भजन 97
याहवेहले राज्य गर्नुहुन्छ, पृथ्वी रमाओस्;
टाढाका समुद्री तटहरू पनि आनन्दित होऊन्।
उहाँको वरिपरि बादल र बाक्लो अन्धकार छाएको छ;
धार्मिकता र न्याय उहाँका सिंहासनका जग हुन्।
आगो उहाँको अगि-अगि जान्छ,
र उहाँका वरिपरि रहेका वैरीहरूलाई भस्म पार्छ।
उहाँका बिजुलीले संसारलाई उज्यालो पार्दछ;
पृथ्वीले यो देख्दछ, र थरथरी काम्दछ।
याहवेहको सामु, पर्वतहरू मैनझैँ पग्लन्छन्,
उहाँको सामु, जो सारा पृथ्वीका प्रभु हुनुहुन्छ।
स्वर्गले उहाँका धार्मिकताको घोषणा गर्दछ,
र समस्त जातिहरूले उहाँका महिमा देख्नेछन्।
 
मूर्तिहरूलाई आराधना गर्नेहरू, र मूर्तिहरूमा घमण्ड गर्नेहरू,
सबै जना शर्ममा पर्नेछन्;
हे सबै देवताहरू हो, तिमीहरूले याहवेहको आराधना गर!
 
तपाईंकै न्यायको कारण हे याहवेह,
सियोनले सुन्छ र आनन्दित हुन्छ;
र यहूदाका गाउँहरू हर्षित हुन्छन्।
किनकि हे याहवेह, तपाईं सारा पृथ्वीभन्दा सर्वोच्‍च परमेश्‍वर हुनुहुन्छ;
तपाईं सबै देवताहरूभन्दा अति उच्‍च हुनुहुन्छ।
10 याहवेहलाई प्रेम गर्नेहरू सबैले दुष्‍टतालाई घृणा गरून्;
किनकि उहाँले आफ्ना भक्तहरूको प्राणको रक्षा गर्नुहुन्छ
र तिनीहरूलाई दुष्‍टहरूको हातबाट छुटाउनुहुन्छ।
11 धर्मीहरूमाथि ज्योति प्रकाशमान् हुन्छ
र सोझो मन भएकाहरूमाथि आनन्द छाउँछ।
12 हे धर्मीहरू हो, याहवेहमा रमाहट गर;
र उहाँका पवित्र नामको प्रशंसा गर!