15
हराएको भेडाको दृष्टान्त
1 येशूको वचन सुन्नलाई कर उठाउनेहरू र पापीहरू उहाँको वरिपरि जम्मा भइरहेका थिए। 2 तर फरिसीहरू र व्यवस्थाका शिक्षकहरूले गनगन गर्दै भन्न लागे, “यस मानिसले पापीहरूलाई ग्रहण गर्छ र तिनीहरूसित नै खानपान गर्छ।”
3 तब येशूले तिनीहरूलाई यो दृष्टान्त भन्नुभयो: 4 “मानौँ तिमीहरूमध्ये कसैको एक सय भेडाहरू छन् र तीमध्ये एउटा हरायो भने के उसले उनान्सयलाई खुला मैदानमै छोडेर हराएको भेडालाई नभेट्टाउन्जेल त्यसको खोजी गर्दैन र? 5 अनि हराएको भेडा भेट्टाएपछि उसले रमाउँदै त्यसलाई आफ्नो काँधमा बोक्छ, र घर जान्छ। 6 त्यसपछि उसले आफ्ना मित्रहरू र छिमेकीहरूलाई बोलाएर भन्छ, ‘मसँग रमाओ। मैले मेरो हराएको भेडा भेट्टाएको छु।’ 7 म तिमीहरूलाई भन्दछु, त्यसरी नै स्वर्गमा पनि पश्चात्ताप गर्न नपर्ने उनान्सय धर्मी जनहरूका लागि भन्दा पश्चात्ताप गर्ने एक जना पापीको लागि अझ बढी आनन्द मनाइनेछ।
हराएको सिक्काको दृष्टान्त
8 “अथवा कुनचाहिँ स्त्री होली, जससँग दश वटा चाँदीका सिक्का छन्, र उसले एउटा सिक्का हराई; तब के त्यो सिक्का नभेट्टाउन्जेल उसले बत्ती बालेर घर बढारी-बढारीकन होसियारीसाथ खोज्दिन र? 9 अनि जब उसले त्यो सिक्का भेट्टाउँछे, तब आफ्ना मित्रहरू र छिमेकीहरूलाई बोलाएर भन्छे, ‘आओ, मसँग रमाओ; किनकि मैले हराएको सिक्का भेट्टाएकी छु।’ 10 म तिमीहरूलाई भन्दछु, त्यसरी नै पश्चात्ताप गर्ने एक जना पापीका लागि परमेश्वरका स्वर्गदूतहरूका सामु आनन्द मनाइनेछ।”
हराएको छोराको दृष्टान्त
11 येशूले बोल्ने क्रम जारी राख्नुभयो: “कुनै मानिसका दुई छोराहरू थिए। 12 कान्छोले आफ्ना बुबालाई भन्यो, ‘बुबा, मेरो भागमा पर्ने अंश मलाई दिनुहोस्।’ तब तिनले आफ्नो सम्पत्ति तिनीहरूलाई बाँडिदिए।
13 “धेरै दिन नबित्दै कान्छो छोरा आफूसँग भएको सबै धनसम्पत्ति बटुलेर टाढा देशमा गयो। त्यहाँ त्यसले आफ्नो सम्पत्ति भोग-विलासमा उडायो। 14 त्यसले सबै खर्च गरिसकेपछि त्यस देशभरि ठूलो अनिकाल पर्यो, र त्यसलाई अभाव हुन थाल्यो। 15 यसकारण त्यो गएर त्यस देशका एक जना नागरिककहाँ काम माग्यो। त्यस मानिसले उसलाई सुँगुरहरू चराउन आफ्नो खेतमा पठायो। 16 त्यसले सुँगुरहरूले खाने चारोहरूले आफ्नो पेट भर्न चाहन्थ्यो, तर कसैले पनि त्यसलाई केही दिँदैनथ्यो।
