35
योशियाहले परमप्रभुको निम्ति यरूशलेममा निस्तार-चाड मनाए, र तिनीहरूले पहिलो महिनाको चौधौँ दिनमा निस्तार-चाडको थुमा मारे । तिनले पुजारीहरूलाई आआफ्नो स्थानमा राखे र परमप्रभुका मन्दिरको सेवा गर्न तिनीहरूलाई प्रोत्साहन दिए । तिनले परमप्रभुमा समर्पित भएका र सारा इस्राएललाई सिकाउने लेवीहरूलाई भने, “इस्राएलका राजा दाऊदका छोरा सोलोमनले निर्माण गरेको मन्दिरमा पवित्र सन्दूकलाई राख । अबदेखि फेरि त्यसलाई आफ्नो काँधमा नबोक । अब परमप्रभु तिमीहरूका परमेश्‍वरको आराधना गर र उहाँको मानिस इस्राएलको सेवा गर । इस्राएलका राजा दाऊद र तिनका छोरा सोलोमनले दिएका लिखित निर्देशनहरू पालन गर्दै आआफ्‍ना पुर्खाका घरानाहरू र आआफ्‍ना विभाजनहरूअनुसार आफूलाई सङ्गठित गराओ । तिमीहरूका दाजुभाइका पुर्खाका घरानाहरूका विभाजनहरू, मानिसहरूका वंश र लेवीहरूको पुर्खाका परिवारहरूका आफ्ना विभाजनहरूअनुसार पवित्र स्थानमा खडा होओ । निस्तार-चाडको थुमाहरू मार, आफैलाई शुद्ध गर, मोशाद्वारा परमप्रभुले दिनुभएको वचन पालन गरेर तिमीहरूका दाजुभाइका निम्ति थुमाहरू तयार पार ।” योशियाहले निस्तार-चाड बलिदानमा सबै मानिसहरूको निम्ति तिस हजार भेडा र पाठा दिए । तिनले तीन हजार साँढे पनि दिए । यी सबै राजाका सम्पतिबाट दिइएका दिए । मानिसहरू, पुजारीहरू र लेवीहरूका निम्ति तिनका अगुवाहरूले राजीखुशी दान दिए । परमप्रभुको मन्दिरका आधिकारिक प्रशासकहरू हिल्कियाह, जकरिया र यहीएलले पुजारीहरूलाई निस्तार-चाडको निम्ति दुई हजार छ सय ससाना पशु र तीन सय साँढे दिए । अनि लेवीहरूलाई चाहिं कोनन्याह र तिनका भाइहरू शमायाह र नतनेल, अनि लेवीहरूका नायकहरू हशब्याह, यहीएल र योजाबादले पाँच हजार ससाना पशु र पाँच सय साँढे दिए । 10 यसैले सेवाको तयारी भयो, र पुजारीहरू आआफ्नो स्थानमा अनि लेवीहरूचाहिं आआफ्नो दलअनुसार राजाको हुकुमबमोजिम खडा भए । 11 तिनीहरूले निस्तार-चाडका थुमाहरू मारे, अनि लेवीहरूका हातबाट रगत लिएर पुजारीहरूले वेदीमा रगत छर्के, र लेवीहरूले ती थुमाहरूका छाला काढे । 12 तिनीहरूले मोशाको पुस्तकमा लेखिएबमोजिम मानिसले परमप्रभुलाई होमबलिहरू चढाउन् भनी पुर्खाका घरानाका विभाजनअनुसार वितरण गर्नलाई तिनीहरूले ती छुट्‍याए । साँढेहरूका पनि तिनीहरूले त्यसै गरे । 13 तिनीहरूले निर्देशनको अनुसरण गरेर निस्तारका थुमाहरू आगोमा पोले । पवित्र भेटीलाई तिनीहरूले खड्कुँला, कराही र ताप्केमा उसिने, र तिनीहरू तुरुन्‍तै ती मानिसहरूमा बाँडिदिए । 14 त्यसपछि हारूनका वंशका पुजारीहरू साँझसम्मै होमबलि र बोसो चढाउनमा व्यस्त भएका हुनाले तिनीहरूले आफ्ना निम्ति र पुजारीहरूका निम्ति बलिदान तयार गरे । यसरी लेवीहरूले आफ्ना लागि र हारूनको वंशका पुजारीहरूका निम्ति बलिदान तयार गरे । 