24
फेरि इस्राएलको विरुद्धमा परमप्रभुको क्रोध पर्‍यो र उहाँले दाऊदलाई यसो भनेर उत्तेजित गर्नुभयो, “जा, इस्राएल र यहूदाको गणना गर् ।” राजाले आफूसँग भएका फौजका कमाण्‍डर योआबलाई भने, “दानदेखि बेर्शेबासम्मका इस्राएलका सबै कुलमा जाऊ र सबै मानिसको गणना गर ताकि युद्धको निम्ति योग्य मानिसहरूका जम्माजम्मी सङ्ख्या मलाई थाहा होस् ।” योआबले राजालाई भने, “परमप्रभु तपाईंका परमेश्‍वरले मानिसहरूका सङ्ख्‍यामा सय गुणा वृद्धि गर्नुभएको होस् र मेरा मालिक महाराजाले यसो भएको आफ्नै आँखाले देखून् । तर मेरा मालिक महाराजालाई यो किन चाहियो?” तापनि, योआब र फौजका कमाण्‍डरहरूका विरुद्धमा राजाको बोली नै अन्तिम भयो । त्यसैले योआब र कमाण्‍डरहरू इस्राएलका मानिसहरूको सङ्ख्‍या गणना गर्न राजाको उपस्थितिबाट निस्‍केर गए । तिनीहरू यर्दन नदी तरे र बेसीमा सहरको दक्षिणतिर अरोएरनेर छाउनी हाले । अनि तिनीहरू गाददेख याजेरसम्म हिंडे । तिनीहरू गिलाद र तातीम-हदोशीमा आए अनि दान-यान र सीदोनको सेरोफेरोसम्म पुगे । तिनीहरू टुरोस अनि हिव्वीहरू र कनानीहरूका सबै सहरका किल्‍लासम्म पुगे । अनि तिनीहरू यहूदाको बर्शेबामा भएको नेगेवतिर गए । जब तिनीहरू देशमा सबैतिर गए, तब तिनीहरू नौ महिना बिस दिनको अन्तमा यरूशलेममा फर्केर आए । त्यसपछि योआबले लडाकु मानिसका जम्‍मा सङ्ख्या राजालाई बताइदिए । इस्राएलमा तरवार चलाउन सक्‍ने साहसी मानिसहरू ८,००,००० थिए र यहूदामा ५,००,००० मानिसहरू थिए । 10 दाऊदले गणना गरेपछि तिनको हृदय दुःखी भयो । त्यसैले तिनले परमप्रभुलाई भने, “मैले यसो गरेर ठुलो पाप गरेको छु । अब हे परमप्रभु, आफ्नो सेवकको दोष हटाइदिनुहोस्, किनकि मैले धेरै मूर्ख भएर काम गरेको छु ।” 11 जब दाऊद बिहान उठे, दाऊदका दर्शी गाद अगमवक्‍ताकहाँ परमेश्‍वरको वचन यसो भनेर आयो, 12 “जा र दाऊदलाई भन्, 'परमप्रभु यसो भन्‍नुहुन्छ, “म तँलाई तीन वटा विकल्प रोज्‍न दिन्छु । तिमध्ये एउटा रोज ।” 13 त्यसैले गाद दाऊदकहाँ गए र तिनलाई भने, “तपाईंको देशमा तीन वर्षको अनकाल आउने छ? वा तपाईंका शत्रुहरूले तपाईंलाई खेद्दा तीन महिनासम्म तपाईं भाग्‍नुहुने छ? वा तपाईंको देशमा तीन दिन रुढी हुने छ? मलाई पठाउनुहुनेलाई मैले के जवाफ दिऊँ अब निर्णय गर्नुहोस् ।” 14 त्यसपछि दाऊदले गादलाई भने, “म ठुलो कष्‍टमा परेको छु । मानिसको हातमा पर्नुभन्दा परमप्रभुको हातमा नै हामी परौं, किनकि उहाँका दयापूर्ण कामहरू धेरै महान् छन् ।” 