17 “त्यसको आफ्नो चेत खुलेपछि त्यसले भन्यो, ‘मेरा बुबाका कति धेरै ज्यालादारी सेवकहरूले पेटभरि खाएर उबार्छन् पनि, तर म यहाँ भोकले मर्दैछु! 18 अब म मेरा बुबाकहाँ फर्केर जानेछु, र उहाँलाई भन्नेछु: बुबा, मैले स्वर्गको विरुद्धमा र तपाईंको विरुद्धमा पाप गरेको छु। 19 म अब तपाईंको छोरा भनिने योग्यको छैनँ; मलाई तपाईंका ज्यालादारी सेवकहरूमध्ये एउटासरह बनाउनुहोस्!’ 20 अनि त्यो उठेर आफ्नो बुबाकहाँ गयो।
“तर ऊ धेरै टाढामै थियो, तब त्यसका बुबाले त्यसलाई आइरहेको देखेर तिनी त्यसप्रति दयाले भरिए; तब तिनी आफ्नो छोराकहाँ दगुर्दै गई त्यसलाई अँगालो हालेर चुम्बन गरे।
21 “तब छोराले बुबालाई भन्यो, ‘बुबा, मैले स्वर्गको विरुद्धमा र तपाईंको विरुद्धमा पाप गरेको छु। म अब तपाईंको छोरा भनिने योग्यको छैनँ।’
22 “तर बुबाले आफ्ना सेवकहरूलाई भने, ‘छिटो गर! सबैभन्दा असल लुगा ल्याएर यसलाई पहिराइदेओ। यसको हातमा औँठी र खुट्टामा जुत्ता लगाइदेओ। 23 पोसिराखेको मोटो पशु ल्याएर मार। हामी भोज गरौँ, र आनन्द मनाऔँ। 24 किनकि मेरो यो छोरो मरेको थियो, अब फेरि जीवित भएको छ; यो हराएको थियो, र भेट्टाइएको छ।’ अनि तिनीहरूले आनन्द मनाउन थाले।
25 “त्यस बेला तिनको जेठो छोरो खेतबारीमा थियो। ऊ घरको नजिकै आइपुग्दा उसले बाजा र नाचगानको आवाज सुन्यो। 26 त्यसकारण उसले एउटा सेवकलाई बोलाएर ‘के हुँदैछ’ भनी सोध्यो। 27 त्यसले जवाफ दियो, ‘तपाईंको भाइ आउनुभएको छ। अनि तपाईंका बुबाले पालिराखेको मोटो पशु मार्नुभएको छ। किनकि उहाँले तिनलाई सुरक्षित र सकुशल नै पाउनुभएको छ।’
28 “तब जेठो दाजु रिसाएर भित्र जान मानेन। त्यसकारण त्यसको बुबा बाहिर गएर त्यसलाई फकाउन थाले। 29 तर त्यसले आफ्नो बुबालाई जवाफ दियो, ‘हेर्नुहोस्! यतिका वर्षसम्म मैले तपाईंको सेवा गरिरहेको छु। अनि तपाईंका आज्ञा कहिल्यै उल्लङ्घन गरिनँ; तापनि मैले मेरा साथीहरूसँग आनन्द मनाउन तपाईंले मलाई एउटा पाठोधरि कहिल्यै दिनुभएन। 30 तर जब तपाईंको सम्पत्ति वेश्याहरूसँग उडाउने तपाईंको यो छोरा घर आयो, तब तपाईंले त्यसका निम्ति पोसाइराखेको मोटो पशु नै मार्नुभयो।’
31 “बुबाले भने, ‘मेरो छोरा, तँ त सधैँ मसँगै छस्। मसँग भएका सबै थोक तेरै हो। 32 तर हामीले आनन्द मनाएर खुशी हुनुपर्छ; किनकि तेरो यो भाइ मरेको थियो, र फेरि जीवित भएको छ; यो हराएको थियो, र भेट्टाइएको छ।’ ”