2
बुद्धिबाट प्राप्‍त हुने नैतिक लाभहरू
हे मेरो छोरा, “यदि तिमीले मेरो वचन मान्यौ
र मेरा आज्ञाहरू आफूभित्र सावधानीसाथ राख्यौ भने,
आफ्नो कान बुद्धिका कुरामा फर्कायौ
र तिम्रो हृदयलाई समझशक्तितिर लगायौ भने,
साँच्‍चै, तिमीले अन्तर्दृष्‍टिको निम्ति आह्वान गर्‍यौ भने,
र समझशक्तिको निम्ति जोडसित पुकार्‍यौ भने,
र तिमीले त्यसलाई चाँदीझैँ चाहना गर्‍यौ भने,
अनि लुकाइएको गाडधनजस्तै त्यसलाई खोज्यौ भने,
तब तिमीले याहवेहप्रति भय मान्‍नुको अर्थ बुझ्नेछौ,
र परमेश्‍वरको ज्ञान प्राप्‍त गर्नेछौ।”
किनकि याहवेहले बुद्धि दिनुहुन्छ,
अनि उहाँकै मुखबाट ज्ञान र समझशक्तिका कुराहरू निस्कन्छन्।
उहाँले धर्मीहरूका निम्ति सफलता साँचेर राख्नुहुन्छ;
निर्दोष जीवन जिउनेहरूका निम्ति उहाँ ढाल हुनुहुन्छ,
किनकि उहाँले न्यायका मार्गको रक्षा गर्नुहुन्छ,
र उहाँले आफ्ना विश्‍वासयोग्य जनहरूका मार्ग सुरक्षित राख्नुहुन्छ।
 
तब तिमीले धार्मिकता, न्याय र निष्पक्षता के हो,
हो, असल मार्ग के हो, त्यो बुझ्नेछौ।
10 किनकि बुद्धि तिम्रो हृदयमा पस्‍नेछ,
र ज्ञानचाहिँ तिम्रो प्राणको निम्ति आनन्ददायक हुनेछ।
11 विवेकले तिमीलाई हेरचाह गर्नेछ,
र समझशक्तिले तिम्रो रक्षा गर्नेछ।
 
12 बुद्धिले तिमीलाई दुष्‍ट मानिसको मार्ग,
र भ्रष्‍ट कुरा गर्ने मानिसबाट जोगाउनेछ,
13 जसले अन्धकारका मार्गहरूमा हिँड्नका लागि
सीधा मार्गहरू त्यागेका छन्,
14 जो खराबी गर्नमा रमाउँछन्,
र दुष्‍टहरूका भ्रष्‍टतामा आनन्दित हुन्छन्,
15 जसका चालहरू टेढा,
र आफ्ना मार्गहरूमा कुटिल छन्।
 
16 बुद्धिले तिमीलाई व्यभिचारिणी स्त्रीबाट
र स्वेच्छाचारी स्त्रीका लोभ्याउने कुराहरूबाट जोगाउनेछ,
17 जुन स्त्रीले आफ्नो युवा अवस्थाको जीवन साथीलाई त्यागेकी छे,
र त्यसले परमेश्‍वरसित बाँधेको करारलाई इन्कार गरेकी छे।
18 निश्‍चय नै त्यसको घरले मृत्युतिर
र त्यसका मार्गहरूले मृतकहरूका आत्मातिर पुर्‍याउँछन्।
19 त्यससित जाने पुरुष फर्किआउँदैन,
न त जीवनको मार्ग नै प्राप्‍त गर्छ।
 
20 यसरी तिमी असल मानिसहरूका कदम अनुसरण गर्नेछौ,
र धर्मी मानिसको बाटोमा लागिरहनेछौ।
21 किनकि धर्मीहरू देशमा बास गर्नेछन्,
र निर्दोष मानिसहरू त्यहाँ रहिरहनेछन्,
22 तर दुष्‍टहरूचाहिँ देशबाट हटाइनेछन्,
र विश्‍वासघातीहरू त्यहाँबाट जरैसमेत उखालिनेछन्।