16
आसाका राजकालको छत्तीसौँ वर्षमा इस्राएलका राजा बाशा यहूदाको विरूद्ध आक्रामक रूपले प्रस्तुत भए र रामालाई बजमूत गराए, ताकि कोही पनि यहूदाका राजा आसाको देशभित्र जान र बाहिर आउन नसकून् । त्यसपछि आसाले परमप्रभुको मन्‍दिर र राजाको महलका भण्‍डारका सुन र चाँदीहरू निकालेर ती दमस्‍कसमा बस्‍ने अरामका राजा बेन-हददकहाँ पठाए । तिनले भने, “मेरा पिता र तपाईंका पिताको बिचमा भएजस्तै मेरो र तपाईंका बिचमा पनि एउटा करार होस् । हेर्नुहोस्, मैले तपाईंलाई चाँदी र सुन पठाएको छु । इस्राएलका राजा बाशासँग तपाईंको सन्‍धि तोडिदिनुहोस्, ताकि तिनले मलाई हस्‍तक्षेप नगरुन् ।” बेन-हददले आसा राजाको कुरा स्‍वीकार गरेर आफ्‍ना फौजका कमाण्‍डरलाई इस्राएलका सहरहरूका विरुद्धमा लड्‌न पठाए । तिनीहरूले इयोन, दान, हाबिल-मैम र नप्‍तालीका सबै भण्‍डार राख्‍ने सहरमाथि आक्रमण गरे । जब बाशाले यो कुरा सुने तब यस्‍तो भयो, तिनले रामालाई मजबूत बनाउन छोडिदिए, र आफ्ना काम बन्‍द गरिदिए । त्‍यसपछि आसा राजाले यहूदाका सबैलाई आफूसित लगे । तिनीहरूले बाशाले बनाउँदै गरेको रामाका ढुङ्गा र काठहरू उठाएर लगे । त्यसपछि आसा राजाले गेबा र मिस्‍पालाई मजबूत पार्न ती सामाग्री प्रयोग गरे । त्‍यस बेला दर्शी हनानी यहूदाका राजा आसाकहाँ आए र तिनलाई भने, “तपाईंले अरामका राजामाथि भरोसा गर्नुभएको हुनाले र परमप्रभु आफ्‍ना परमेश्‍वरमाथि भरोसा नगर्नुभएको हुनाले गर्दा अरामका राजाको फौज तपाईंको हातबाट उम्‍केको छ । के कूशीहरू र लिबियालीहरू असंख्‍य रथ र घोड़चढ़ीहरू भएको विशाल फौज थिएनन्‌? तापनि तपाईंले परमप्रभुमाथि भरोसा राख्‍नुभएको हुनाले, उहाँले तपाईंलाई उनीहरूमाथि विजय दिनुभयो । किनकि परमप्रभुको दृष्‍टि सारा पृथ्‍वीभरि जहाँसुकै दौडिरहन्‍छ, ताकि जसका हृदय उहाँप्रति समर्पित छन्, तिनीहरूका पक्षमा उहाँले आफैलाई बलियो देखाउन सक्‍नुभएको होस् । तर यस विषयमा तपाईंले मूर्खतासाथ काम गर्नुभयो । अबदेखि तपाईंले युद्ध गर्नुपर्नेछ ।” 10 त्यसपछि आसा ती दर्शीसँग रिसाए । उनले तिनलाई थुनामा राखे, किनकि यस विषयमा थिनीसित उनी रिसाएका थिए । यसै समयमा, आसाले केही मानिसहरूमाथि अत्याचार गरे । 11 हेर, आसाका सुरुदेखि अन्तसम्मका कामहरू यहूदा र इस्राएलका राजाहरूका पुस्‍तकमा लेखिएका छन्‌ । 12 आफ्‍नो राजकालको उनन्‍चालिसौँ वर्षमा आसालाई खुट्टामा रोग लाग्यो । तिनको त्‍यो रोग साह्रै गम्‍भीर भए तापनि तिनले परमप्रभुबाट सहायता खोजेनन्, तर वैद्यहरूको मात्र सल्‍लाह लिए । 13 तब आफ्‍नो राजकालको एकचालिसौँ वर्षमा मरेर, तिनी आफ्‍ना पुर्खाहरूसित सुते । 14 तिनको आफ्‍नै चिहानमा तिनलाई तिनीहरूले गाडे, जुन तिनले दाऊदको सहरमा आफ्‍नो निम्‍ति खन्‍न लगाएका थिए । उनलाई सुगन्धित वासनाहरू र अत्तरहरू बनाउने निपुण मानिसहरूद्वारा तयार गारिएको विभिन्‍न किसिमका मसलाहरू मिलाइएको अर्थीमा राखियो । अनि तिनीहरूले उनको सम्‍झनामा एउटा ठूलो आगो बाले ।