5
जब सोलोमनले परमप्रभुका मन्‍दिरको निम्‍ति गरेका सबै काम सिद्ध्याए, तब तिनले आफ्‍ना बुबा दाऊदले यस कामका निम्ति अलग राखेका सामानहरू, अर्थात्‌ सुन, चाँदी, र सबै सर-सामान ल्‍याए—तिनले ती परमप्रभुको मन्‍दिरका भण्‍डारहरूमा राखे । त्‍यसपछि सोलोमनले इस्राएलका धर्म-गुरुहरू, कुलका सबै नायकहरू र इस्राएलका परिवारका अगुवाहरूलाई परमप्रभुका करारको सन्‍दूक दाऊदको सहर, अर्थात्‌ सियोनबाट ल्‍याउन यरूशलेममा भेला गराए । इस्राएलका सबै मानिस सातौं महिनामा भएको चाडको समयमा राजाको सामु भेला भए । इस्राएलका सबै धर्म-गुरु आए, र लेवीहरूले सन्‍दूक लगे । तिनीहरूले सन्‍दूक र भेट हुने पाल र त्‍यसमा भएका सबै सामानहरू उठाएरमाथि लगे । लेवीका कुलका पुजारीहरूले ती बोकेर माथि लगे । सोलोमन राजा र इस्राएलका सारा समुदाय अनगिन्ति भेडा र साँढेको बलिदान चढाउँदै सन्दुकको अघि भेला भए । पुजारीहरूले परमप्रभुका करारको सन्‍दूक मन्‍दिरको भित्री पवित्रस्‍थान, अर्थात्‌ महा-पवित्रस्‍थानमा त्‍यसकै ठाउँमा ल्‍याएर करूबहरूका पखेटामुनि राखे । करूबहरूले आफ्‍ना पखेटा सन्‍दूक राखिएको ठाउँमाथि फैलाएका थिए, र तिनले सन्‍दूक र त्‍यसलाई बोक्‍ने डन्‍डाहरूलाई ढाके । डन्‍डाहरूचाहिं यति लामा थिए कि तिनका टुप्‍पाहरूभित्री पवित्रस्‍थानबाट देखिन्थ्यो, तर ती बाहिरबाट देखिंदैनथे । ती आजक दिनसम्‍म त्‍यहीं छन्‌ । 10 इस्राएलका मानिसहरूले मिश्रदेश छोड्‌दा परमप्रभुले तिनीहरूसित करार बाँध्‍नुभएको ठाउँ होरेबमा मोशाले सन्‍दूकभित्र राखेका दुई वटा शिला-पाटीबाहेक त्‍यसमा अरू केही थिएन । 11 पुजारीहरू पवित्रस्‍थानबाट बाहिर निस्‍केर आए । त्‍यहाँ हाजिर भएका सबै पुजारीले आआफ्‍नो दलअनुसार क्रमवद्ध नगरीकनै आफैलाई पवित्र गरेका थिए । 12 सबै लेवी गायक, अर्थात् आसाप, हेमान र यदूतून, तिनीहरूका छोराहरू र दाजुभाइसमेत सबै जना, मलमलका कपडा लगाएर झ्‍याली, वीणा र सारङ्गीहरू लिएर वेदीको पूर्वपट्टि खडा भए । तिनीहरूका साथमा एक सय बिस जना तुरही बजाउने पुजारीहरू थिए । 13 तुरही बजाउनेहरू र गीत गाउनेहरूले परमप्रभुको प्रशंसा र धन्‍यवादको निम्‍ति एक सोर गरी आवाज निकाले । तिनीहरूले तुरही, झ्‍याली र अरू बाजाहरूसित सोर उचाले र तिनीहरूले परमप्रभुको प्रशंसा गरे । तिनीहरूले गाए, “उहाँ भलो हुनुहुन्‍छ, किनकि उहाँको करारको बफादारीता सदासर्वदा रहन्‍छ ।” तब त्‍यो मन्‍दिर, परमप्रभुको मन्‍दिर बादलले भरियो । 14 बादलले गर्दा पुजारीहरूले सेवा गर्न सकेनन्, किनकि परमप्रभुको महिमाले उहाँको मन्दिर भरिएको थियो ।