कलस्सीहरूलाई पावलको पत्र
1
पावल, परमेश्‍वरको इच्छाद्वारा ख्रीष्‍ट येशूका एक प्रेरित र हाम्रा भाइ तिमोथीबाट कलस्सेमा ख्रीष्‍टमा भएका विश्‍वासीहरू र विश्‍वसनीय भाइहरू, परमेश्‍वर हाम्रा पिताबाट तिमीहरूलाई अनुग्रह र शान्ति । हामी परमेश्‍वर हाम्रा प्रभु येशू ख्रीष्‍टका पितालाई धन्यवाद दिन्छौँ र तिमीहरूका निम्ति सधैँ प्रार्थना गर्छौं । येशू ख्रीष्‍टमा भएको तिमीहरूको विश्‍वास तथा परमेश्‍वरको निम्ति अलग गरिएकाहरू सबैका लागि तिमीहरूको प्रेमको बारेमा हामीले सुनेका छौँ । स्वर्गमा तिमीहरूका लागि सुरक्षित रहेको निश्‍चित आशाको कारण तिमीहरूले यो प्रेम धारण गरेका हौ । सत्यको वचन, अर्थात् सुसमाचारमा तिमीहरूले पहिलो पटक यो निश्‍चित आशाबारे सुन्यौ, जुन तिमीहरूकहाँ आयो । यस सुसमाचारले फल फलाउँदै छ र यो संसारभरि फैलिँदै छ । अनि तिमीहरूले यसलाई सुनेका तथा सत्यतामा परमेश्‍वरको अनुग्रहलाई जानेका दिन देखि नै तिमीहरूमा पनि यो बढिरहेको छ । यो सुसमाचार तिमीहरूले इपाफ्रासबाट सिकेको जस्तै हो, जो हाम्रा प्रिय मित्र तथा हाम्रो निम्ति ख्रीष्‍टको विश्‍वसनीय सेवक हुन् । इपाफ्रासले हामीलाई पवित्र आत्मामा तिमीहरूको प्रेमको विषयमा देखाए । यस प्रेमको कारणले गर्दा, हामीले यो सुनेको दिनदेखि नै तिमीहरूका निम्ति प्रार्थना गर्न हामी रोकिएका छैनौँ । सबै ज्ञान र आत्मिक समझमा, तिमीहरू उहाँको इच्छाअनुसारको ज्ञानमा पूर्ण होओ भनेर हामीले बिन्ती गरिरहेका छौँ । 10 हामीले प्रार्थना गरिरहेका छौँ, कि तिमीहरू परमप्रभुलाई पूर्ण रूपले प्रसन्‍न पार्न योग्य चालमा चल्न सक । हरेक असल कार्यमा तिमीहरूले फल फलाउने छौ र परमेश्‍वरको ज्ञानमा तिमीहरू अगि बढ्नेछौ भनी हामीले प्रार्थना गरिरहेका छौँ । 11 सबै सहनशीलता र धैर्यमा, उहाँको महिमाको शक्‍तिले प्रत्येक दक्षतामा तिमीहरू बलिया होओ भनी हामी प्रार्थना गर्छौं । 12 हामी यो प्रार्थना गर्छौं, कि तिमीहरूले आनन्दसाथ पितालाई धन्यवाद दिनेछौ, जसले तिमीहरूलाई ज्योतिमा विश्‍वासीहरूको उत्तराधिकारमा सहभागी हुनको लागि योग्य बनाउनुभएको छ । 13 उहाँले हामीलाई अन्धकारको शक्‍तिबाट छुटकारा दिनुभएको छ र हामीलाई उहाँका प्रिय पुत्रको राज्यमा सार्नुभएको छ । 14 उहाँका पुत्रमा हामीले उद्धार अर्थात् पापको क्षमा पाएका छौँ । 15 पुत्र अदृश्य परमेश्‍वरका प्रतिरूप हुनुहुन्छ । उहाँ सबै सृष्‍टिमा जेष्‍ठ हुनुहुन्छ । 