भजन 108
एउटा गीत, दावीदको भजन।
हे परमेश्‍वर, मेरो हृदय स्थिर छ;
म गाउनेछु र मेरो सम्पूर्ण प्राणले धुन बजाउनेछु।
हे सारङ्गी र वीणा जाग्!
म प्रभातलाई जगाउनेछु।
हे याहवेह, राष्ट्र-राष्ट्रहरूका बीचमा म तपाईंको प्रशंसा गर्नेछु;
जाति-जातिहरूबीच म तपाईंको स्तुति गाउनेछु।
किनकि तपाईंको प्रेम महान् छ, आकाशभन्दा पनि उच्‍च छ;
तपाईंको विश्‍वासयोग्यता आकाशसम्मै पुग्दछ।
हे परमेश्‍वर, स्वर्गभन्दा उच्‍च हुनुहोस्;
सारा पृथ्वीमाथि तपाईंको महिमा रहोस्।
 
तपाईंको दाहिने हातले हामीलाई बचाउनुहोस्, र मदत गर्नुहोस्;
ताकि तपाईंका प्रियजनहरूले छुटकारा पाऊन्।
परमेश्‍वरले उहाँको वासस्थानबाट बोल्नुभएको छ:
“विजयमा म शेकेमलाई विभाजन गर्नेछु,
र सुक्‍कोतको बेँसीलाई नापेर छुट्ट्याउनेछु।
गिलाद मेरो हो, मनश्शे पनि मेरै हो;
एफ्राइम मेरो टोप हो,
यहूदा मेरो राजदण्ड हो।
मोआब मेरो हात धुने भाँडो हो;
एदोममा म आफ्नो जुत्ता फाल्नेछु;
पलिश्तीमाथिको विजयमा म कराउनेछु।”
 
10 किल्‍ला भएको सहरमा मलाई कसले पुर्‍याइदेला?
कसले मलाई एदोमसम्म डोर्‍याउला?
11 हे परमेश्‍वर, तपाईं नै होइन, जसले हामीलाई त्याग्नुभएको छ,
र अहिले हाम्रा सेनाहरूका साथमा पनि जानुभएन?
12 शत्रुहरूका विरुद्धमा हामीलाई सहायता गर्नुहोस्;
किनकि मानिसको सहायता व्यर्थ छ।
13 परमेश्‍वरको सहायताद्वारा हामीले विजय प्राप्‍त गर्नेछौँ;
र उहाँले हाम्रा शत्रुहरूलाई कुल्चनुहुनेछ।