भजन 84
सङ्गीत निर्देशकको निम्ति, गित्तित, कोरहका छोराहरूको भजन।
1 हे सेनाहरूका याहवेह!
तपाईंको वासस्थान कति मनोहर छ,
2 याहवेहको मन्दिरका चोकहरूको निम्ति
मेरो प्राणले तिर्सना गर्दछ, र मूर्च्छा नै पर्छ;
मेरो हृदय र मेरो शरीर दुवैले
जीवित परमेश्वरको पुकार गर्दछ।
3 हे सेनाहरूका याहवेह, मेरा राजा अनि मेरा परमेश्वर,
तपाईंका वेदीको नजिक
भँगेरीले पनि घर पाउँछे,
अनि गौँथलीले गुँड पाउँछे,
जहाँ आफ्ना बचेराहरूलाई हुर्काउँछे।
4 तपाईंको वासस्थानमा बस्ने धन्यका हुन्;
तिनीहरू सदा तपाईंको प्रशंसा गर्छन्।
सेला
5 तिनीहरू धन्यका हुन्, जसको बल तपाईंमा छ;
जसले आफ्ना मन सियोनको यात्रामा लगाएका छन्।
6 तिनीहरू बाकाको*बाकाको अर्थ हो आँसु बेँसीबाट भएर जाँदा,
तिनीहरूले त्यसलाई जलस्रोत बनाउँछन्;
शरद ऋतुको वर्षाले त्यहाँ आशिष्†अथवा तलाउहरू हुँदछ।
7 तिनीहरूले बलमाथि बल प्राप्त गर्दै जान्छन्;
जबसम्म प्रत्येक सियोनमा परमेश्वरको सामु उपस्थित हुँदैनन्।
8 हे याहवेह सेनाहरूका परमेश्वर, मेरो प्रार्थना सुन्नुहोस्;
हे याकोबका परमेश्वर, मेरो बिन्ती सुन्नुहोस्!
सेला
9 हे परमेश्वर, जो हाम्रो ढाल हुनुहुन्छ, हामीलाई हेर्नुहोस्;
तपाईंको आफ्नो अभिषिक्तमाथि कृपादृष्टि गर्नुहोस्!
10 तपाईंको मन्दिरको चोकमा एक दिन
अरू ठाउँको हजार दिनभन्दा उत्तम छ;
दुष्टहरूका पालहरूमा बस्नुभन्दा त,
बरु मेरा परमेश्वरको भवनको ढोके हुन मलाई मन पर्छ,
11 किनकि याहवेह परमेश्वर सूर्य र ढाल हुनुहुन्छ;
याहवेहले निगाह र इज्जत दिनुहुन्छ;
सत्य मार्गमा हिँड्नेहरूलाई
याहवेहले कुनै भलो कुराबाट वञ्चित राख्नुहुन्न।
12 हे सेनाहरूका याहवेह,
तपाईंमा भरोसा राख्ने मानिसहरू धन्यका हुन्।