3
हेर, पिताले हामीलाई कस्तो किसिमको प्रेम दिनुभएको छ, कि हामीलाई परमेश्‍वरको सन्तान भनियोस् र हामी यही हौँ । यसैकारण, संसारले हामीलाई चिन्दैन, किनकि संसारले उहाँलाई चिनेन । प्रिय हो, अब हामी परमेश्‍वरका सन्तानहरू हौँ, र हामी के हुनेछौँ भन्‍ने अझ पनि प्रकट गरिएको छैन । हामी जान्दछौँ, कि जब येशू देखा पर्नुहुनेछ, हामी उहाँजस्तै हुनेछौँ, किनकि उहाँजस्तो हुनुहुन्छ त्‍यस्तै हामी उहाँलाई देख्‍नेछौँ । उहाँमा यो दृढता हुने हरेकले आफूलाई उहाँ जस्तो शुद्ध हुनुहुन्छ त्यस्तै शुद्ध पार्छ । पाप गर्ने हरेकले व्यवस्था भङ्ग गर्छ, पाप व्यवस्था भङ्ग हो । पापहरू हटाई लानलाई नै ख्रीष्‍ट प्रकट हुनुभयो भन्‍ने तिमीहरू जान्दछौ, र उहाँमा कुनै पाप छैन । उहाँमा रहनेले पाप गर्दैन । पाप गर्नेले न उहाँलाई देखेको छ न चिनेको नै हुन्छ । प्रिय बालकहरू हो, तिमीहरूलाई कसैले नबहकाओस् । जस्तो ख्रीष्‍ट धर्मिक हुनुहुन्छ त्यस्तै धार्मिकता गर्ने नै धर्मी हो । जसले पाप गर्छ, त्यो शैतानको हो, किनभने शैतानले सुरुदेखि नै पाप गरेको छ । यसैकारण, परमेश्‍वरको पुत्र प्रकट हुनुभयो, ताकि उहाँले शैतानका कामहरू नष्‍ट गर्नुभएको होस् । जो परमेश्‍वरबाट जन्मेको छ त्यसले पाप गर्दैन, किनकि परमेश्‍वरको स्वभाव त्यसमा रहन्छ, र उसले पाप गर्न सक्दैन, किनकि त्यो परमेश्‍वरबाट जन्मेको हो । 10 यसैमा परमेश्‍वरका सन्तानहरू र शैतानका सन्तानहरू प्रकट गरिन्छन् । जसले धार्मिकता गर्दैन त्यो परमेश्‍वरको होइन, न आफ्नो भाइलाई प्रेम नगर्ने नै हो । 11 तिमीले सुरुदेखि सुनेको सन्देश यही नै हो, हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ । 12 कयिनजस्तो होइन जो दुष्‍टको थियो र त्यसले आफ्नो भाइलाई मार्‍यो । अनि उसले आफ्नो भाइको हत्या किन गर्‍यो ? किनकि उसका कामहरू दुष्‍ट थिए र उसको भाइका काम धार्मिक थिए । 13 मेरा भाइहरू, यदि संसारले तिमीहरूलाई घृणा गर्छ भने तिमीहरू अचम्म नमान । 14 हामी जान्दछौँ, कि हामी मृत्यु पार गरेर जीवनमा सरेका छौँ, किनकि हामी दाजुभाइहरूलाई प्रेम गर्छौं । जसले प्रेम गर्दैन, त्यो मृत्युमा रहन्छ । 15 जसले आफ्नो भाइलाई घृणा गर्छ त्यो हत्यारा हो । अनि तिमीहरू जान्दछौ, कि कुनै पनि हत्यारासँग अनन्त जीवन हुँदैन । 16 यसैद्वारा हामी प्रेम थाहा पाउँछौँ, किनकि ख्रीष्‍टले हाम्रो निम्ति आफ्नो जीवन दिनुभयो । हामीले पनि हाम्रा दाजुभाइहरूका निम्ति हाम्रो जीवन दिनुपर्छ । 17 तर जससँग संसारका थोकहरू छन्, जसले आफनो भाइ खाँचोमा परेको देखेर पनि दयाको हृदय त्यसबाट बन्द गर्छ भने कसरी परमेश्‍वरको प्रेम त्यसमा रहन्छ ? 18 मेरा प्रिय बालकहरूल हो, हामी वचन र मुखले मात्र प्रेम नगरौँ, तर सत्यता र कामले प्रेम गरौँ । 19 यसैद्वारा हामी सत्यका हौँ भन्‍ने जान्दछौँ र हाम्रो हृदयलाई उहाँको सामुन्‍ने निश्‍चय गर्छौं । 20 किनकि यदि हाम्रो हृदयले हामीलाई दोष दिन्छ भने परमेश्‍वर हाम्रो हृदयभन्दा महान् हुनुहुन्छ, र उहाँले सबै थोक जान्‍नुहुन्छ । 21 प्रिय हो, यदि हाम्रो हृदयले हामीलाई दोष दिँदैन भने हामी परमेश्‍वरप्रति दृढ छौँ । 22 अनि हामीले जे माग्छौँ त्यो हामी उहाँबाट पाउँछौँ, किनकि हामीले उहाँका आज्ञाहरू पालन गर्छौं र उहाँको दृष्‍टिमा असल हुने थोकहरू गर्छौं । 23 अनि यो उहाँको आज्ञा हो, जस्तो उहाँले हामीलाई यो आज्ञा दिनुभयो, हामीले उहाँका पुत्र येशू ख्रीष्‍टको नाउँमा विश्‍वास गर्नुपर्छ र एक अर्कोलाई प्रेम गर्नुपर्छ । 24 जसले परमेश्‍वरका आज्ञाहरू पालन गर्छ, त्यो उहाँमा रहन्छ र परमेश्‍वर त्यसमा रहनुहुन्छ । अनि यसैद्वारा हामी जान्दछौ, कि हामीलाई दिनुभएको पवित्र आत्माद्वारा उहाँ हामीमा रहनुहुन्छ ।