15 आसापका सन्तानहरू, गायकहरू, दाऊद, आसाप, हेमान र राजाका दर्शी यदूतून र रक्षकहरूले निर्देशन दिएबमोजिम आआफ्ना स्थानमा थिए । तिनीहरूले आफ्नो ठाउँ छोड्नुपरेन किनकि तिनीहरूका दाजुभाइ लेवीहरूले तिनीहरूका निम्ति तयारी गरे । 16 यसैले यो समयमा योशियाह राजाको हुकुमअनुसार निस्तार-चाड मान्‍न र परमप्रभुको वेदीमा होमबलि चढाउनका निम्ति परमप्रभुको पूरा सेवा सन्‍चालन गरियो । 17 उपस्थित भएका इस्राएलका मानिसहरूले त्यस बेला निस्तार-चाड मनाए, र सात दिनसम्म अखमिरी रोटीको चाड मनाए । 18 शमूएल अगमवक्ताको समयदेखि यता यस प्रकारले निस्तार-चाडको उत्‍सव इस्राएलमा कहिल्यै मनाइएको थिएन, न त पुजारीहरू, लेवीहरू र यरूशलेमका बासिन्दाहरूसँग उपस्थित भएका सबै यहूदा र इस्राएलका साथमा योशियाहले मानेझैं इस्राएलका अरू कुनै राजाहरूले कहिल्यै यस्तो किसिमले निस्तार-चाड मानेका थिए । 19 योशियाहका राजकालको अठारौँ वर्षमा यो निस्तार-चाड मनाइएको थियो । 20 योशियाहले यसरी मन्दिरका सबै कामहरू मिलाइसकेपछि मिश्रदेशका राजा नेको यूफ्रेटिस नदीको किनारको कर्कमीशको विरुद्ध आक्रमण गर्न निस्के, र योशियाह तिनको विरुद्धमा युद्ध गर्न गए । 21 तर नेकोले यसो भनेर तिनीकहाँ राजदूतहरू पठाए, “ए यहूदाका राजा, मेरो तपाईंसँग के सरोकार छ? आज म तपाईंको विरुद्धमा आएको होइन, तर म जुन घरानासँग युद्ध गरिरहेको छु त्यसको विरुद्ध आएको छु । परमेश्‍वरले मलाई चाँडो गर्न आदेश दिनुभएको छ । यसैले परमेश्‍वरलाई बाधा दिने कामबाट टाढा रहनुहोस्, जो मसँग हुनुहुन्छ, नत्रता उहाँले तपाईंलाई नाश गर्नुहुनेछ ।” 22 तापनि योशियाह तिनीबाट फर्किन मानेनन् । तिनले उनको विरुद्ध युद्ध गर्न भेष बदले । आफू परमेश्‍वरको आज्ञाद्वारा आएको हो भन्‍ने नेकोको वचन तिनले सुनेनन् । यसैले तिनी मगिद्दोको बेसीमा युद्ध गर्न गए । 23 धनुर्धारीहरूले योशियाह राजालाई हाने, र राजाले आफ्ना सेवकहरूलाई भने, “मलाई बाहिर लैजाओ, किनकि मलाई गम्‍भीर चोट लागेको छ ।” 24 यसैले तिनका सेवकहरूले तिनलाई रथबाट उठाए र तिनलाई अर्को रथमा चढाए । तिनीहरूले तिनलाई यरूशलेममा ल्याए, जहाँ तिनी मरे । तिनका पुर्खाहरूको चिहानहरूमा तिनलाई गाडियो । सारा यहूदा र यरूशलेमले तिनको निम्ति शोक मनाए । 25 यर्मियाले योशियाहको निम्ति विलापका गरे । सबै पुरुष र स्‍त्री गायकले आजको दिनसम्म योशियाहको बारेमा विलाप गर्छन् । यी गीतहरू इस्राएलमा परम्पराको रूपमा रहेका छन् । हेर, तिनलाई विलापको गीतहरूमा लेखिएका छन् । 26 योशियाहको बारेमा अन्य कुराहरू, र तिनले परमप्रभुको व्यवस्थामा लेखिएअनुसार गरेका आज्ञापालनका असल कामहरू— 27 अनि तिनका कामहरू सुरुदेखि अन्त्यसम्मै यहूदा र इस्राएल राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन् ।