19
1 भ्रष्ट ओठ भएको मानिसभन्दा त
निर्दोष जीवन भएको गरिब असल हो।
2 ज्ञानविनाको उत्साह असल हुँदैन;
हतार गर्नेले बाटो बिराउँछ।
3 मानिसको आफ्नै मूर्खताले त्यसको जीवन बरबादीमा पुर्याउँछ;
तरै पनि त्यसको हृदयले याहवेहको विरुद्धमा रिस प्रकट गर्छ।
4 धनले धेरै मित्रहरू बनाउँछ;
तर गरिबको सबैभन्दा नजिकको साथीले पनि तिनीहरूलाई त्यागिदिन्छ।
5 झूटो गवाही दिने दण्ड नपाई उम्कनेछैन,
र झूटो कुरा गर्ने मानिस स्वतन्त्र हुँदैन।
6 धेरैले शासकदेखि निगाह प्राप्त गर्न चाहन्छन्;
र सबै मानिसहरू उपहार दिनेको मित्र हुन्छन्।
7 गरिब मानिस आफ्नै नातेदारहरूद्वारा घृणा गरिन्छ,
त्यसका मित्रहरू झन् त्यसबाट कति टाढा रहलान्!
त्यसले बिन्तीभाउ गरी तिनीहरूका पछि लागे तापनि
तिनीहरू केही प्रतिक्रिया दिँदैनन्*मूल भाषामा यसको अर्थ अनिश्चित छ।।
8 बुद्धि पाउनेले आफ्नै जीवनलाई प्रेम गर्छ;
समझशक्तिको कदर गर्ने व्यक्तिको फलिफाप हुन्छ।
9 झूटो गवाही दिने दण्ड नपाई उम्कनेछैन;
र झूटो कुरा गर्ने नष्ट हुनेछ।
10 मूर्खलाई विलासी भएर बस्न सुहाउँदैन;
दासलाई राजकुमारहरूमाथि शासन गर्न झन् पटक्कै सुहाउँदैन!
11 बुद्धिले मानिसलाई धैर्यता दिन्छ;
अपराध बेवास्ता गर्नुचाहिँ उसको लागि महिमा हुन्छ।
12 राजाको क्रोध सिंहको गर्जनजस्तै हुन्छ;
तर तिनको निगाहचाहिँ घाँसमाथि परेको शीतजस्तै हुन्छ।
13 मूर्ख छोराछोरी आफ्ना बुबाको लागि पतन हो;
र कचकचे पत्नीचाहिँ
तपतप चुहिरहने छानाजस्तै हो।
14 घर र सम्पत्ति आमाबुबाबाट आएका हुन्छन्,
तर विवेकी पत्नीचाहिँ याहवेहले मात्र दिन सक्नुहुन्छ।
15 अल्छेपनले घोर निद्रा ल्याउँछ,
र काम नगर्ने मानिस भोकै रहन्छ।
16 आज्ञापालन गर्नेले आफ्नो जीवनको रक्षा गर्छ,
तर तिनलाई तिरस्कार गर्नेहरू मर्नेछन्।
17 गरिबहरूप्रति दयालु हुनेले याहवेहलाई सापट दिन्छ,
र उहाँले तिनीहरूको कामको प्रतिफल फिर्ता दिनुहुनेछ।
18 आफ्नो छोराछोरीलाई अनुशासनमा राख; किनकि त्यसमा आशा हुन्छ,
तिनीहरूको मृत्युमा सहभागी नहोऊ।
19 रिसाहा मानिसले परिणाम भोग्नैपर्छ;
त्यसलाई उम्कन दियौ भने फेरि पनि तिमीले त्यसै गर्नुपर्नेछ।
20 सल्लाह सुन, र अनुशासनलाई ग्रहण गर,
र तिम्रो जीवनभरि तिमी बुद्धिमान् हुनेछौ।
21 मानिसका हृदयमा धेरै योजनाहरू हुन्छन्,
तर अन्ततः याहवेहकै उद्देश्य पूरा हुन्छ।
22 मानिसले अचुक प्रेमको इच्छा राख्छ†अथवा लोभ मानिसको शर्म हो।;
झूटो बोल्ने हुनुभन्दा बरु गरिब हुनु नै बेस हो।
23 याहवेहप्रतिको श्रद्धाले जीवनमा पुर्याउँछ,
तब मानिस ढुक्कसँग रहन्छ; दुःखले त्यसलाई छुँदैन।
24 अल्छेले आफ्नो हात थालमा हाल्छ,
र त्यसले आफ्नो हात उठाएर मुखसम्म पनि ल्याउन चाहँदैन!
25 गिल्ला गर्नेलाई कोर्रा लगाऊ, यो देखेर सोझो मानिस चनाखो बन्नेछ;
विवेकशील मानिसहरूलाई हप्काऊ, र तिनीहरूले ज्ञान बढाउनेछन्।
26 आफ्ना बुबालाई लुट्ने र आफ्नी आमालाई
बाहिर निकाल्ने छोराछोरीले शर्म र कलङ्क ल्याउँदछन्।
27 हे मेरा छोराछोरी, अर्तीलाई सुन्न छोड्यौ भने,
तिमीहरू ज्ञानका वचनहरूदेखि बहकिनेछौ।
28 भ्रष्ट गवाहीले न्यायलाई खिसी गर्छ,
र दुष्टको मुखले दुष्टतालाई निल्छ।
29 खिसी गर्नेहरूका निम्ति दण्डहरू,
र मूर्खहरूका पिठिउँका निम्ति पिटाइहरू तयार पारिएका हुन्छन्।