भजन 11
सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन।
1 याहवेहमा म शरण लिन्छु,
तिमीहरू कसरी मलाई यसो भन्न सक्छौ:
“चराझैँ तिम्रो डाँडामा उडिजाऊ,
2 किनकि हेर, दुष्टहरूले आफ्नो धनुमा ताँदो चढाउँछन्;
अँध्यारोबाट काँड ताकेर
सोझो हृदय भएकाहरूलाई हान्नका निम्ति
तिनीहरूले आफ्नो काँड ताँदोमा चढाएका छन्।
3 जब जगहरू नै नष्ट पारिन्छन् भने,
धर्मी जनहरूले के गर्न सक्छन् र?”
4 याहवेह आफ्नो पवित्र मन्दिरमा हुनुहुन्छ;
याहवेह आफ्नो स्वर्गीय सिंहासनमा विराजमान हुनुहुन्छ।
उहाँले पृथ्वीका सबै मानिसहरूलाई नियालेर हेर्नुहुन्छ;
उहाँले आफ्ना आँखाले तिनीहरूको जाँच गर्नुहुन्छ।
5 याहवेहले धर्मीहरूलाई जाँच गर्नुहुन्छ;
तर दुष्ट, जसले हिंसा रुचाउँछन्,
उहाँले तिनीहरूलाई घृणा गर्नुहुन्छ।
6 दुष्टहरूमाथि उहाँले
प्रचण्ड आगो र बल्दो गन्धक बर्साउनुहुनेछ;
र पोल्ने हावा तिनीहरूको भाग हुनेछ।
7 किनकि याहवेह धर्मी हुनुहुन्छ,
उहाँले न्यायलाई प्रेम गर्नुहुन्छ;
धर्मी मानिसहरूले उहाँको मुहारको दर्शन गर्नेछन्।