15 त्यसैले परमप्रभुले बिहानदेखि तोकिएको समयसम्म इस्राएलमा रुढी पठाउनुभयो र दानदेखि बेर्शेबासम्म सत्तरी हजार मानिसहरू मरे । 16 जब स्वर्गदूतले यरूशलेमलाई नाश गर्न आफ्‍नो हात त्‍यता पसारे, तब त्‍यसले ल्याउने हानिको कारणले परमप्रभुले आफ्‍नो मन बदल्नुभयो र उहाँले मानिसहरूलाई नाश पारिरहेका स्वर्गदूतलाई भन्‍नुभयो, “पुग्यो ! अब तिम्रो हात थाम ।” त्यस बेला स्वर्गदूत यबूसी अरौनाको खलामा खडा भएका थिए । 17 अनि जब दाऊदले मानिसहरूलाई आक्रमण गर्ने स्वर्गदूत देखे तब तिनले भने, “मैले पाप गरेको छु, र मैले भ्रष्‍ट किसिमले काम गरेको छु । तर यी भेडाहरू, तिनीहरूले के गरेका छन् र? कृपया, तपाईंको हातले मलाई र मेरो बुबाको परिवारलाई दण्ड दिनुहोस् ।” 18 अनि त्यस दिन गाद दाऊदकहाँ आए र तिनलाई भने, “माथि जानुहोस् र यबूसी अरौनाको खलामा परमप्रभुको निम्‍ति एउटा वेदी बनाउनुहोस् ।” 19 जसरी परमप्रभुले गादलाई गर्ने आज्ञा गर्नुभयो, त्‍यसरी नै दाऊद माथि गए । 20 अरौनाले बाहिर हेरे र राजा र तिनका सेवकहरू आइरहेको देखे । त्यसैले अरौना बाहिर गएर आफ्‍नो अनुहार भुईंमा घोप्टो पारेर राजालाई दण्डवत् गरे । 21 तब अरौनाले भने, “मेरो मालिक महाराजा आफ्नो सेवककहाँ किन आउनुभएको छ?” दाऊदले जवाफ दिए, “तिम्रो खला किन्‍नलाई ताकि म परमप्रभुको निम्ति एउटा वेदी बनाउन सकौं, जसले गर्दा मानिसहरूबाट रुढी हटाइयोस् ।” 22 अरौनाले दाऊदलाई भने, “ए मेरो मालिक महाराजा, त्‍यो आफ्नैझैं लिनुहोस् । तपाईंको दृष्‍टिमा जे असल छ सो त्‍यसमा गर्नुहोस् । हेर्नुहोस्, होमबलिको निम्ति गोरूहरू अनि दाउराको निम्ति दाइँ गर्ने काठहरू र जुवाहरू छन् । 23 यी सबै म अरौनाले मेरो महाराजालाई दिने छु ।” तब तिनले राजालाई भने, “परमप्रभु तपाईंका परमेश्‍वरले तपाईंलाई स्वीकार गर्नुभएको होस् ।” 24 राजाले अरौनालाई भने, “होइन, मैले मूल्य दिएर किन्‍नमा नै जोड दिन्छु । मलाई कुनै मूल्य नपर्ने कुनै पनि कुरा म परमप्रभुलाई होमबलि चढाउँदिनँ ।” त्यसैले दाऊदले खला र गोरुहरूलाई चाँदीका पचास सिक्‍कामा किने । 25 दाऊदले त्यहाँ परमप्रभुको निम्ति एउटा वेदी बनाए र त्‍यसमा होमबलि र मेलबलि चढाए । त्यसैले परमप्रभुले देशको निम्‍ति गरिएको प्रार्थनाको जवाफ दिनुभयो र इस्राएलमाथिको रुढी थामियो ।