16 किनकि पृथ्वीमा तथा स्वर्गमा भएका सबै दृश्य र अदृश्य कुराहरू उहाँद्वारा सृष्‍टि गरिएका थिए । चाहे सिंहासनहरू वा प्रभुत्वहरू वा प्रधानताहरू वा अधिकारहरू, सबै थोक उहाँद्वारा उहाँकै लागि सृष्‍टि गरिएका थिए । 17 उहाँ सबैथोकहरूभन्दा अगि हुनुहुन्छ र उहाँमा सबै कुराहरू एकसाथ रहेका छन् । 18 र उहाँ शरीर अर्थात् मण्डलीको शिर हुनुहुन्छ । उहाँ नै सुरुआत हुनुहुन्छ र मरेकाहरूबाट जीवित हुनेमा पहिलो हुनुहुन्छ, यसैले सबै कुराहरूमा उहाँको प्रथम स्थान रहेको छ । 19 किनकि आफ्ना सारा पूर्णता ख्रीष्‍टमा बास गरेकोमा, 20 अनि पुत्रद्वारा सबै कुराहरू उहाँमा पुनर्मिलापमा ल्‍याउनको निम्ति उहाँ प्रसन्‍न हुनुभयो । उहाँको क्रुसको रगतद्वारा परमेश्‍वरले शान्ति ल्याउनुभयो । चाहे स्‍वर्गका कुराहरू होऊन् वा पृथ्‍वीका कुराहरू, सबैलाई परमेश्‍वरले उहाँमा पुनर्मिलापमा ल्याउनुभयो । 21 अनि एकसमय तिमीहरू पनि परमेश्‍वरका निम्ति बिरानाहरू थियौ र मनमा र आफ्ना दुष्‍ट कामहरूमा तिमीहरू उहाँका शत्रुहरू थियौ । 22 तर अब परमेश्‍वरले तिमीहरूलाई ख्रीष्‍टको शरीरले मृत्युद्वारा मिलापमा ल्याउनुभएको छ । तिमीहरूलाई परमेश्‍वरले आफ्नो अगि पवित्र, दोषरहित तथा निर्दोष साबित गर्नको निम्ति यो गर्नुभयो, 23 तिमीहरू स्थापित र बलियो हुँदै, तिमीहरूले सुनेका सुसमाचारको निश्‍चित आशाबाट टाढा नगई विश्‍वासमा निरन्तर अगाडि बढ्नुपर्छ । यो त्यही सुसमाचार हो जुन स्वर्गमुनि सृष्‍टि गरिएका सबै व्यक्‍तिलाई घोषणा गरिएको थियो । यो त्यही सुसमाचार हो, जसको म पावल दास भएको छु । 24 तिमीहरूका लागि मेरो कष्‍टमा म अब आनन्द मनाउँछु । ख्रीष्‍टका कष्‍टहरूको कमीलाई उहाँको शरीर अर्थात् मण्डलीको खातिर म मेरो शरीरमा पुरा गर्दछु । 25 परमेश्‍वरको वचनलाई पुरा गर्नको लागि तिमीहरूका खातिर मलाई परमेश्‍वरबाट दिइएको जिम्मेवारीअनुसार म यसै मण्डलीको एक सेवक हुँ । 26 यो युगौँ र पुस्तौँसम्म लुकाइएको गुप्‍त सत्यता हो । तर अहिले उहाँमा विश्‍वास गर्नेहरूका लागि यो प्रकट गरिएको छ । 27 यो तिनीहरूका निम्ति हो जसलाई परमेश्‍वरले अन्यजातिहरूका बिचमा यस रहस्यको महिमाको सम्पत्ति के हो, सो थाहा गराउन चाहनुभयो । यो रहस्य त्यही हो, कि ख्रीष्‍ट तिमीहरूमा हुनुहुन्छ, र यो भविष्यको महिमाको निश्‍चयता हो । 28 उहाँ त्यही व्यक्‍ति हुनुहुन्छ जसलाई हामी घोषणा गर्छौं । प्रत्येक व्यक्‍तिलाई ख्रीष्‍टमा पूर्ण प्रकारले प्रस्तुत गर्न सकियोस् भनी सम्पूर्ण बुद्धिसाथ हामी सबैलाई सल्लाह दिन्छौँ र सिकाउछौँ । 29 मेरो जीवनमा शक्‍तिशाली रूपमा काम गरिरहनुहुने उहाँको सामर्थ्यअनुसार म परिश्रम गर्छु र अगि बढ्छु ।