16
अब विश्‍वासीहरूका निम्ति भेटीको बारेमा गलातीका मण्डलीहरूलाई मैले निर्देशन दिएअनुसार तिमीहरूले गर्नू । हप्‍ताको पहिलो दिन तिमीहरूको दक्षताअनुसार हरेकले केही जम्मा गरेर एक ठाउँमा भेला गर, ताकि म आउँदा भेटी उठाउन नपरोस् । र जब म आइपुग्छु, तिमीहरूले समर्थन गरेका व्यक्‍तिको हातमा पत्र लेखेर तिमीहरूको भेटीलाई यरूशलेममा पठाइदिनेछु । र म पनि जानको निम्ति उचित भयो भने, तिनीहरू मसँगै जानेछन् । तर माकेडोनियाको यात्रा गरिसकेपछि म तिमीहरूकहाँ आउनेछु, किनकि म माकेडोनिया भएर जानेछु । सायद म तिमीहरूसँगै बस्‍नेछु अथवा पुरै हिउँद बिताउनेछु, ताकि तिमीहरूले मेरो यात्रामा म जहाँ जान्छु त्यहाँ सहायता गर्न सक । किनकि अब म छोटो समयको निम्ति मात्र तिमीहरूलाई भेट्न चाहन्‍नँ । यदि परमेश्‍वरले मलाई अनुमति दिनुभयो भने मैले तिमीहरूसँग केही समय बिताउने आशा राखेको छु । तर म पेन्तिकोससम्म एफिससमा नै बस्‍नेछु । किनकि मेरो निम्ति फराकिलो ढोका खोलिएको छ, तर त्यहाँ धेरै विरोधीहरू पनि छन् । 10 तिमोथी त्यहाँ आउँदा तिनलाई तिमीहरूसँग बिनाडर बस्‍न देओ, किनकि तिनी पनि मैले जस्तै परमेश्‍वरको सेवा गर्दछन् । 11 कसैले पनि तिनको अवहेलना नगरोस् । शान्तिसँग तिनको यात्रामा सहायता गर, ताकि तिनी मकहाँ आउन सकून् । किनकि तिनी अरू भाइहरूसँगै आउनेछन् भनी मैले आशा गरिरहेको छु । 12 अब हाम्रा भाइ अपोल्लोसको बारेमा भन्‍नुपर्दा मैले तिनलाई भाइहरूका साथ तिमीहरूकहाँ भेटघाटमा जानको निम्ति धेरै आग्रह गरेँ । तिनलाई तिमीहरूकहाँ आउन मन भएन । तापनि ठिक समयमा तिनी तिमीहरूकहाँ आउनेछन् । 13 सतर्क रहो; विश्‍वासमा दृढ बस; मानिसजस्तै बन र सामर्थी बन । 14 तिमीले जे गर्छौ, सबै प्रेममा गर । 15 स्तिफनासको घरानालाई तिमी जान्दछौ जो अखैयाका पहिलो विश्‍वासी हुन् । तिनीहरूले विश्‍वासीहरूको सेवाको निम्ति आफैँलाई समर्पित गरेका छन् । भाइहरू हो, म तिमीहरूलाई आग्रह गर्दछु कि 16 त्यस्ता मानिसहरू र हामीलाई काममा सहायता गर्ने अनि हामीसँग परिश्रम गर्नेहरूको अधीनमा रहो । 17 स्तिफनास, फोर्टुनाटस र अखाइकसको आगमनमा म आनन्दित हुन्छु । तिनीहरूले तिमीहरूको अनुपस्थितिलाई पुरा गरिदिए । 18 किनकि तिनीहरूले मेरो र तिमीहरूको आत्मालाई ताजा पारिदिएका छन् । त्यसैले गर्दा मानिसहरूको कदर गर । 19 एसियामा भएका मण्डलीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन् । अकिलास र प्रिस्काले र तिनीहरूको घरमा भएको मण्डलीले पनि तिमीहरूलाई प्रभुमा अभिवादन पठाएका छन् । 20 सबै भाइहरूले अभिवादन पठाएका छन् । एकले अर्कालाई पवित्र चुम्बनले अभिवादन गर । 21 म पावल, मेरो आफ्नै हातले यो पत्र लेख्छु । 22 यदि कसैले प्रभुलाई प्रेम गर्दैन भने ऊ श्रापित होस् । हाम्रा प्रभु, आउनुहोस् । 23 हाम्रा प्रभु येशूको अनुग्रह तिमीहरूसँग रहोस् । 24 ख्रीष्‍ट येशूमा तिमीहरू सबैलाई मेरो प्रेम छ ।