भजन 143
दावीदको भजन।
हे याहवेह, मेरो प्रार्थना सुन्‍नुहोस्;
दयाको लागि मेरो अन्तर्बिन्तीलाई ध्यान दिनुहोस्;
तपाईंको विश्‍वसनीयता र धार्मिकताअनुसार
मलाई जवाफ दिनुहोस्!
आफ्नो सेवकलाई मुद्दा मामिलाको न्यायमा नलैजानुहोस्;
किनकि कोही पनि जीवित मानिस तपाईंको सामु धर्मी ठहरिँदैन।
शत्रुले मलाई लखेट्छ;
त्यसले मलाई जमिनमा लडाएर कुल्चन्छ;
धेरै अगि नै मरिसकेकाहरूजस्तै गरी,
त्यसले मलाई अन्धकारमा बस्‍न बाध्य पार्दछ।
यसर्थ मेरो आत्मा मभित्र खिन्‍न हुन्छ;
मेरो हृदय मभित्रै विचलित भएको छ।
म अतीतका ती दिनहरू सम्झना गर्दछु;
तपाईंका सबै कार्यहरूमा ध्यान गर्दछु,
र तपाईंका हातले गरेका काममाथि विचार गर्दछु।
म मेरा हात तपाईंतिर फैलाउँछु;
सुक्खा जमिनझैँ म तपाईंको निम्ति तिर्खाउँछु।
सेला
 
हे याहवेह, मलाई झट्टै जवाफ दिनुहोस्;
मेरो आत्मा क्षीण हुँदछ।
तपाईंको मुहार मबाट नलुकाउनुहोस्;
नत्र म चिहानभित्र जानेहरूझैँ हुनेछु।
हरेक बिहानले मेरा निम्ति तपाईंको अचुक प्रेमको वचन ल्याओस्;
किनकि तपाईंमा नै मैले आफ्नो भरोसा राखेको छु;
म कुन मार्गमा हिँड्नुपर्ने हो, त्यो मलाई देखाउनुहोस्;
किनकि म मेरो जीवन तपाईंमा अर्पण गर्दछु।
हे याहवेह, मलाई मेरा शत्रुहरूबाट छुटाउनुहोस्;
किनकि म आफूलाई तपाईंमा लुकाउँछु।
10 मलाई तपाईंको इच्छा पूरा गर्न सिकाउनुहोस्;
किनकि तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ।
तपाईंको असल आत्माले
मलाई समतल जमिनमा डोर्‍याऊन्!
 
11 हे याहवेह, आफ्ना नामको खातिर मेरो जीवनको रक्षा गर्नुहोस्;
तपाईंको धार्मिकतामा मलाई कष्‍टबाट छुटाउनुहोस्।
12 तपाईंको अचुक प्रेममा, मेरा शत्रुहरूलाई चुप गराइदिनुहोस्;
मेरा सबै वैरीहरूलाई नाश पार्नुहोस्;
किनकि म तपाईंको सेवक हुँ।