2
इस्राएलीहरूकहाँ झुटा अगमवक्ताहरू आए, अनि तिमीहरूकहाँ पनि झुटा शिक्षकहरू आउनेछन् । तिनीहरूले आफूसँग गोप्य रूपमा विनाशसकारी झुटा शिक्षाहरू ल्याउनेछन् र तिनीहरूलाई उद्धार गर्नुहुने गुरुलाई पनि इन्कार गर्नेछन् । तिनीहरूले आफूमाथि चाँडै विनाश ल्याउनेछन् । धेरैले तिनीहरूको विलासी आचरणको अनुसरण गर्नेछन् र तिनीहरूद्वारा सत्यताको मार्ग निन्दित हुनेछ । लोभको कारण तिनीहरूले छलपूर्ण कुरा गरेर तिमीहरूबाट फाइदा उठाउनेछन् । तिनीहरूको विरुद्धमा श्राप आउन लामो समय लाग्दैन । तिनीहरूको विनाश निष्क्रिय छैन । किनकि परमेश्‍वरले पाप गर्ने स्वर्गदूतहरूलाई त छोड्नुभएन । बरु, तिनीहरूलाई तल पातालमा सुम्पिदिनुभयो र इन्साफ नहुन्जेलसम्म साङ्लाले बाँधेर घोर अन्धकारमा राखिदिनुभयो । अनि उहाँले प्राचीन संसारलाई पनि बाँकी राख्‍नुभएन । बरु, धार्मिकताका दूत नोआ र अरू सात जनालाई बचाउनुभयो र जल प्रलयद्वारा अधर्मी संसारको विनाश गर्नुभयो । अनि अधर्मीहरूमाथि के आइपर्नेछ भन्‍ने कुराको उदाहरणको निम्ति परमेश्‍वरले सदोम र गमोरा सहरहरूलाई खरानीमा परिणत गरिदिनुभयो र तिनीहरूलाई विनाशको निम्ति दोषी ठहराउनुभयो । तर उहाँले त्यसो गर्दा धर्मी लोतलाई बचाउनुभयो, जो अराजक र घिनलाग्दा मानिसहरूको व्यवहारको कारण निकै दुःखी थिए । किनकि तिनीहरूसँग दिनदिनै बस्दा, तिनीहरूका बिचमा देखेका र सुनेका कुराहरूको कारण ती धर्मी मानिस आत्मामा व्याकुल भएका थिए । त्यसैले, धर्मीहरूलाई परीक्षाबाट कसरी बचाउनुपर्छ र अधर्मीहरूलाई न्यायको दिनमा सजायको निम्ति कसरी तयारी राख्‍नुपर्छ भन्‍ने उहाँ जान्‍नुहुन्छ । 10 यो विशेष गरी शरीरका भ्रष्‍ट इच्छाहरूमा जिउने र अधिकारलाई तुच्छ ठान्‍नेहरूको निम्ति हो । तिनीहरू हठी र स्वेच्छाचारी थिए । तिनीहरू महिमितहरूको निन्दा गर्न डराउँदैनन् । 11 स्वर्गदूतहरूसँग मानिसहरूसित भन्दा धेरै शक्‍ति र दक्षता छ, तर उनीहरूले प्रभुको अगाडि तिनीहरूको विरुद्धमा निन्दापूर्ण न्याय ल्याउँदैनन् । 12 तर यी अज्ञानी पशुहरू स्वाभाविक रूपमा नाश र नियन्त्रणको निम्ति बनाइएका हुन् । तिनीहरूले जे कुराको निन्दा गर्छन् त्यो जान्दैनन् । तिनीहरू नष्‍ट पारिनेछन् । 13 आफैँले गरेका गलत कामहरूका परिणामले तिनीहरूलाई क्षति पुर्‍याउनेछ । तिनीहरू दिनमा आनन्दित रहन्छन् । तिनीहरू धब्बा र दागहरू हुन् । तिमीहरूसँग भोजमा बस्दा तिनीहरू आफ्ना छलमा आनन्द मनाउँछन् । 14 तिनीहरूका आँखा व्यभिचारले भरिएका हुन्छन्; तिनीहरू पाप गरेर कहिल्यै अघाउँदैनन् । तिनीहरूले अस्थिर मनलाई नराम्रो काममा लोभ्याउँछन्; तिनीहरूका मनले लोभमा तालिम पाएका हुन्छन् र तिनीहरू श्रापित सन्तान हुन् । 15 तिनीहरूले सही मार्गलाई त्यागेका छन् । तिनीहरू बरालिएर अधार्मिक कामको ज्याला लिन मन पराउने बोअरको छोरा बालामको पछि लाग्छन् । 16 तर त्यसले आफ्नै अपराधको निम्ति हप्की पायो । एउटा नबोल्ने गधाले मानिसको आवाजमा बोलेर अगमवक्ताको पागलपनलाई रोकिदियो । 17 यी मानिसहरू मूलविनाको पानीजस्ता छन् । तिनीहरू आँधीले उडाई लैजाने बादलजस्ता छन् । तिनीहरूको निम्ति घोर अन्धकार साँचिएको छ । 18 तिनीहरू खोक्रो अहङ्कारसाथ बोल्छन् । तिनीहरू शारीरिक वासनाद्वारा मानिसहरूलाई प्रलोभनमा पार्छन् । खराबी गर्नेहरूदेखि भाग्‍न खोज्‍नेहरूलाई तिनीहरू प्रलोभनमा पार्छन् । 19 उनीहरूले तिनीहरूलाई छुटकारा दिने प्रतिज्ञा गर्छन्, तर तिनीहरू आफैँ भ्रष्‍टताका दास हुन् । किनकि मान्छेलाई जुन कुराले जित्छ, ऊ त्यसैको दास बन्छ । 20 यदि कसैले हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्‍टलाई चिनेर यस संसारका दूषित गराउने कुराबाट उम्किसकेपछि पनि फेरि त्यहीँ फर्कन्छ भने त्यसको अवस्था पहिलेको भन्दा खराब हुन्छ । 21 धार्मिकताको मार्गलाई जानेर तिनीहरूलाई दिइएको पवित्र आज्ञाहरूबाट फर्कनुभन्दा त तिनीहरूले धार्मिकताको मार्ग नै नजानेको भए असल हुने थियो । 22 तिनीहरूका निम्ति यो उखान सत्य छः “कुकुर आफ्नै बान्तामा फर्किन्छ । नुहाइदिएको सुँगुर हिलैमा फर्किन्छ ।”