2
अब भाइहरू हो, हाम्रा प्रभु येशूको आगमन र हाम्रो उहाँसँग एकसाथ भेट गर्ने सम्बन्धमा हामी अनुरोध गर्दछौँ, कि प्रभुको दिन आइसकेको छ भनी तिमीहरूको मन सजिलै नधर्मराओस्, न त विचलित होस्, न आत्माद्वारा, न वचन न त हाम्रो पत्रद्वारा । प्रभुको आगमन पहिल्यै भइसकेको छ भनेर तिमीहरूलाई कसैले कुनै प्रकारले छल्न नपाओस् । किनकि पतित, पापमय विनाशको छोरो, अधर्मी मानिस प्रकट नहोऊन्जेलसम्म यो हुन आउनेछैन । यो त्यो हो जसले आफैलाई उचाल्दछ र परमेश्‍वरको विरोध गर्दछ र आफैलाई परमेश्‍वरको रूपमा प्रस्तुत गरेर महिमित हुन चाहन्छ र उहाँको मन्दिरमा बस्छ । म तिमीहरूसँग हुँदा मैले तिमीहरूलाई ज भनेँ के तिमीहरू त्यो सम्झदैनौ ? अब तिमीहरू जान्दछौ कि कुनै कुराले उसलाई रोक्दछ, ताकि ऊ ठिक समयमा मात्र प्रकट हुनेछ । किनभने, पापको रहस्यले पहिले देखि नै काम गरिरहेको छ जबसम्म जसले उसलाई थामिराख्‍नुभएको छ उहाँले उसका मार्गबाट हटाउनुहुन्‍न । त्यसपछि पापको मानिस प्रकट हुनेछ, जसलाई प्रभु येशूले उहाँको मुखको सासले मार्नुहुनेछ र उहाँका आगमनले उसको अन्त हुनेछ । शैतानका सबै शक्‍तिशाली काम, चिन्हहरू र झुटा आश्‍चर्यकर्महरूको कारण पापको मानिसको आगमन हुनेछ । 10 त्यो अधार्मिकताका सबै छलका साथ आउनेछ । यी कुराहरू नाश हुनेहरूका निम्ति हुनेछन् जसले बचाइनको लागि परमेश्‍वरको प्रेमको सत्यतालाई ग्रहण गरेनन् । 11 यसकारण, तिनीहरूले झुटो विश्‍वास गरून् भनी परमेश्‍वरले भ्रमको काम पठाई रहनुभएको छ, 12 ताकि अधार्मिकतामा रमाउने तर सत्यतालाई विश्‍वास नगर्ने सबैको न्याय होस् । 13 प्रभुका प्रिय भाइहरू हो, हामीले प्रभुलाई तिमीहरूका लागि धन्यवाद दिनुपर्छ किनभने परमेश्‍वरले आत्माको शुद्धतामा र सत्यताको विश्‍वासमा उद्धारको पहिलो फलझैँ तिमीहरूलाई चुन्‍नुभयो, 14 हाम्रा सुसमाचारद्वारा प्रभु येशूको महिमा प्राप्‍त गर्न सक भनी उहाँले तिमीहरूलाई यसतर्फ बोलाउनुभयो । 15 यसैले अब भाइहरू हो, स्थिर रहो, वचन या हाम्रा पत्रद्वारा तिमीहरूलाई सिकाएका परम्पराहरूलाई पक्रिराख । 16 अब हामीलाई प्रेम गर्नुहुने अनुग्रहद्वारा अनन्तको सान्त्वना र उत्तम आशा दिनुहुने हाम्रा प्रभु येशू ख्रीष्‍ट आफैले तथा परमेश्‍वर हाम्रा पिताले, 17 हरेक असल काम र वचनमा तिमीहरूका हृदयलाई सान्त्वना र स्थिर गराऊन् ।