भजन 19
सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन।
आकाशले परमेश्‍वरको महिमाको वर्णन गर्दछ;
अन्तरिक्ष मण्डलले उहाँका हातका कामहरू प्रकट गर्दछन्।
हरेक दिनले अर्को दिनसँग परमेश्‍वरको महिमाको चर्चा गर्दछ;
हरेक रातले अर्को रातलाई उहाँका ज्ञानको प्रदर्शन गर्दछ।
तिनीहरू बोल्दैनन्, न त तिनीहरूको बोल्ने शब्दहरू नै छन्;
तिनीहरूबाट कुनै सोर सुनिँदैन।
तरै पनि तिनीहरूका सोर*मूल भाषामा नाप्‍ने रेखा सारा पृथ्वीभरि पुग्दछ;
तिनीहरूका आवाज संसारको अन्त्यसम्म पुगेका छन्।
परमेश्‍वरले आकाशमा सूर्यको निम्ति एउटा वासस्थान बनाउनुभएको छ।
जुनचाहिँ विवाह-मण्डपबाट निस्केको दुलहाझैँ छ,
दौडमा दौडिने धावकको विजयमा झैँ रमाउँछ।
त्यो आकाशको एक कुनाबाट उदाउँछ,
र अर्को कुनासम्म चक्‍कर लगाउँछ;
त्यसको तापबाट कुनै कुरो लुकिरहन सक्दैन।
 
याहवेहका व्यवस्थाहरू सिद्ध छन्,
प्राणलाई ताजा गराउने,
याहवेहका कानुनहरू विश्‍वासयोग्य छन्;
सोझा व्यक्तिलाई बुद्धिमान् तुल्याउने।
याहवेहका नियमहरू ठिक छन्,
हृदयलाई आनन्दित गराउने,
याहवेहका आज्ञाहरू उज्ज्वल छन्,
आँखालाई ज्योति दिने।
याहवेहको भय स्वच्छ छ,
अनन्तकाल सम्मै स्थिर रहिरहने;
याहवेहका उर्दीहरू अटल छन्,
ती सबै धार्मिक सत्य छन्।
 
10 ती सुनभन्दा पनि ज्यादै बहुमूल्य,
निखुर सुनभन्दा, अझ ज्यादा बहुमूल्य छन्;
ती महभन्दा मिठा,
चाकाबाट झर्दै गरेको महभन्दा मिठा छन्।
11 तीद्वारा तपाईंका सेवकले चेतावनी पाउँछ;
ती पालन गर्दा ठूलो प्रतिफल मिल्छ।
12 तर कसले आफ्ना भूलहरू छुट्ट्याउन सक्छन्?
मेरा गुप्‍त दोषहरू क्षमा गरिदिनुहोस्!
13 आफ्नै स्वइच्छाले गरेका पापहरूबाट तपाईंले आफ्नो सेवकलाई जोगाउनुहोस्;
ममाथि ती प्रभुत्व हुन नपाओस्;
अनि म दोषरहित
र घोर अपराधहरूबाट निर्दोष हुनेछु।
 
14 हे याहवेह, मेरा चट्टान र मेरा उद्धारक!
मेरा मुखका वचनहरू र मेरा हृदयका ध्यान
तपाईंका दृष्‍टिमा ग्रहणयोग्य हुन सकून्।

*भजन 19:4 मूल भाषामा नाप्‍ने रेखा