2
एफिससको मण्डलीलाई सन्देश
1 “एफिससमा भएको मण्डलीका दूतलाई लेख:
यी उहाँका वचनहरू हुन्, जसले आफ्नो दाहिने हातमा सात वटा ताराहरू पक्रेर राख्नुभएको छ; अनि जो सात वटा सुनका सामदानहरूका बीचमा हिँड्नुहुन्छ।
2 मलाई तिम्रा कामहरू, तिम्रो कठोर परिश्रम र लगनशीलता थाहा छ। मलाई यो पनि थाहा छ, तिमीले दुष्ट मानिसहरूलाई सहन सक्दैनौ; अनि जो प्रेरित होइनन्, तर प्रेरित हौँ भन्नेहरूलाई तिमीले जाँच्यौ, र तिनीहरू झूटा हुन् भनी पत्ता लगायौ। 3 तिमीले लगनशील भएर मेरो नामको निम्ति दुःख सहेका छौ, तैपनि त्यागेका छैनौ।
4 तर तिम्रो विरुद्धमा मेरो यो गुनासो छ: तिमीले तिम्रो पहिलो प्रेम त्यागेका छौ। 5 तिमी कहाँबाट खसेका छौ, सो स्मरण गर! पश्चात्ताप गर र तिमीले पहिले गरेका कामहरू गर। यदि तिमीले पश्चात्ताप गरेनौ भने म तिमीकहाँ आएर तिम्रो सामदान त्यसको ठाउँबाट हटाइदिनेछु। 6 तर तिमीसँग एउटा राम्रो पक्ष छ: तिमीले निकोलाइटसहरूका कामहरूलाई घृणा गर्दछौ, जसलाई म पनि घृणा गर्दछु।
7 जसको कान छ, त्यसले सुनोस्, पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ। जसले विजय हासिल गर्दछ, त्यसलाई म जीवनको त्यो रूखबाट खान दिनेछु, जुन परमेश्वरको स्वर्गलोकमा छ।
स्मुर्नामा भएको मण्डलीलाई सन्देश
8 “स्मुर्नामा भएको मण्डलीका दूतलाई लेख:
यी उहाँका वचनहरू हुन्, जो आदि र अन्त्य हुनुहुन्छ, जो मर्नुभएको थियो, र अहिले जीवित हुनुभएको छ।
9 मलाई तिमीहरूको पीडा र दरिद्रता थाहा छ; तरै पनि तिमीहरू त धनी छौ! मलाई तिनीहरूले गरेको निन्दा थाहा छ, जो आफैँलाई यहूदीहरू हौँ भनी भन्छन्, तर होइनन्, तिनीहरू त शैतानका सभा हुन्। 10 तिमीहरूले भोग्न लागेका कष्टहरूसित नडराओ। म तिमीहरूलाई भन्दछु, शैतानले तिमीहरूमध्ये कतिलाई जाँच्नलाई कैदमा लैजानेछ; अनि तिमीहरूले दश दिनसम्म सतावट भोग्नेछौ। मृत्युसम्मै विश्वासी होओ, र म तिमीहरूलाई जीवनको मुकुट दिनेछु।
11 जसको कान छ, त्यसले सुनोस्; पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ। जसले जित्छ, त्यसलाई दोस्रो मृत्युले कुनै किसिमले हानि गर्नेछैन।
पर्गामममा भएको मण्डलीलाई सन्देश
12 “पर्गामममा भएको मण्डलीका दूतलाई लेख:
यी उहाँका वचनहरू हुन्, जससित धारिलो दुईधारे तरवार छ।
13 म जान्दछु तिमी कहाँ बस्छौ, त्यहीँ नै जहाँ शैतानको आफ्नो सिंहासन छ। तरै पनि तिमी मेरो नामको निम्ति विश्वासयोग्य भइरह्यौ। तिमीले म प्रतिको तिम्रो विश्वासलाई, मेरो विश्वासयोग्य साक्षी, एन्टिपासको समयमा पनि त्यागेनौ, जुन शैतान बस्ने तिमीहरूको सहरमा मारिएका थिए।
