भजन 102
विपत्तिमा परेको मानिसले याहवेहको सामु वर्णन गरेको विलाप।
हे याहवेह, मेरो प्रार्थना सुन्‍नुहोस्;
सहायताको निम्ति मेरो पुकार तपाईंका सामु पुगोस्!
मेरो कष्‍टको समयमा
आफ्नो मुहार मबाट नलुकाउनुहोस्;
तपाईंको कान मतिर लगाउनुहोस्;
जब म पुकार गर्दछु, मलाई तुरुन्तै जवाफ दिनुहोस्!
 
किनकि मेरा दिनहरू धुवाँझैँ लोप भएर जान्छन्;
मेरा हाडहरू सल्केका भुङ्ग्रोझैँ जल्दछन्।
मेरो हृदय घाँसझैँ ओइलाएर सुकेको छ;
म आफ्नो भोजन खान पनि बिर्सन्छु।
मेरो पीडामा म चर्को सोरले कराएको कारण,
म हाड र छाला भएको छु।
म उजाडस्थानको उल्‍लुझैँ भएको छु;
भग्नावशेषमा बस्‍ने उल्‍लुझैँ छु।
अनिद्राले गर्दा म जागा रहन्छु;
म छानामाथिको एकलो चरोझैँ भएको छु।
दिनभरि मेरा शत्रुहरूले मेरो गिल्‍ला गर्छन्;
मेरो खिल्‍ली उडाउनेहरूले मेरो नाम सरापको रूपमा प्रयोग गर्छन्।
किनकि म खरानीलाई भोजनको रूपमा खान्छु,
र म आफ्नो आँसु मिसिएको पानी पिउँछु;
10 किनकि तपाईंको ठूलो क्रोधले गर्दा,
तपाईंले मलाई उठाएर एकापट्टि फाल्नुभएको छ।
11 मेरा दिनहरू साँझको छायाजस्तै बित्दछन्;
म घाँसझैँ ओइलाएको छु।
 
12 तर तपाईं, हे याहवेह, सदाको निम्ति विराजमान हुनुहुन्छ;
तपाईंको कीर्ति पुस्तौँ-पुस्तासम्म रहिरहन्छ।
13 तपाईं उठ्नुहुनेछ र सियोनमाथि कृपा गर्नुहुनेछ;
किनकि सियोनमाथि दया गर्ने समय अहिले नै हो;
अब तोकिएको त्यो समय आइपुगेको छ।
14 किनकि तपाईंका सेवकहरूलाई त्यहाँका ढुङ्गाहरू अति प्रिय छन्;
त्यहाँको धुलोले समेत तिनीहरूलाई दया देखाउँछन्।
15 जाति-जातिहरूले याहवेहको नामको भय मान्‍नेछन्,
पृथ्वीका सबै राजाहरूले तपाईंको महिमाको आदर गर्नेछन्।
16 किनकि याहवेहले सियोनलाई पुनर्निर्माण गर्नुहुनेछ,
र उहाँ आफ्नो महिमामा प्रकट हुनुहुनेछ।
17 उहाँले बेसहाराका प्रार्थनाप्रति ध्यान दिनुहुनेछ;
उहाँले तिनीहरूका बिन्तीलाई तुच्छ ठान्‍नुहुनेछैन।
 
18 यी कुरा भावी पुस्ताको निम्ति लेखियोस्:
ताकि अहिलेसम्म सृष्‍टि नगरिएका मानिसहरूले समेत याहवेहको प्रशंसा गरून्:
19-20 यसरी उहाँले कैदीहरूका क्रन्दन सुन्‍न,
र मृत्युदण्ड पाएकाहरूलाई मुक्त गर्न,
उच्‍च स्थानमा रहेको आफ्नो पवित्रस्थानबाट हेर्नुभयो;
स्वर्गबाट तल पृथ्वीमाथि दृष्‍टि गर्नुभयो।
21-22 त्यस बेला, जब याहवेहको आराधना गर्नलाई
जाति-जातिहरू र राज्यहरू एकत्रित हुनेछन्।
यसकारण सियोनमा याहवेहको नामको
र यरूशलेममा उहाँको प्रशंसा घोषणा गरिनेछ।
 
23 मेरो जीवनकालमा, उहाँले मेरो बल तोडिदिनुभयो;
र मेरा दिनहरू घटाइदिनुभयो।
24 त्यसैले मैले भनेँ:
“हे मेरा परमेश्‍वर, मेरो आधा उमेरमा नै मलाई उठाइ नलैजानुहोस्;
तपाईंका वर्षहरू त पुस्तौँ-पुस्तासम्म रहिरहन्छन्।
25 सुरुमा तपाईंले पृथ्वीको जग बसाल्नुभयो;
र स्वर्ग तपाईंकै हातका काम हुन्।
26 तिनीहरू नाश भएर जानेछन्, तर तपाईंचाहिँ रहिरहनुहुन्छ;
तिनीहरू कपडाझैँ सबै फाटेर जानेछन्।
लुगा फेरेझैँ तपाईंले तिनलाई फेर्नुहुनेछ,
र ती फालिनेछन्।
27 तर तपाईंचाहिँ एकनास रहनुहुन्छ,
तपाईंका वर्षहरूको अन्त्य कहिल्यै हुनेछैन।
28 तपाईंका सेवकहरूका सन्तान तपाईंको उपस्थितिमा बास गर्नेछन्;
तिनीहरूका सन्तान तपाईंको सामु स्थिर रहनेछन्।”