भजन 70
सङ्गीत निर्देशकको निम्ति, दावीदको बिन्ती भजन।
1 हे परमेश्वर, मलाई बचाउनुहोस्;
हे याहवेह, मलाई सहायता गर्न चाँडै आउनुहोस्!
2 मेरो प्राण लिन खोज्नेहरू
सबै जना शर्ममा र अन्योलमा परून्;
मेरो विनाश चाहनेहरू
सबै पिठिउँ फर्काएर भागून् र अपमानित होऊन्।
3 मलाई “खुच्चिङ! खुच्चिङ!” भन्दै ठट्टा उडाउनेहरू,
लाजको कारण पछि फर्कून्।
4 तर तपाईंलाई खोज्नेहरू सबै,
तपाईंमा रमाऊन् र आनन्दित होऊन्;
तपाईंको मुक्तिको चाहना गर्नेहरू सबैले सधैँ यसो भनून्,
“परमेश्वर महान् हुनुहुन्छ!”
5 तर म त गरिबी र अभावमा छु;
हे परमेश्वर, मकहाँ चाँडो आउनुहोस्;
तपाईं मेरा सहायक र छुटकारा दिने हुनुहुन्छ;
हे याहवेह, ढिलो नगर्नुहोस्!