3
सोलोमनले विवाहद्वारा मिश्रका राजा फारोसित मैत्रीपूर्ण सम्बन्ध गाँसे । तिनले फारोकी छोरीसित विवाह गरे, र तिनले आफ्नै महल, परमप्रभुको मन्दिरसाथै यरूशलेमको पर्खाल निर्माण गरेपछि उनलाई दाऊदको सहरमा ल्याए । परमप्रभुको नाउँमा कुनै पनि घर निर्माण नभइसकेकोले मानिसहरूले उच्च स्थानहरूमा बलिदान चढाउँदै थिए । आफ्ना पिता दाऊदका विधिविधानहरूमा हिँडी सोलोमनले परमप्रभुप्रति आफ्नो प्रेम देखाए, तर तिनले उच्च स्थानहरूमा बलिदान चढाए र धूप बाले । राजा बलिदान चढाउन गिबोनमा गए किनकि त्यो निकै उच्च स्थान थियो । सोलोमनले त्यस वेदीमा एक हजारवटा होमबलि चढाए । रातमा गिबोनमा परमप्रभु सपनामा सोलोमनकहाँ देखा पर्नुभयो । उहाँले भन्नुभयो, “तँ मबाट के चाहन्छस्, माग् ।” त्यसैले सोलोमनले भने, “मेरा पिता दाऊद तपाईंको सामु विश्वसनियतामा, धार्मिकतामा र ह्रदयको सोझोपनमा हिँडेकाले तपाईंले आफ्ना दास दाऊदलाई करारको ठुलो विश्वसनीयता देखाउनुभएको छ । तपाईंले उहाँप्रति करारको ठुलो विश्वसनीयता कायमै राख्नुभएको छ, र आज उहाँको सिंहासनमा बस्न एक जना पुत्र दिनुभएको छ । अब हे परमप्रभु मेरा परमेश्वर, म सानो बालक भए तापनि तपाईंले आफ्ना दासलाई मेरा पिता दाऊदको ठाउँमा राजा बनाउनुभएको छ । मलाई मेरो कर्तव्य थाहा छैन । तपाईंका दास तपाईंले छान्नुभएका मानिसहरूका बिचमा छन् जो असङ्ख्य र अनगिन्ती छन् । त्यसैले मैले खराब र असल छुट्ट्याउन सकूँ भनेर मानिसहरूको न्याय गर्न तपाईंका दासलाई समझशक्तिको ह्रदय दिनुहोस् । किनकि तपाईंको यस महान् जातिलाई न्याय गर्न को सक्षम छ ?” 10 सोलोमनको यस बिन्तीले परमप्रभुलाई खुसी तुल्यायो । 11 त्यसैले परमेश्वरले तिनलाई भन्नुभयो, “तैँले आफ्नो लागि लामो जीवन वा धनसम्पत्ति वा तेरा शत्रुहरूको जीवन नमागी न्याय छुट्ट्याउने समझशक्ति मागेको छस् । 12 हेर्, अब तैँले मबाट मागेको सबै कुरा म पुरा गर्ने छु । म तँलाई बुद्धिमानी र समझशक्तिको हृदय दिने छु । यसरी तेरो सामु कोही पनि तँजस्तो हुने छैन, र तँपछि पनि कोही पनि तँजस्तो खडा हुने छैन । 13 तैँले मबाट नमागेका कुराहरू अर्थात् धनसम्पत्ति र मान पनि मैले तँलाई दिएको छु ताकि राजाहरूका बिचमा तेरो जीवनभर तँजस्तो कोही पनि नहोस् । 14 तेरा पिता दाऊदझैँ मेरा विधिविधानहरू र मेरा आज्ञाहरू पालन गर्न तँ मेरो मार्गमा हिँडिस् भने म तेरो आयु लम्ब्याउने छु ।” 15 त्यसपछि सोलोमन ब्युँझे, र यो त सपना पो रहेछ! तिनी यरूशलेममा आए, र परमप्रभुको करारको सन्दुकको सामु खडा भए । तिनले होमबलि र मेलबलिहरू चढाए, अनि आफ्ना सबै सेवकहरूलाई भोज दिए । 16 त्यसपछि दुई जना वेश्या स्त्री राजाकहाँ आई तिनको सामु खडा भए । 17 एक जना स्त्रीले भनी, “हे मेरा मालिक, यो स्त्री र म एउटै घरमा बस्छौँ, अनि त्यस घरमा मैले एउटा बालक जन्माएँ । 18 मैले जन्म दिएको तेस्रो दिनमा यस स्त्रीले बालक जन्माई । हामी सँगसँगै थियौँ । घरमा हामीसित कोही पनि थिएन, तर हामी दुई जना मात्र थियौँ । 19 त्यसपछि रातमा यो स्त्रीले बालकलाई थिचेर मारिछ । 20 त्यसैले मध्य रातमा तपाईंकी दासी सुतिरहेको बेलामा त्यो उठी र छेउमा राखिएको मेरो छोरो लिएर काखमा राखिछ अनि मेरो काखमा चाहिँ त्यसको मरेको छोरो राखिछ । 21 म मेरो बच्चालाई दूध खुवाउन बिहान उठ्दा त्यो मरेको रहेछ । बिहान मैले त्यसलाई नियालेर हेर्दा त्यो मैले जन्माएको मेरो छोरो थिएन ।” 22 त्यसपछि अर्की स्त्रीले भनी, “त्यसो होइन । जीवित छोरोचाहिँ मेरो छोरो हो, र मरेकोचाहिँ तेरो छोरो हो ।” पहिलो स्त्रीले भनी, “त्यसो होइन । मरेकोचाहिँ तेरो छोरो हो, र जीवितचाहिँ मेरो छोरो हो ।” यसरी तिनीहरूले राजाको सामु बताए । 23 तब राजाले भने, “तिमीहरूमध्ये एउटीले भन्छौ, 'यो जीवितचाहिँ मेरो छोरो हो, र तेरो छोरोचाहिँ मरेको छ ।' त्यसै गरी, अर्कीले भन्छौ, 'त्यसो होइन । तेरो छोरो मरेको छ, र मेरो छोरोचाहिँ जीवितै छ' ।” 24 राजाले भने, “मलाई एउटा तरवार ल्याइदेऊ ।” त्यसैले तिनीहरूले राजाको सामु एउटा तरवार ल्याइदिए । 25 तब राजाले भने, “जीवित छोरोलाई काटेर दुई भाग लगा अनि आधा भाग एउटी स्त्रीलाई र बाँकी आधा भाग अर्की स्त्रीलाई दिनू ।” 26 तब आफ्नो छोरोको निम्ति दयाले भरिएर जीवित छोरोकी आमाले राजालाई भनी, “हे मेरा मालिक, जीवित बालक त्यसलाई नै दिनू र त्यसलाई कुनै पनि हालतमा नमार्नू ।” तर अर्की स्त्रीले भनी, “त्यो न मेरो हुने छ न तेरो । त्यसलाई दुई टुक्रा पारियोस् ।” 27 तब राजाले जवाफ दिए, “जीवित बालक पहिलो स्त्रीलाई दिनू, र त्यसलाई कुनै पनि हालतमा नमार्नू । त्यो नै बालककी आमा हो ।” 28 जब सारा इस्राएलले राजाले गरेको न्याय सुने तिनीहरू राजादेखि डराए किनकि न्याय सम्पादन गर्न परमेश्वरको बुद्धि तिनमा थियो भनी तिनीहरूले देखे ।