3
तब सोलोमनले यरूशलेमको मोरीयाह डाँडामा आफ्ना बुबा दाऊदको सामु परमप्रभु देखा पर्नुभएको ठाउँमा परमप्रभुको मन्‍दिर निर्माण गर्न सुरु गरे । दाऊले योजना गरेको ठाउँ यबूसी अरौनाको खलामा तिनले त्‍यो ठाउँ तयार पारे । तिनले आफ्‍नो राजकालको चौथो वर्षको दोस्रो महिनाको दोस्रो दिनमा त्‍यो निर्माण गर्न सुरु गरे । परमेश्‍वरको मन्‍दिर निर्माण गर्न सोलोमनले राखेका जगको क्षेत्रफल यि नै थिए। हातको पुरानो चलनको नापअनुसार लमाइ साठी हात र चौडाइ बीस हात थियो । मन्‍दिरको अगाडिको दलानको लमाइ बीस हात लामो थियो, जुन मन्‍दिरको चौडाइ बराबर थियो । यसको उचाइ पनि बीस हात थियो, र सोलोमनले यसको भित्रपट्टि निखुर सुनको जलप लगाए । तिनले मुख्‍य सभाकक्षको सिलिङमा सल्‍लाका फलेकहरू लगाए, जसमा तिनले निखुर सुनको जलप लगाए। अनि तिनमा खजूरका बोटहरू र सिक्रीहरूका बुट्टा बनाए । तिनले मन्‍दिरलाई बहुमूल्‍य पत्‍थरहरूले सिंगारे । सुनचाहिं पर्वेमको सुन थियो । तिनले त्‍यसका दलिन, सँघार, भित्ता र ढोकाहरूमा सुनको जलप लगाए । तिनले त्‍यसका भित्ताहरूमा करूबहरू बुट्टा कुँदे । तिनले महा-पवित्रस्‍थानको निर्माण गरे । यसको लम्बाइ मन्‍दिरको चौडाइ बराबर बिस हात र यसको चौडाइ पनि बिस हात थियो । त्‍यसको भित्रपट्टि तिनले बिस टन निखुर सुनको जलप लगाए । कीलाहरूको ओजन पचास शेकेल सुनबाट बनेका थिए । तिनले त्यसका माथिल्‍ला सतहमा पनि सुनको जलप लगाए । 10 तिनले महा-पवित्रस्‍थानको निम्ति दुई करूबका प्रतिरूप बनाए । कालिगरहरूले तिनमा सुनको जलप लगाए । 11 यी करूबका पखेटाहरू एक छेउदेखि अर्को छेउसम्‍म बीस हात लामा थिए । एउटा करूबको एउटा पखेटा कोठाको भित्तालाई छुने गरी पाँच हातको थियो । यसै गरी अर्को पखेटाचाहिं अर्को करूबको पखेटा छुने गरी पाँच हातकै थियो । 12 अर्को करूबको एउटा पखेटा मन्‍दिरको भित्ता छुने गरी पाँच हातको थियो । त्‍यसको अर्को पखेटाचाहिं अर्को करूबको पखेटा छुने गरी पाँच हातकै थियो । 13 यी करूबका पखेटा बीस हातसम्‍म फिंजिएका थिए । करूबहरू आफ्‍ना खुट्टामा उभिएका थिए, र तिनीहरूका मुख मन्‍दिरको मुख्‍य सभा कोठातिर फर्केका थिए । 14 तिनले नीलो, बैजनी र रातो रङ्गको ऊनी धागो र मलमलको कपडाको पर्दा बनाए, र तिनले त्‍यसमा बुट्टा भरेका करूबहरू बनाए । 15 सोलोमनले मन्‍दिरको अगाडिपट्टिका निम्‍ति दुई वटा स्‍तम्‍भ बनाए, जसमा प्रत्‍येकको उचाइ पैंतीस हात थियो । तिमाथि भएका स्‍तम्‍भ-शिरहरू पाँच हात अल्‍गा थिए । 16 तिनले स्‍तम्‍भका निम्‍ति सिक्रीहरू बनाए र ती स्‍तम्‍भका टुप्‍पामा राखे । तिनले सय वटा दारिम पनि बनाए र ती सिक्रीहरूमा जोडे । 17 तिनले मन्‍दिरको अगाडि ती दुई वटा स्‍तम्‍भ खडा गरे, एउटा दाहिनेपट्टि र अर्को देब्रेपट्टि स्‍तम्‍भहरू खडा गरे । दाहिनेपट्टिको स्‍तम्‍भको नाउँ तिनले याकीन र देब्रेपट्टिको स्‍तम्‍भको नाउँ बोअज राखे ।