नहेम्याहको पुस्तक
1
नहेम्याहको प्रार्थना
1 हकल्याहका छोरा नहेम्याहका वचनहरू:
अर्तसास्त राजाको शासनको बीसौँ वर्षको किसलेव महिनामा जब म फारसको राजधानी शूशनको सहरमा थिएँ, 2 तब मेरा दाजुभाइहरूमध्येका एक जना हनानी केही मानिसहरूसित यहूदाबाट आए। तब मैले तिनीहरूलाई कैदबाट बाँकी रहेका यहूदीहरूको बारेमा र यरूशलेमको बारेमा पनि सोधेँ।
3 तिनीहरूले मलाई भने, “कैदबाट बाँचेर निर्वासनबाट फर्कनेहरू अति कष्टमा र अपहेलनामा परेका छन्। यरूशलेमको पर्खाल भत्काइएको छ, र त्यसका ढोकाहरू आगोद्वारा जलाएर भस्म पारिएका छन्।”
4 जब मैले यो खबर सुनेँ, तब म बसेर रोएँ। मैले केही दिनसम्म विलाप गरेँ, उपवास बसेँ र स्वर्गका परमेश्वरसँग प्रार्थना गरेँ। 5 तब मैले भनेँ:
“हे याहवेह, स्वर्गका परमेश्वर, महान् र भययोग्य परमेश्वर, तपाईंले तपाईंलाई प्रेम गर्नेहरू र तपाईंका आज्ञापालन गर्नेहरूप्रति आफ्नो अचुक प्रेमको करार पूरा गर्नुहुन्छ। 6 इस्राएलका मानिस तपाईंका सेवकहरूका निम्ति तपाईंको अगि तपाईंको सेवकले दिनरात चढाइरहेको प्रार्थना ध्यानसँग सुन्नलाई तपाईंका कानहरूले ध्यान देऊन् र हेर्नलाई आँखा खुला रहून्। हामी सबै इस्राएलीहरूले पाप गरेका छौँ, साथै म र मेरा पिताका घरानाले तपाईंको विरुद्धमा गरेका पापहरू स्वीकार गर्दछु। 7 हामीले तपाईंको विरुद्धमा अति दुष्ट काम गरेका छौँ। तपाईंले तपाईंको सेवक मोशालाई दिनुभएका आज्ञाहरू, उर्दीहरू र व्यवस्थाहरू हामीले पालन गरेका छैनौँ।
8 “तपाईंले आफ्नो सेवक मोशालाई यसो भनेर दिनुभएका वचनहरू सम्झनुहोस्, ‘यदि तिमीहरू अविश्वासी भयौ भने म तिमीहरूलाई जातिहरूका बीचमा छरपस्ट पारिदिनेछु। 9 तर यदि तिमीहरू मकहाँ फर्क्यौ र मेरा आज्ञाहरू पालन गर्यौ भने तिमीहरूका कैदमा लगिएका मानिसहरू पृथ्वीको पल्लो छेउमा भए तापनि म तिनीहरूलाई त्यहाँबाट बटुल्नेछु। अनि तिनीहरूलाई मैले आफ्नो नामको खातिर मेरो वासस्थान हुनलाई चुनेको ठाउँ यरूशलेममा ल्याउनेछु।’
10 “तिनीहरू तपाईंका सेवक र तपाईंका मानिसहरू हुन्, जसलाई तपाईंले आफ्नो महान् शक्ति र सामर्थी हातले उद्धार गर्नुभयो। 11 हे प्रभु, तपाईंको कान तपाईंको यस सेवकको प्रार्थना र तपाईंको नामको डर मान्नलाई खुशी हुने तपाईंका सेवकहरूका प्रार्थनाप्रति ध्यान केन्द्रित रहून्। राजाको उपस्थितिमा निगाह प्राप्त गर्न दिएर तपाईंको सेवकलाई सफलता दिनुहोस्।”
म राजालाई दाखमद्य टक्राउने अधिकृत थिएँ।