14 तैपनि तिम्रो विरुद्धमा मसित केही कुराहरू छन्: तिमीहरूसँग कोही यस्ता छन्, जसले बालामका शिक्षा मान्दछन्, जसले बालाकद्वारा इस्राएलीहरूलाई पाप गर्न उक्साए, जसले गर्दा तिनीहरूले मूर्तिहरूलाई चढाएको भोजन खाए, र व्यभिचार गरे। 15 यसरी नै तिमीसँग निकोलाइटसको शिक्षा पालन गर्नेहरू पनि छन्। 16 यसकारण पश्चात्ताप गर! नत्रता म चाँडै तिमीकहाँ आएर मेरो मुखको तरवारले तिनीहरूको विरुद्धमा लडाइँ गर्नेछु।
17 जसको कान छ, त्यसले सुनोस्, पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ। जसले विजय हासिल गर्दछ, त्यसलाई म लुकाइराखेको मन्न दिनेछु। म त्यसलाई नयाँ नाम लेखिएको एउटा सेतो पत्थर पनि दिनेछु, जसलाई पाउनेले मात्र जान्नेछ।
थिआटीरामा भएको मण्डलीलाई सन्देश
18 “थिआटीरामा भएको मण्डलीका दूतलाई लेख:
यी परमेश्वरका पुत्रका वचनहरू हुन्, जसका आँखा आगोका ज्वालाझैँ, र जसका पाउहरू टल्काइराखेको काँसझैँ छन्।
19 तिम्रा कामहरू, तिम्रो प्रेम र विश्वास, तिम्रो सेवा र लगनशीलता; अनि मलाई यो पनि थाहा छ, कि तिमीले पहिलेभन्दा अहिले बढी काम गर्दैछौ।
20 तैपनि तिम्रो विरुद्धमा मेरो यो गुनासो छ: तिमीले त्यस स्त्री ईजेबेललाई सहन्छौ, जसले आफूलाई अगमवादिनी हुँ भनी भन्दछे। आफ्ना शिक्षाहरूद्वारा त्यसले मेरा सेवकहरूलाई व्यभिचार गर्न र मूर्तिहरूलाई चढाएका भोजनहरू खान भनी गलत मार्गतिर डोर्याउँछे। 21 मैले त्यसलाई आफ्नो यौन अनैतिकताबाट पश्चात्ताप गर्ने समय दिएँ, तर त्यसले पश्चात्ताप गर्नै चाहिन। 22 यसकारण म त्यसलाई कष्टको ओछ्यानमा थला पारिदिनेछु, र त्यससित व्यभिचार गर्नेहरूले त्यसको मार्गदेखि पश्चात्ताप गरेनन् भने तिनीहरूलाई महा कष्ट दिनेछु। 23 म त्यसका छोराछोरीहरूलाई मृत्युद्वारा नाश पारिदिनेछु। तब सबै मण्डलीहरूले जान्नेछन्, कि हृदय र मनको खोजी गर्ने म नै हुँ; अनि मैले नै तिमीहरू हरेकलाई आफ्ना कामअनुसारको प्रतिफल दिनेछु।
24 अब थिआटीरामा भएका बाँकीलाई म भन्दछु, तिमीहरू जसले त्यसको शिक्षा ग्रहण गरेका छैनौ, र शैतानका गहिरा भेदहरू सिकेका छैनौ, ‘म तिमीहरूमाथि अब अरू कुनै भार थप्दिनँ, 25 तिमीहरूसित जे छ, म नआउन्जेल बलियो गरी पक्रिराख। म तिमीहरूलाई योभन्दा अरू दुःख दिन्नँ।’
26 त्यसकारण जसले विजय हासिल गर्दछ, र अन्त्यसम्म मेरो इच्छा पालन गर्दछ, जसरी मैले मेरा पिताबाट अधिकार पाएको छु, म त्यसलाई राष्ट्रहरूमाथि अधिकार दिनेछु। 27 अनि ‘त्यसले तिनीहरूमाथि फलामको राजदण्डले शासन गर्नेछ; त्यसले तिनीहरूलाई माटाको भाँडा फुटाएझैँ फुटाउनेछ।’*भजन 2:9 28 जसरी मैले मेरा पिताबाट अधिकार पाएको छु, म त्यसलाई बिहानको तारा पनि दिनेछु। 29 जसको कान छ, त्यसले सुनोस्, पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ।