25
राजा सिदकियाहको शासनकालको नवौँ वर्षको दसौँ महिनाको दसौँ दिनमा बेबिलोनका राजा नबूकदनेसर आफ्ना सबै सेना लिएर यरूशलेमको विरुद्धमा आए । तिनले यसको सामु छाउनी हाले र तिनीहरूले यसको चारैतिर घेरा हाले । त्यसैले राजा सिदकियाहको शासनकालको एघारौँ वर्षसम्म सहरलाई घेरा हालियो । त्यस वर्षको चौथो महिनाको नवौँ दिनमा सहरमा यति घोर अनिकाल पर्‍यो कि देशका मानिसहरूका लागि खानेकुरा भएन । तब सहरको पर्खाल तोडेर भित्र प्रवेश गरियो र रातमा राजाको बगैँचानेर भएका दुईवटा पर्खालको बिचको ढोकाको बाटोबाट सबै योद्धा भागे, जबकि कल्दीहरूले सहरको चारैतिर घेरा लगाई राखेकै थिए । राजा अराबाको दिशातिर गए । तर कल्दीहरूका सेनाले सिदकियाह राजालाई खेदे, र यरीहो नजिकैको यर्दन नदीका मैदानहरूमा तिनलाई भेट्टाए । तिनका सबै सेना तिनीबाट तितर-बितर भए । तिनीहरूले राजालाई गिरफ्‍तार गरे र तिनलाई रिब्लामा बेबिलोनका राजाकहाँ ल्याए, जहाँ तिनीहरूले तिनलाई फैसला सुनाए । तिनीहरूले सिदकियाहका छोराहरूलाई तिनकै आँखाका सामु मारे । तब तिनका आँखा तिनले निकाले, तिनलाई काँसाका साङ्लाहरूले बाँधे र तिनलाई बेबिलोनमा ल्याए । अब बेबिलोनका राजा नबूकदनेसरको शासनकालको उन्‍नाइसौँ वर्षको पाँचौँ महिनाको सातौँ दिनमा बेबिलोनका राजाका सेवक अनि अङ्गरक्षकहरूका सेनापति नबूजरदान यरूशलेममा आए । परमप्रभुको मन्दिर, राजदरबार र यरूशलेमका सबै घरहरूमा तिनले आगो लगाए । सहरका हरेक महत्त्वपूर्ण भवनमा पनि तिनले आगो लगाए । 10 अङ्गरक्षकहरूको सेनापतिको अधीनमा रहेका बेबिलोनका सबै सेनाले यरूशलेम वरिपरिको पर्खालहरू नष्‍ट पारिदिए । 11 बेबिलोनका राजालाई वेवास्‍ता गरेका सहरमा बाँकी बचेका मानिसहरू अनि बाँकी रहेका अरू मानिसहरूका सम्‍बन्‍धमा अङ्गरक्षकहरूका सेनापति नबूजरदानले, तिनीहरूलाई निर्वासनमा लगे । 12 तर अङ्गरक्षकहरूका सेनापतिले दाखबारी र खेतबारीमा काम गर्न सबैभन्दा गरिबहरूलाई त्यहीँ छाडिदिए । 13 परमप्रभुको मन्दिरमा राखिएका काँसाका स्तम्भहरू, आधारहरू र काँसाको विशाल खड्कुँलोलाई कल्दीहरूले टुक्राटुक्रा पारे र काँसालाई बेबिलोनमा लगे । 14 भाँडाहरू, बेल्चाहरू, सलेदाका चिम्टाहरू, चम्चाहरू र मन्दिरमा पुजारीहरूले सेवा गर्दा प्रयोग गरिने काँसाका सबै सामान पनि कल्दीहरूले लगे । 15 राजाका सेनापतिले खरानी उठाउने भाँडाहरू अनि सुन र चाँदीले बनेका कचौराहरू लिएर गए । 16 सोलोमनले मन्दिरको लागि बनाएका दुईवटा स्तम्भ, विशाल खड्कुँलो र आधारहरूमा भएका काँसा जोख्‍नै सकिंदनथ्यो । 17 पहिलो स्तम्भको उचाइ अठार हात थियो, र स्तम्भमाथि एउटा स्तम्भ-शिर थियो । स्तम्भ-शिर तिन हात अग्लो थियो, र यो काँसाको जाली र दारिमका बुट्टाले चारैतिर भरिएको थियो । अर्को स्तम्भ र यसका जालीसमेत सबै पहिलेको जस्तै थियो । 18 अङ्गरक्षकहरूका सेनापतिले मुख्य पुजारी सरायाह, दोस्रो दर्जाका पुजारी सपन्याह र तिन जना द्वारपाललाई लिएर गए । 19 सिपाहीहरूको जिम्मामा भएका अधिकारी, अनि सहरमा अझै बाँकी रहेका राजाका पाँच जना सल्लाहकारलाई तिनले सहरबाट कैद गरेर लगे । मानिसहरूलाई सेनामा भर्ती गर्ने मुख्य अधिकृत र देशमा भएका अन्य साठी जना विशिष्‍ट मानिसलाई पनि तिनले कैद गरेर लगे । 20 तब अङ्गरक्षकका सेनापति नबूजरदानले तिनीहरूलाई लगे र रिब्लामा बेबिलोनका राजाकहाँ ल्‍याए । 21 बेबिलोनका राजाले हमात देशको रिब्लामा तिनीहरूलाई मारे । यसरी यहूदा आफ्नो देशबाट निर्वासनमा लगियो । 22 बेबिलोनका राजा नबूकदनेसरले शापानका नाति, अहीकामका छोरा गदल्याहलाई यहूदामा बाँकी छोडिएका मानिसहरूमाथि निरिक्षक नियुक्त गरे । 23 बेबिलोनका राजाले गदल्याहलाई राज्यपाल बनाए भनेर जब सिपाहीहरूका सबै सेनापति र तिनीहरूका मानिसहरूले सुने , तब तिनीहरू मिस्पामा गदल्याहकहाँ गए । यी मानिसहरू नतन्याहका छोरा इश्माएल, कारेहका छोरा योहानान, नतोपाती तन्हूमेतका छोरा सरायाह र माकातीका छोरा याजन्याह र तिनीहरूका मानिसहरू थिए । 24 गदल्याहले तिनीहरू र तिनीहरूका मानिसहरूसँग शपथ खाए र तिनीहरूलाई भने, “कल्दीका अधिकारीहरूदेखि नडराओ । यही देशमा बसे र बेबिलोनका राजाको सेवा गर, र तिमीहरूको भलो हुने छ ।” 25 तर सातौँ महिनामा एलीशामाका नाति, नतन्याहका छोरा इश्माएल जो राजकीय वंशका थिए, तिनले दस जना मानिसलाई लिएर आए र गदल्याहलाई आक्रमण गरे । मिस्पामा आफूसँग भएका यहूदाका मानिसहरू र बेबिलोनीहरूसँगै गदल्याहको मृत्‍यु भयो । 26 तब सानादेखि ठुलासम्‍म सबै मानिससाथै सिपाहीहरूका सेनापतिहरू उठे, र तिनीहरू मिश्रमा गए किनकि तिनीहरू बेबिलोनीहरूदेखि डराएका थिए । 27 यहूदाका राजा यहोयाकीन निर्वासन भएको सैँतिसौँ वर्षको बाह्रौं महिनाको सत्ताइसौँ दिनमा बेबिलोनका राजा एबील-मरोदकले यहूदाका राजा यहोयाकीनलाई झ्यालखानाबाट मुक्त गरिदिए । एबील-मरोदकले राज्‍य गर्न सरु गरेको वर्षमा यो भएको थियो । 28 राजाले तिनीसँग दयापूर्वक कुरा गरे, र बेबिलोनमा तिनीसित भएका अरू राजाहरूलाई भन्दा तिनलाई इज्‍जतदार ठाउँमा बसाए । 29 एबील-मरोदकले यहोयाकीनका कैदका लुगाहरू उतारे, र यहोयाकीनले आफ्नो बाँकी जीवनकालभरि राजाको टेबुलमा बसेर नियमित रूपमा खाए । 30 तिनको जीवनको बाँकी समयभरि हरेक दिन खानाको भत्ता तिनलाई नियमित रूपमा दिइयो ।