाई बसोबास गर्न जुन ठाउँमा लैजाँदैछु, त्यसले तिमीहरूलाई नत्यागोस्*मूल भाषामा नओकलोस्। 23 मैले तिमीहरूको सामुबाट धपाइदिन लागेको जातिहरूका रीतिअनुसार नचल्नू। यसैकारण मैले तिनीहरूलाई घृणा गरेँ। 24 तर मैले तिमीहरूलाई भनेको छु, “तिमीहरूले तिनीहरूको देश अधिकार गर्न पाउनेछौ। म त्यसलाई अर्थात् दूध र मह बग्ने देशलाई अधिकारस्वरूप तिमीहरूलाई दिनेछु।” म याहवेह नै तिमीहरूका परमेश्वर हुँ, जसले तिमीहरूलाई अरू जातिहरूबाट अलग गरेको छु।
25 “ ‘यसकारण तिमीहरूले शुद्ध र अशुद्ध पशुहरूको बीचमा अनि शुद्ध र अशुद्ध पक्षीहरूको बीचमा भिन्नता राख्नुपर्छ। जमिनमा हिँड्ने र मैले तिमीहरूका निम्ति अशुद्ध भनी अलग गरेको जुनसुकै पशु अथवा पक्षी—केही कुराद्वारा तिमीहरूले आफूलाई अशुद्ध नतुल्याउनू। 26 तिमीहरू पवित्र हुनैपर्छ। किनकि म याहवेह पवित्र छु। मैले तिमीहरूलाई मेरा आफ्नै बनाउनलाई अरू जातिहरूबाट अलग पारेको छु।
27 “ ‘तिमीहरूका बीचमा भएको कुनै पुरुष अथवा स्त्रीले तन्त्रमन्त्र गर्नेझैँ मध्यस्थको अथवा तन्त्रमन्त्रको काम गर्यो भने त्यो मारिनैपर्छ। तिमीहरूले तिनीहरूलाई ढुङ्गाले हिर्काएर मार्नू। तिनीहरूको रगत तिनीहरूका आफ्नै शिरमाथि परोस्।’ ”